विद्युतको हाइभोल्टेज लाइन चुँडिएर करेन्ट लाग्दा रुपन्देहीमा मंगलबार दुई बालकको ज्यान गएको छ। बुटवल उपमहानगरपालिका वडा नं. १२ कालिकानगर अभियान पथमा ११ हजार भोल्टको लाइन चुँडिदा एउटै घरका दुई दाजुभाइ रुपन्देहीको सखुवानी ३ का १० वर्षिय रोहित क्षेत्री र ६ वर्षिय रोहन क्षेत्रीको मृत्यु भएको हो।
मृतक बालकहरु सखुवानीका गोपाल क्षेत्री र बसन्ती क्षेत्रीका माइलो र साइलो छोरा रहेको योगिकुटी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक ताराप्रसाद खनालले जानकारी दिए।
बुटवलको राजमार्ग चौराह ग्रिडमा जोडेर कपिलवस्तु, अर्घाखाँची र पाल्पा लैजानको लागि लगिएको विद्युत लाइन दिउँसो साढे १ बजे पोलबाट चँुंडिएर सडक किनारमा रहेका बालकहरुमाथि खस्दा उनीहरुको घटनास्थलमै ज्यान गएको हो । सखुवानीबाट साइकलमा बुटवल आएका उनीहरु गर्मी भयो भन्दै सडक किनारमा रहेको छहारीमा बसकेको बेला विद्युत लाइन चुँडिएको प्रहरीले जनाएको छ।
मृतक बालकका बाबु गोपाल ट्याक्टर चालक रहेको र आमा बसन्ती सामान्य ज्याला मजदुरी गर्ने गरेको प्रहरीले जनाएको छ।
