चितवन, ३२ साउन । पुर्वी चितवनको कालिका नगरपालिका ७ खोलेसिमलमा रहेका एकै घरका तीन मनोरोगीको आज उद्धार गरिएको छ । रासस तथा एटुजेड समाचार डटकम मार्फत समाचार सार्वजनिक भएपछि मानवसेवा आश्रम चितवनले आज उनीहरुको उद्धार गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंह, स्थानिय विकास अधिकारी श्रवणकुमार पोखरेल, प्रहरी प्रमुख बसन्त कुँवर, आश्रमका संयोजक रामजी अधिकारी तथा अभिभावक केशव अधिकारीको सहभागितामा आज उनीहरुको उद्धार गरिएको हो ।

यसरी उद्धार गरिएकामा खोलेसिमल निवासी ५५ बर्षका भिमप्रसाद भट्टराई, उनका दुई छोरा ३१ बर्षका दिपक भट्टराई र २६ बर्षका शंकर भट्टराई रहेका छन् । उनीहरुलाई भिमप्रसादकी पत्नी देवीमायाँ भट्टराईले कष्ट सहेर स्याहार्दै आउनुभएको थियो ।



उद्धार हुँदा देवीमायाँ विगत सम्झेर भावविहल हुनुभएको थियो । उहाँले उद्धार गरेकोमा खुसी व्यक्त गर्दै उनीहरुको उपचार अब सफल हुने आशा व्यक्त गर्नूभयो ।

भिमप्रसाद ३० बर्षदेखि मनोरोगी रहेका थिए । यस्तै दिपक १२ बर्षदेखि र शंकर ९ बर्षदेखि मनोरोगी रहेको उनका आफन्त पुष्पराज भट्टराईले जानकारी दिनुभयो ।

‘धेरै दुख गरें हुन्छ की भनेर, अहिलेसम्म निको भएन, देवीमायाँले आँसु झार्दै भन्नुभयो, नसक्ने भएपछि डोरीले बाँधेर राखें ।’
आज पनि देवीमायाँका श्रीमान सांङलोमा बाँधेर ताला लगाएको अबस्थाबाट उद्धार गरिएको थियो । गोर्खा आश्राङ गाविस भन्तना गाउँबाट २६ बर्ष अघि चितवन झर्दा बुबामा मात्रै रोग देखिएको थियो ।
पछि विस्तारै छोरा दिपक भट्टराई र शंकर भट्टराईलाई मानसिक रोगले छोप्यो । त्यसपछि ती एक्ली महिलालाई श्रीमान र दुई छोरा स्याहार्न कष्ट हुँदै आएको थियो ।


उद्धारका क्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले पत्रकारहरुले खेलको भूमिकाको प्रशंसा गर्दै भन्नुभयो, ‘राज्यले गर्नुपर्ने काम विभिन्न संघसंस्थाबाट भएको छ, यसका लागि म धन्यवाद दिन चाहन्छु ।’

श्रोत साधन अभावले राज्यले यस्ता काम गर्न नसकेको उहाँले बताउनुभयो । स्थानिय विकास अधिकारी श्रवणकुमार पोखरेलले समस्या र समाधान दुबै यही धर्तीमा रहेको भन्दै उद्धार कार्यको प्रशंसा गर्नुभयो । उहाँले स्थानिय संघसंस्था र सरकारी निकाय मिलेर अघि बढ्ने बताउनुभयो ।

मानवसेवा आश्रम चितवनका संयोजक रामजी अधिकारीले उनीहरुको सबै उपचारको जिम्मा अब आश्रमले लिएको भन्दै उपचार र परामर्श पछि ठिक हुने विश्वास दिलाउनुभयो ।



उहाँले अहिलेसम्म १२५ जना मनोरोगीहरुलाई ठिक पारेर घरमा पुनर्मिलन गराईसकेको जानकारी दिनुभयो । उनीहरुलाई घरेलु बातावरण मिलोस् भनेर तीन मनोरीगी सहित देवीमायाँलाई समेत सँगै आश्रममा ल्याईएको छ ।

उनीहरुको उपचारका लागि देवीमायाँले जग्गा बेचेर उपचार गरेपनि उपचार सम्भव भएको छैन । उपचारका लागि ४ कठ्ठा जग्गा बेचेको उहाँले बताउनुभयो । अहिलेसम्म ५,७ लाख खर्च हुँदा समेत उपचार सम्भव भएको छैन ।

विभिन्न असपताल समेत धाउँदा समेत नभएपछि आफु बाहिर ज्याला मजदुरी गर्न जाँदा घरमा बाँधेर जाने गरेको देवीमायाँले बताउनुभयो । उनीहरु गोरखामाट २६ बर्ष अघि चिवतन झरेका थिए ।

साभार : एटुजेड समाचार डटकम
 
Top