रत्ननगर । पूर्वीचितवनको रत्ननगरमा निर्माण भइरहेको चार लेन सडकको ४० प्रतिशत काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कार्य सुरु भएको ६ महिनामा ४० प्रतिशत काम सकिएको हो । श्रेष्ठ कन्ट्रक्सन प्रालि हेटौडाले २०७२ साल फागुन महिनाबाट चार लेन सडक निर्माणको काम सुरु गरेको थियो । लामो नाकाबन्दीको असरका कारण निर्माण सामग्री अभाव र वर्षाका कारण लक्ष्यअनुसार काम हुन नसेकेको निर्माण कम्पनीले जनाएको छ ।
वर्षा हुनुभन्दा अघि तीव्र रुपमा काम भए पनि अहिले मौषमका कारण केही ढिलाइ भएको श्रेष्ठ कन्ट्रक्सनका सवइन्जिनियर दिपेन्द्र खातीले जानकारी दिए । ‘मौसमका कारण काममा ढिलाइ भयो’ खातीले भने, ‘तर ठेक्का सम्झौताअनुसार नै डेढ वर्षभित्र सक्ने गरी काम गरेका छौँ ।’ चार लेन सडक निर्माणअन्तर्गत अहिले ढल निर्माणको काम भइरहेको छ भने अबको एक महिनापछि मुख्य सडकको पिचको काम सुरु हुने खातीले बताए ।
‘दसैँपछि सडक सहज हुन्छ’ उनले भने, ‘अहिले केही समस्या भएको छ त्यो हामीले बुझेका छौँ ।’ रत्ननगरको लौरीेघोलदेखि निपनीसम्म २।३ किलो मिटर सडक हाइवे, सर्भिसलेन, ग्रीन वेल्ड र फुटपाथ निर्माण गरिनेछ । करिव १९ करोडमा चार लेन सडक निर्माण गर्ने गरी श्रेष्ठ कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको हो ।
निर्माणका क्रममा अहिले सडक अव्यवस्थितजस्तै देखिए पनि आफ्नो तर्फबाट सक्दो रुपमा व्यवस्थित गरेर काम गरिरहेको कम्पनीले जनाएको छ । वर्षाको समय भएकाले अहिले सो सडकखण्डमा खाल्डाखुल्डी परेका छन् । तीन वर्ष यता मर्मत नगरिएका कारण टाँडी बजार क्षेत्रको राजमार्गमा ठूला ठूला खाडल परेका कारण सवारी आवतजावतमै समस्या परेको छ ।
पानी परे हिलो र घाम लागे धुलो उड्ने भएकाले स्थानीय, सवारी साधन र व्यवसायीहरुले सास्ती खेप्दै आएका छन् । ‘चार लेन सडक निर्माणको काम सुरु भएपछि आएको समस्या होइन’ सब–इन्जिनियर खातीले भने, ‘यो पुरानै समस्या हो तैपनि हामीले खाल्डा पुर्ने काम गरेका छौं ।’
घाम लागेको बेला सडकमा पानी हाल्ने र पानी परेर हिलो भएको सडकमा तत्कालको लागि गिट्टी हाल्ने काम गरिएको भए पनि त्यो दीर्घकालीन हुन नसकेको उनको भनाइ छ ।
 
Top