११ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा २२ यात्रुको मृत्यु भएको २४ घण्टा नबित्दै आज विहान अर्काे दुर्घटना भयो । चितवनको चण्डिभञ्याङ्ग गाविस ९ जलबिरेमा बालुवा बोकेर मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ना ३ ख ४५ ५६ नम्बरको ट्रक विहान ७ बजे त्रिशुली नदीमा खसेको हो ।
ट्रक त्रिशुलीमा खसेपनि त्यसमा सवार चालकसहित महिला बालबालिका गरी सात जनाले पुर्नजीवन पाएका छन् । सडक छेउको रेलिङ र तीन वटा रुख भाँचेर ट्रक त्रिशुलीमा खसेपनि उनीहरु भाग्यले बाँच्न सफल भए ।

ट्रक खस्दै गर्दा तीन जना उछिट्टिएर भीरमा परे । बाँकी चार जना मध्ये नदीमै खसिसकेपछि एक जना बाहिर निस्किए र ट्रक डुब्दै गर्दा बाँकी ३ जनालाई भित्रबाट तानेर बाहिर निकाले । उद्दारमा खटिएका सशस्त्र प्रहरी बल विपद ब्यवस्थापन केन्द्र कुरिनटारका प्रहरी निरिक्षक तुला चौधरीले भने, ‘तीनवटा रुख भाँच्दा पनि ट्रक अड्किन सकेन र नदीमै खस्यो ।’

दुर्घटनामा परी घाइते हुनेमा ट्रक चालक चित्रवन नगरपालिका ७ चितवनका प्रकाश विक, चितवनकै माडी नगरपालिका १ बस्ने २८ वर्षकी कविता चौधरी र २७ बर्षीया जोता शर्मा रहेका छन् । उनीहरुको अवस्था गम्भीर रहेको र चितवन मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै माडी नगरपालिका १ का ३० वर्षिय प्रेम चौधरी, २३ वर्षिय कल्पना चौधरीको पनि चितवन मेडिकल कलेजमा उपचार भईहरको छ । २० वर्षिय खेमन चौधरी, सात वर्षिया बालिका प्रियास चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । घाईतेहरुको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय मिलेर उद्धार गरेका थिए । सोही ठाउँ नजिकै हिजो विहान रौतहटबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्दा २२ जनाको मृत्यु भएको थियो ।


 
Top