होमनाथ सापकोटा
रत्ननगर । रत्ननगर १४ लौरीघोलका मेघनाथ त्रिपाठी बिहान चार बजे व्यूझन्छन् । चार बजे विस्तारा छाडेपछि १५ मिनेटमा बिहानको नृत्य कर्म सकेपछि साढे चार बजे उनी रत्ननगरको सौराहा चोक आइपुग्छन ।
राष्ट्रिय तथा स्थानीय स्तरमा प्रकाशन हुने पत्रिकाहरु बिहान ५ बजे सौराहाचोक आइपुग्छ । उनको दैनिकी त्यहीँबाट सुरु हुन्छ । साइकलमा पत्रिका कसेर बजारका घरघर र पसलपसलमा पु¥याउने काम उनको दैनिकी जस्तै बनेको छ । उनले पत्रिका बेच्न थालेको १२ वर्ष भयो ।

बिहान ५ बजेबाट दिउँसो १२ बजेसम्म पत्रिका बेच्छन् । १२ वर्षसम्म निरन्तर एउटै काम गरेका उनको परिचय नै फेरिएको छ । उनी अहिले मेघराज त्रिपाठीबाट पत्रिका दाइ बनेका छन् । उनलाई सबैले माया गरेर ‘पत्रिका दाइ’ भनेर बोलाउँछन् । उनलाई मेघनाथभन्दा ‘पत्रिका दाइ’ भनेको मन पर्न थालिसकेको छ । ‘पहिला ‘पत्रिका दाइ’भन्दा कस्तोकस्तो लाग्थ्यो’ उनले भने, ‘अहिले त्यही शब्द मन पर्न थालेको छ ।’
उनले हरेक दिन ६ सयभन्दा बढी पत्रिका ठाउँमै पु¥याउँछन् । आफ्ना सबै दुःख बिर्सिएर टाँडीबासीको पत्रिका पढ्ने प्यास मेटाउने उनी रत्ननगरका पुराना मात्र हुन । उनले पत्रिका बेचर जीविका मात्र चलाएका छैनन् । जनताको घरघरमा सूचना पु¥याउने सारथी बनेका छन् । उनले सञ्चारमाध्यम र नागरिकलाई जोडले महत्पूर्ण जिम्मेवारी पूरा गरेका छन् ।

२०६१ सालबाट उनले पत्रिका वितरण गर्न सुरु गरेका हुन् । सुरुमा उनले चितवन पोष्ट दैनिक वितरण गरे । २०६१ सालमा मासिक तीन सय कमाउने त्रिपाठीले अहिले पत्रिका बेचेरै मासिक १५ हजार कमाउँछन् । त्रिपाठीको आर्थिक अवस्था सामान्य छ । पत्रिका बेचेर त्रिपाठीको जीवनशैली फेरिएको छ । उनको खेती गरेर खाने जग्गा छैन । लौरीघोल र विद्युत् रोडमा दुई वटा घडेरी छन् । संघर्ष नगरी उनको जीवन चल्दैन ।
२०६१ सालमा दारेचोकबाट बसाइँ सरेर रत्ननगर आएका त्रिपाठीले रोजगारीको अन्य माध्यम नभेटेपछि पत्रिका वितरकको काम सुरु गरेका हुन् । ‘पहिला हातमुख जोर्न पनि मुस्किल थियो’ उनले भने, ‘अहिले राम्ररी परिवार पालेको छु । पत्रिका बेचेर कमाएको पैसाले उनले गरगहना समेत जोडेका छन् । रित्तो हात रत्ननगर आएका त्रिपाठीले अहिले तीन लाख रुपैयाँ कमाएर गाउँ घरमा व्याज लगाएका छन् ।
‘पत्रिका बिक्री गरेर कमाएको पैसाले डेढ तोल सुन किनें, तीन लाख रुपैयाँ व्याजमा लगाएको छु’ उनले भने, ‘धेरै कमाउन भने सकेको छैन ।’ उनले दिनहुँ ५ वटा राष्ट्रियस्तरमा प्रकाशन हुने र दुई वटा चितवनबाट प्रकाशित हुन पत्रिका वितरण गर्दै आएका छन् ।

‘थोरै पत्रिका बिक्री गर्दा जीविका चलाउनै धौंधांै भयो’ उनले भने, ‘अहिले सबैजसो पत्रिका वितरण गर्न थालेको छु । आमा, छोरा, छोरी, श्रीमती र आफू गरी उनको पाँच जनाको परिवार छ । गाउँका युवाहरु पैसा कमाउन विदेश गएको देख्दा उनलाई पनि विदेश जाने झाेंक चलेको थियो । तर विदेश जाँदा लाग्ने खर्च जुटाउन उनले सकेनन् ।
‘ऋण लिएर विदेश जान मन लागेन’ उनले भने, ‘त्यही भएर यहीँ संर्घष गरेको हँु ।’ पत्रिका बेच्दाको जस्तो आत्मसन्तुष्टि उनले अरु कुनै काममा पाएनन् । ‘अर्काको काम गर्दा आत्मसन्तुष्टि पाइँदो रहेनछ’ उनले भने, ‘अनि सबै काम छाडेर सबै पत्रिका वितरण गर्न सुरु गरेको हँु ।’ त्रिपाठी रत्ननगरको विद्युत् रोडबाट एक वर्षअघि रत्ननगर १४ लौरीघोलमा सरेका छन् । पहाडमा भएको जग्गा बेचेर उनले लौरीघोलमा पुरानो घर किनेका हुन् । उनले भने, पत्रिका बेचेर कमाएको पैसाले एउटा राम्रो पक्की घर बनाउने धोको छ ।’

चितवन पोष्ट दैनिक बाट साभार 
 
Top