काठमाडौं, भदौ १२– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायका नाममा फैलिएको माफियाकरण तह लगाउन श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङलाई अनुरोध गरेको छ । आइतबार श्रम तथा रोजगार मन्त्रालयमा  मन्त्री गुरुङलाई शुभकामना दिन पुगेको व्यवसायीको टोलीले यस अघिका मन्त्री, कर्मचारी र माफिया मिलेर कामदार लुटेको र दोषजति व्यवसायीले खेप्नु परेको गुनासो गरेका हुन् ।उनीहरुले वैदेशिक रोजगार यवसाय बदनाम गराउन सक्रिय माफियाको जालो तोड्न अनुरोध गरेका छन् । मन्त्रीसँगको भेटमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले भन्नुभयो, ‘संघलाई कुनै अधिकार छैन् हाम्रो क्षेत्रमा माफिया घुसेका छन् । कारवाही गरिदिनुहोस् र व्यवसायलाई सम्मानजनक पेशा बनाउन सहयोग गरिदिनुहोस् । हामी पनि आवश्यक सहयोग गर्न तयार छौं ।

अध्यक्ष ढकालले वैदेशिक रोजगार बदनाम गराउन कर्मचारीको ठुलो हात रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर्मचारी अहिलेकै अवस्थाबाट फाइदा लिन चाहान्छन् । यस अघिका दुई मन्त्रीले समेत न्युनतम लागतको कुरा ल्याएर लुटेका छन् । कामदार ठग्नमा मन्त्रीको समेत संलग्नता छ । अव छिटै निर्णयमा पुग्न आवश्यक छ ।’
सरकारले फ्रि भिसा फ्रि टिकटको निर्णय कार्यन्वयन गर्न नसकेको र नमान्नेलाई कारबाही गर्न नसक्नुले अहिलेको अवस्था लम्व्याएर ठग्न चाहेको प्रश्ट भएको व्यवसायीको भनाई छ । उनीहरुले न्युनतम लागतको निर्णय परिमार्जन गर्नपनि अनुरोध गरेका छन् ।

व्यवसायीले कामदारको हितमा हुने निर्णय मान्न तयार रहेको भन्दै व्यवसाय गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । गरिव नागरिक ठग्ने मतियारलाई कारबाही गरे संघ सहयोग गर्न तयार रहेको बताकाछन् । व्यवसायीसँगको भेटमा मन्त्री गुरुङले कामदार र व्यवसायीको हितमा हुने निर्णय नडराइ गर्ने बताउनुभयो । पछिल्लो समय विदेश जाने कामदार र रेमिट्यान्स घट्नु राम्रो संकेत नभएको भन्दै आवश्यक भए न्युनतम लागतको निर्णय पनि परिमार्जन हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘म मन्त्रालयमा बुझेर यसका लागि तपाईंहरुसँग छलफल गर्छु । तर कामदारको हितमा नहुने निर्णय कुनै हालतमा गर्दिन । कामदारको हितमा हुने निर्णय कार्यन्वयनमा सहयोग गर्नुस् ।’
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल सहित पदाधिकारी र पूर्वअध्यक्ष मन्त्रालय पुगेका थिए ।
 
Top