खैरहनी । पूर्वीचितवनको खैरहनी नगरपालिका–५ बुढौलीकी दीपा खत्री खैरहनी उच्च माविमा कक्षा १० मा पढ्छिन् । आर्थिक विपन्नताका कारण शिक्षा आर्जन गर्न उनलाई निकै सकस छ । परिवारको दयनीय आर्थिक अवस्थाका कारण उनलाई पढाइ खर्च जुटाउन मुस्किल छ । पढाई खर्च जुटाउन दीपाले मेलापात गर्छिन् । बिहान बेलुका अर्काको घरमा घाँस काटेर पढाइ खर्च जुटाउँछिन् ।
उनलाई गाउँलेले एक डोको घाँस काटेको ५० रूपैयाँ दिन्छन् । दीपाले बिहान दुई डोका र बेलुका दुई डोका घाँस काट्छिन् । शनिबारको दिन उनी मेलापाल गर्छिन् । शनिबार स्कुल बिदा हुने र धेरै पैसा आउने भएकाले मेला जान्छिन् । वुवा आमाको अवस्थाले कापी, किताव किन्न पनि नसक्ने भएपछि उनले मेलापाल गरेर पढाइ खर्च जुटाउने गरेकी हुन् ।
‘घाँस काट्ने र मेलापात नगर्ने हो भने कापी किताब किन्ने पैसा हुदैन’, उनले भनिन्,‘आमाबुवाले गाउँघरमा कमाएको पैसाले बिहान बेलुका हातमुख जोर्न ठिक्क हुन्छ ।’ उनले मेलापात गरेर कमाएको पैसाले आफूसँगै भाईलाई पनि पढाइ खर्च पु¥याएकी छन् । ‘मैले मात्र पढेर भएन’, उनने भनिन्, ‘भाइलाई पनि पढाउनु प¥यो, दुई जनालाई पढाई खर्च जुटाउन अलि धेरै काम गर्नु परेको छ । दीपाको भाई खड्गबहादुर खत्री सोही विद्यालयमा कक्षा ७ मा अध्ययन गर्छन् । दीपा २ वर्षकी हँुदा उनकी आमा बितिन् । आमाको उपचार गर्दा अलिअलि भएको सम्पत्ति पनि सकियो । जेठी श्रीमती बितेपछि दीपाका बुबा कालिबहादुर खत्रीले कान्छी श्रीमती बिहे गरे ।
परिवारसहित कालिबहादुर पाँच वर्षअघि रित्तो हात उदयपुरको कटारीबाट खैरहनी आए । खैरहनी आएर अर्काको घरमा बस्दै आएका कालिबहादुरले आर्थिक रुपमा आफूलाई सबल बनाउन सकेनन् । मजदुरी गरेर परिवार पाल्दै आए । कान्छी आमाले दीपालाई असाध्यै माया गर्छिन् । उनको भाई कान्छी आमा पट्टीका हुन् । दीपाले मेलापात गरेर भाईको पनि पढाई खर्च जुटाउने गरेकी छन् ।
अहिले कालिबहादुर मुटु र दमको रोगी छन् । उनलाई मासिक एक हजार ५ सयको औषधि चाहिन्छ । ‘त्यो पैसा जुटाउन पनि बुवालाई समस्या छ ’, दीपाले भनिन्, ‘हामीलाई कापीकिताव किन्ने पैसा कसरी दिनुहुन्छ । बुवा कालिबहादुरले गाउँघरमै खसीबाख्रा किनेर बेच्ने काम गर्छन् । त्यो पनि कहिलेकाँही । गुजरा चलाउन दीपाकी कान्छी आमाले चटपट बिक्री गर्ने काम गर्छिन् ।
बिहान बेलुका चटपट बिक्री गर्ने र दिउसो मेला जाने गरेर उनले परिवार पालेकी छन । दीपाको परिवार स्थानीय टीकाबहादुर कुँवरको घरमा भाडामा बस्छन् । उनीहरुले मासिक दुई हजार रूपैयाँ कोठा भाडा तिर्ने गरेका छन् । आमाले मेलापात र चटपट बेचेको पैसाले बुबालाई औषधि, कोठाभाडा र बिहान बेलुका खानेकुरा किन्न पनि पुग्दैन दीपाले भनिन्, ‘हामीलाई पढाउने त टाढाको विषय हो ।’ पढाई खर्च जुटाउन नसकेर पाँच कक्षा पास गरेपछि दीपाले स्कुल छाडिन् । एक वर्ष उनको पढाइपछि प¥यो ।
गाउँलेहरुले बुवा आमाछोरीलाई पढाउनु पर्छ भनेर सम्झाएपछि दीपाको पढाइ सुरू भएको हो । अहिले एसएलसी पास हुन्थ्ये दीपाले भनिन्, ‘पैसा नभएर एक वर्ष पढ्न पाइन ।’ १८ वर्षीय उनलाई उच्च शिक्षा हासिल गर्ने धोको छ । १० कक्षासम्म पढ्न यति गाह्े भयो दीपाले दुखेसो पोखिन्,‘क्याम्पस कसरी पढ्ने ।’ सात कक्षामा पढ्दै गरेको भाइलाई राम्ररी पढाउने दायित्व उनमा छ । आफू र भाइलाई पढाइ खर्च जुटाउन बिहानबेलुका घाँस काट्ने र बिदाको दिनमा मेला गर्ने उनको बाध्यता हो ।
कसैले पाँच सय रूपैयाँ दिए तिमीले के किन्छौ भनेर प्रश्न गर्दा दीपाले एकै स्वरमा भनिन्, ‘कापी र किताब किन्छु ।’ भाइलाई स्कुल पोसाक, कापी, कलम र आफूलाई किताब किन्ने पैसा आवश्यक रहेको दीपाले बताइन् । स्कुल टाँडा छ उनले भनिन्, ‘साइकल पनि अतिनै आवश्यक छ ।’ दीपाको परिवारको दुःख नजिकबाट नियाली रहेको स्थानीय रुपा चापागाईंले पढाइ खर्च जुटाउन दीपाले गरेको संघर्ष देख्दा दया लाग्ने गरेको बताइन् ।
साभार : चितवन पोष्ट दैनिक
