गोपालचन्द्र सुवेदी
काठमाडौं, १७ साउन । काठमाडौंको स्युचाटारस्थित नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा सोमबार दिउँसो भीषण आगलागी भएको छ ।
दिउँसो अचानक सुरु भएको आगलागीबाट देशभरको विद्युत प्रसारण अवरुद्ध हुन पुगेको छ ।
यो सवस्टेशनमा आगलागी भएपछि अहिले नेपालमा भारतबाट आयात गरिरहेको मात्रै विद्युत प्रवाह भइरहेको सवस्टेशनका इन्जिनियिर विनोद लोहनीले जानकारी दिए ।
‘अहिले भारतबाट ल्याएर बाँडिएको स्थानमा मात्रै बिजुली छ’, उनले भने, ‘नेपालमै उत्पादन गरेर बाँडिएको विजुली भने यही सवस्टेशनमा लागेको आगोका कारण अवरुद्ध छ।’एक घन्टादेखि लागिरहेको आगो निभाउन काठमाडौं महानगरपालिकाको दमकल र पानीका ट्यांकरहरु प्रयोग गरिएको छ ।
विद्युत सर्ट भएर सुरु आगलागीबाट १३२/६६ केभी प्रसारणलाइनका लागि जडान गरिएको एउटा ट्रान्सफर्मर जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
त्यसैगरी अन्य ट्रान्सफर्मरमा पनि क्षति पुगेको छ भने सवस्टेशनका अन्य विद्युतीय संरचना पनि जलेका छन् ।
आगो निभाउनका लागि सवस्टेशनको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली पनि परिचालित भइरहेको छ । तर आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

साभार : कारोबार राष्ट्रीय दैनिक


