घरेलु हिंसाबाट प्रभावित महिला तथा बालबालिकाका लागि पुनस्र्थापनाको काम गर्दै आएको भरतपुरको आदर्श गृह यतिखेर विवादमा फसेको छ । वर्षौंदेखि महिला तथा बालबालिकालाई हिंसाको प्रभावबाट बाहिर निकाल्न प्रयासरत संस्थामाथि एकाएक प्रश्न उठ्दा समस्या त पर्ने नै भयो । यतिखेर आदर्श विवादमा तानिनुको कारणचाहिं एक विदेशी महिला हुन् । फिलिपिनी नागरिक जोयलेन ग्रेस टेल्लेर्मो मिजारेस अर्थात छोटकरीमा ‘जोया’ रत्ननगरका जीवन थापा मगरसँग विहे गरेर आइन् र दुई छोरा पनि जन्माइन् । तर, न उनको विहे दर्ता थियो न नेपालमा आधिकारिकरुपमा बस्न पाउने भिषा, पासपोर्टलगायत कागजात । जोयाका अनुसार उनी घरेलु हिंसामा परिन् । उनलाई घर भित्राउने रत्ननगरका जीवनले कहिल्यै राम्रो व्यवहार गरेनन् । त्यसपछि घर छोडेर हिडिन् । नारायणगढबाट आदर्श गृहले उद्दार ग¥यो । जोया नेपाल बस्न चाहिनन् । अनेक प्रयास गरेर आदर्श गृहले कानूनी प्रक्रिया मिलायो र साउन ३१ गते फिलिपिन्स फर्कायो ।
तर, जब फिलिपिन्स फर्काइयो, अनि आदर्श गृह र यसका सञ्चालक मीना खरेलका बारेमा अनेक टिकाटिप्पणी आउन थाल्यो, विशेषगरी सामाजिक सञ्जालमा । खरेल र आदर्श गृहका बारेमा अनेक प्रश्न उठाइएको छ, जसको शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनको सभाहलमै पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिइएको छ । आदर्श गृहको संयोजनमा त्यहाँ बाँडिएको प्रेस विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय चितवन, महिला तथा बालबालिका कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला सरकारी वकिलको कार्यालय चितवनले पनि ऐक्वबद्धता जनाएका छन् । पत्रकार सम्मेलन भनिएपनि करिब एक सयभन्दा बढी महिला उर्लिएको सो कार्यक्रममा मीना खरेलको बयान यस्तो थियो ।
के जोयालाई घरबाटै ल्याइएको हो ?
मीना भन्छिन्, ‘होइन । यो सरासर झुट हो । २०७३ बैशाख ४ गते साँझ करिब ५ बजे नारायणगढको बालकुमारी रोडमा दुई नाबालकसहित एकजना महिला अलपत्र छिन् भन्ने जानकारी आएपछि हामीले उद्दार गरेका हौं । त्यसबेला उनी विक्षिप्त अवस्थामा थिइन् । शरीरमा चोट लागेको अवस्थामा, खान नपाएर भोकै थिइन् । उनको चाहनाअनुसारै हामीले संरक्षण दिएका हौं । यतिका समय भयो हामीले काम गरेका, कसैलाई घरबाटै थुतेर ल्याई गृहमा राख्नुपर्ने कुनै कारण छैन । महिलाको आवश्यकताअनुसार गृहमा राखिने हो, गृहलाई चाहिएर ल्याउने होइन ।
प्रमाणका लागि त्यसदिन हामीलाई खबर गर्ने दुईजना महिला ल्याइएकी थिइन् । तीमध्ये सुलोचना पाण्डेले भनिन्, “मेरो पसल छ बालकुमारी रोडमा । पसल अगाडि नाबालाकसहित अलपत्र महिला देखेर हामीले माइती नेपाललाई बोलाई जिम्मा लगाएका थियौं । उनीहरुले प्रशासनमा बुझाए रे । ३–४ दिनमा फेरि त्यही ठाउँमा उनी आइन् अनि मीनाजीलाई बोलाएर पठाएका हौं ।”
आदर्श गृहलाई डलर लिएको आरोप
सामाजिक सञ्जालमा अनेकले आदर्श गृहप्रति लाञ्छना लगाएका छन् । डलर लिएर नेपाली परिवार बिगारेर एकजना विदेशीलाई जबरजस्ती देश निकाला गरेको आरोपसमेत कयौं व्यक्तिले लगाएका छन् । यो विषयमा मीना बोलिन्, “आदर्श गृह २०६६ बैशाख १ बाट कार्यरत छ । त्योभन्दा धेरैअघि २०४९ सालदेखि म महिलाकै लागि भनेर लडिरहेकी छु । हाम्रो बैंक एकाउण्ट सार्वजनिक छ । सबैले हेर्दा हुन्छ । हामीलाई अहिलेसम्म आदर्श गृह चलाउन भनेर कहाँबाट डलर आयो । यदि डलर आएको प्रमाणित भए प्रायश्चित गर्न के गर्नुपर्ने हो । म तयार छु ।”
अनि जीवन थापाको परिवारलाई भेट्न नदिइएको कुरा
सामाजिक सञ्जालमा जोयालाई बन्दी बनाई जीवन थापाको परिवारलाई उनीसँग भेट्नै नदिइएको एकोहोरो आरोप लगाउनेहरु छन् । त्यसमा मीनाको बयान यस्तो रह्यो,
“पुनस्र्थापना केन्द्र भएकाले हाम्रो आफ्नै नियम छ । स्वयं महिलाले नचाहेको खण्डमा हामी गृहमा कसैलाई भेट्न दिदैनौं । तैपनि हामीले रोकेनौं । जीवनसँग जोयालाई कयौंपल्ट भेटाएका छौं । गृहमा भेट्न नमिल्दा पनि कयौंपटक बाहिर निकालेर आदर्श नारी विकास केन्द्रमै लगेर पनि भेटाएका छौं । केही केसमा मादक पदार्थ सेवन गरेर अरु मान्छे लिएर आउँदा भने बाध्य भएर छिर्न नदिएको सत्य हो । फेरि हामी उनको कानूनी प्रक्रिया, कागजात बनाउने प्रोसेस आदिमा त जीवन र उनको परिवारसँगै छौं त । करिब २ महिना त हामी सँगै हिड्यौं, सँगै खायौं । रातिमात्रै छुट्यौं । अनि भेट्न नपाएको भन्ने यो कुरा कहाँबाट आयो ? कसरी आयो ? म अचम्मित छु ।”
विदाईअघि के–के गरियो ?
आदर्श गृहले पटक–पटक दावी गरेको कुरा भनेको जोयालाई पारिवारिक सल्लाहमै फिलिपिन्स पठाइएको भन्ने हो । पत्रकार सम्मेलमा पनि त्यसैलाई जोड दिइयो । त्यो भनेको के हो ?
मीनाले भनिन्, “उनी (जोया)जानुपूर्व २०७३ साउन २८ गते बिहान जीवन थापा मगर, उनकी आमा पूर्णमाया मगरसहित छिमेकीहरुको रोहवरमा रत्ननगर–२ स्थित उनीहरुको डेरामा पुगी आदर्श गृहका प्रतिनिधिले भेटेको हो । सम्पूर्ण विवरण जानकारी गराई सामुहिक फोटो लिएर जोया विदा भएकी हुन् । त्यसबखत पनि जीवन र उनकी आमाले जायो र बच्चाहरुलाई यहीं रहन कुनैखाले अनुरोध गरेनन् । जोयाले दुई नाबालकसहित फिलिफिन्स फर्किन चाहेकीले हामीले उता (माइती)मा पनि सम्पर्क ग¥यौं । उनीहरु पनि यथाशीघ्र छोरी भेट्न चाहन्थे । नेपाल बस्दाको कुनैपनि वैधानिक कागजात नपाएपछि बनाउन अनेक प्रयास गरियो । यसपूर्व उनीहरुबीच सम्बन्ध सुधार र कानूनी कागजात तयार गर्न र जीवनलाई सुध्रनका लागि पटक–पटक स्थानीय प्रशासन, छरछिमेकमा भेटघाट गरी छलफल गरिएको हो । जसबाट कुनै सकारात्मक पहल परिवारका तर्फबाट नदेखिएपछि कानूनी जटिलताका बीचमा पनि जोया र बच्चाको सुरक्षा र संरक्षणका निमित्त सबै सरोकारवालाबीचको साझा प्रयासबाट उनलाई विदा गरिएको हो । ५ वर्षभन्दा लामो समयदेखि आफन्तबाट टाढा रहेकी जोयाको एकमात्र चाहना स्वदेश पुग्ने नै थियो । हामीले पारिवारिक मिलन र समस्या समाधान साथै विवाहदर्ता, बच्चाहरुको जन्मदर्तालगायत प्रक्रिया चुनौतीका साथ गरिएको प्रयास विफल भएपनि भरतपुर अस्पतालमा दुवै बच्चा जन्मिएको प्रमाणपत्रको आधारमा नाता खुलाई फिलिपिन्स कन्सोलेटले दिएको ट्राभल डकुमेन्टमा समेत उल्लेख छ ।”
प्रशासनको भनाइ
चेतनारायण शर्मा घिमिरे
सहायक प्रमुख जिल्ला अधिकारी
यो काममा आदर्श गृहले धेरै गरेको छ । त्यसका लागि धन्यवाद । विहे दर्ता तथा बच्चको जन्मदर्ताका लागि प्रयास नगर्नुभएको होइन, तर हाम्रो कानूनी जटिलताकै कारण यो सम्भव हुन सकेन । हाम्रो कानूनअनुसार विहे दर्ता गर्न महिला र पुरुष दुवैको मञ्जुरी चाहिन्छ । त्यसमा जोयाको मात्र जोड भयो, जीवनको भएन । अब प्रश्न उठ्छ जोयालाई उद्दार गर्ने अनि पीडक जीवनलाई कारबाही किन नगर्ने ? अनि सामाजिक सञ्जालमा गरिएका अनर्गल प्रचारका लागि कारबाही प्रक्रियाको कुरा पनि आएका छन् । त्यसका लागि प्रशासन सचेत छ । तपाईंहरु एउटा जाहेरी ल्याउनुहोस् हामी कारबाही गर्छौं ।
शान्ताकुमारी पौडेल
प्रमुख, जिल्ला महिला तथा बालबालिका कार्यालय चितवन
घरेलु हिंसा तथा महिला हिंसा न्यूनीकरण गर्ने सरकारी नीतिअनुसार हाम्रो स्थानीय साझेदारका रुपमा आदर्श गृहले काम गरिरहेको छ । आदर्श गृहले गरेको भनेको काम हामीले पनि गरेका हौं । अझ भन्दा हाम्रो सामुहिक काम हो । यसमा अवैधानिक काम भएको भन्ने केही पनि आधार भेटिदैन । हरेक कानूनी आधारले बालबच्चा आमासँगै बस्न पाउँछन् । त्यही आधारले जोयाले आफूसँग दुवै बच्चा लगेकी हुन् ।
साभार : खबर चितवन






