मलेसिया, साउन ३१– कैलालीका राजकुमार साउद काम गाह्रो भएपछि घरबाट पैसा मगाएर नेपाल फर्किने निधोमा पुग्नुभयो । अहिले क्वालालम्पुरको एक नेपाली रेष्टुरेण्टमा हुनुहुन्छ ।
नेपाल फर्कनका लागी जोहोरबारुबाट आएका राजकुमारले रेष्टुरेण्टलाई २ हजार ८ सय रिंगेट दिइसक्नु भएको छ । तर फर्किने अत्तोपत्तो छैन । नेपाल फ्लाइट नभएसम्म खान बस्न फ्रि भनेर आउनु भएको हो । उहाँले न खान बस्न फ्रिमा पाउनु भयो न त घर फर्किन । उहाँलाई दूतावासले दिएको यात्रा अनुमती पत्र बाहेक केहिपनि हात लागेको छैन । पैसा दिएपनि घर फर्किने टुँगो छैन ।
मलेसियाको इपोमा कार्यरत तनहुँका इश्वर पाण्डेले पनि २ हजार ७ सय रिंगेट दलाललाई बुझाइसक्नु भएको छ । घरमा आमा बिरामी भएपछि स्याहार सुसार गर्न फर्किन लागेका इश्वर दूतावासले दिएका कागजात बोकेर भौतारिरहनु भएको छ । घरबाट आमा बिरामी भएको खबर आउँदा पनि कम्पनीले जान नदिएपछि छिटोका लागि दलाल सामात्नु भएको थियो । दलालले तत्काल नेपाल पठाउँछौं भनेका थिए तीन दिन भयो अत्तोपत्तो छैन । अढाई वर्ष देखि उहाँ इपोको एक प्लास्टिक कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।
कलाङमा कार्यरत भोजपुरका मानबहादुर राई घर फर्कनका लागी दुतावास पुग्नुभयो ।  ३ वर्ष अगाडी मलेसिया आएका राई कम्पनीमा काम र कमाई राम्रो नभएपछि आएको ४ महिना देखी नै  अबैधानीक बनेर सुरक्षा गार्डको काम गरिरहनु भएको थियो । सोधखोज गर्दै उहाँ दुतावास त पुग्नु भयो तर त्यहाँ पनि दलालले छाडेनन् । दुतावासकै प्रांगणमा ‘भाइ के गर्ने हो, घर जाने,  पासपोर्ट बनाउने या अरु केहि गर्नु छ ? हामी तपार्इंलाई सहयोग गर्छौ भन्दै दलालले बाटो नै छेके ।
दूतावासमै दलालले यसरि घेराहालेपछि दलालले नछाड्ने भए भन्दै उहाँले घर जाने भन्नुभयो । त्यसपछि सुरु भयो मोलमोलाई । २ हजार ६ सय रिगेंटमा घर फर्काउने कुरा भयो । नेपाल फ्ल्लाइट नभए सम्म खान बस्न र एयरपोर्ट पु¥याउने जिम्मा पनि दलालले लिए । तर कहिले फर्किने टुँगो छैन ।
मलेसियामा आपत परेर घर फर्किने कामदारबाट अवैध शुल्क अशुल्न दलाल सक्रिय भएका छन् । अवैधानिक कामदार मलेसियाबाट घर फर्किंदा अध्यागमन विभागमा तिर्ने जरीवाना ४ सय रिंगेट, दुतावासमा एकतर्फी यात्रा अनुमति पत्र बनाउन १ सय ६० रिंगेट र टिकट मात्रै हो । तर दलालले दोब्बर रकम अशुली रहेका छन् ।
दलाल दूतावास परिषरमै सक्रीय छन् । यसरि ठगेर पठाइरहेको दूतावासलाई पनि जानकारी छ । धेरै कामदारले गुनासो पनि गरेका छन् । तर दूतावासले वास्ता गरेको छैन ।
यसअघि दुतावास र यहाँको अध्यागमन बिभागको सहकार्यमा अबैधानीक नेपाली सुरक्षित र सुलभ तरिकाले नेपाल फर्कन पाउँथे । तर अध्यागमन बिभागसँग सहकार्य गरेर नेपाली फर्काउन दूतावासले छाडेपछि दलाल सक्रिय भएका हुन् ।
सर्वोच्च अदालतमा रिट परेपछि यस्तो काम छाड्यौं : शाही
मलेसियास्थित नेपाली दूतावासका प्रवक्ता उत्तम शाहीले दूतावासले यसरी समन्वय गरेर कामदार पठाउँदा सर्वोच्च अदालतमा रिट परेपछि काम छाडिएको बताउनुभएको छ । अहिले दूतावासले कामदारलाई सिधै अध्यागमनमा जान सुझाव दिएपनि दलालको शहारा लिने गरेको बताउनुभयो ।
उहाँका अनुसार कामदार आफैं अध्यागमन विभागमा जरिवाना तिरेर फर्किन सकिन्छ । दूतावासले कामदारलाई सहयोग गर्दा दलालको रोजिरोटि गुमेकाले दलालले नै रिट हालेको उहाँको भनाई छ । रिटको सुनाई नभएसम्म दूतावासले काम नगर्ने उहाँको भनाई छ ।

UJYAALOONLINE
 
Top