रोल्पा जिल्लामा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या हालसम्म ६० पुगेको रोल्पा प्लस सामुदायिक हेरचाह केन्द्रका अध्यक्ष राधा विकले जानकारी दिनुभयो । हाल जिल्लामा एचआइभी एड्स सङ्क्रमित पुरुष २७, महिला २८, बालबालिका पाँच गरी सङ्क्रमितको सङ्ख्या ६० जना पुगेको हो । तीमध्ये आठ महिला र तीन जना पुरुषको यसअघि नै मृत्यु भइसकेको छ ।
रोजगारीका कारण खाडी मुलुक पुगेका श्रीमान्हरु स्वदेश फर्कंदा सङ्क्रमित भएर फर्कने र घरमा श्रीमतीलाई यस विषयमा कुनै पनि जानकारी नदिने भएका कारण श्रीमतीहरु सङ्क्रमित भएर जीवन जिउन बाध्य भएको एचआइभी एड्सबाट सङ्क्रमित भएका महिलाको गुनासो ।
जिल्लामा २२ देखि ६२ वर्ष उमेर समूहका पुरुष तथा महिलामा एचआइभीको सङ्क्रमण देखिएको छ भने आठदेखि १४ वर्षसम्मका बालबालिकामा एचआइभीको सङ्क्रमण देखिएको छ । यसरी सङ्क्रमित पाँच बालबालिकामध्ये चार बालिका र एकजना बालक रहेका छन् । यी बालबालिका सङ्क्रमित बाबुआमाबाट जन्मेको हुँदा जन्मदेखि नै एचआइभी एड्स सङ्क्रमणको सिकार बन्नुपरेको हो ।
रोजगारीका कारण खाडी मुलुक पुगेका श्रीमान्हरु स्वदेश फर्कंदा सङ्क्रमित भएर फर्कने र घरमा श्रीमतीलाई यस विषयमा कुनै पनि जानकारी नदिने भएका कारण श्रीमतीहरु सङ्क्रमित भएर जीवन जिउन बाध्य भएको एचआइभी एड्सबाट सङ्क्रमित भएका महिलाको गुनासो छ ।
रोल्पा प्लसले जिल्लामा सङ्क्रमितको स्वास्थ्यसम्बन्धी परामर्श तथा आवश्यक औषधि उपचार दिँदै आएको भए तापनि यस आवमा भने संस्थामा कुनै किसिमको कार्यक्रम सञ्चालनमा नभएको हुुँदा सङ्क्रमित चिन्तित भएका छन् । “हामीले कार्यक्रम सञ्चालनका लागि सभामुखसँग उहाँलगायत प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री कृष्णबहादुर महरासमक्ष ज्ञापनपत्र बुझाएका छौँ उहाँहरुले केही पहल गर्नुहुन्छ कि भन्ने आशा छ” – रोल्पा प्लसका सदस्य दामे विकले भन्नुभयो ।
संस्थामा हाल कुनै किसिमको कार्यक्रम सञ्चालन नहुँदा जिल्लाको दूर दराजबाट उपचारका लागि सदरमुकामसम्म आएका सङ्क्रमितलाई खाना खान र बास बस्नसमेत असहज हुने गरेको उनीहरुको गुनासो छ । सुरु सुरुमा आफू सङ्क्रमित भएको कुरा खोल्न नचाहनेहरु पनि पछिल्ला दिनमा खुलेर औषधि उपचारका लागि सदरमुकाम आउने गरेको सरोकारवालाहरुले बताए । केही वर्ष पहिले एचआइभी एड्स सङ्क्रमितलाई समाजले छी छी र दुर्दुर गथ्र्यो तर अहिले हामी पनि अन्य मानिससरह सरल जीवन बाँचिरहेका छौँ – अध्यक्ष विकले भन्नुभयो ।
