रत्ननगर १५ माधवपुरका कालु गोले वैदेशिक रोजगारीको लागि पाँच वर्षअघि खाडी मुलुक कतार गए । सामान्य आर्थिक अवस्थाका गोले धेरै पैसा कमाएर परिवारलाई सुख दिने उद्देश्यले विदेशी गएका हुन् । मासिक तलब धोरै भएका कारण छोटो समयमा उनले धेरै पैसा कमाउन सकेनन् । धेरै पैसा कमाएर घर फर्कौला भन्दाभन्दै विदेसिएको पनि पाँच वर्ष बित्यो ।
विदेशी भूमिमा संघर्ष गर्दै आए । विदेश गएका श्रीमान पाँच वर्षसम्म पनि नफर्किएपछि श्रीमती सविना चेपाङ गोलेको मन भाँडियो । नवलपरासीको एक युवकसँग नजिकिएकी सविना छोराछोरी छाडेर दोस्रो विवाह गरी घर छाडेर गइन् । २०७२ कार्तिकमा साविना छोराछोरीलाई छाडेर हिँडेपछि माघमा श्रीमान् घर आए । घर आएपछि श्रीमती दोस्रो विवाह गरेर हिँडेको थाहा पाए । अपत्यारिलो खबरले उनी अत्तालिए ।
हजारौँ सपना बुनेर घर फर्किएका कालुको श्रीमती घर छाडेर गएको थाहा पाएपछि मन भाँचियो । एक महिना छोराछोरीलाई सम्हालेर घर बसे । श्रीमती घर छाडेर हिँडेपछि विक्षिप्त बनेका कालुले विदेशबाट आएको करिब दुई महिनापछि अर्की श्रीमती टिपेर घर छाडे । श्रीमान्–श्रीमती दुवैको मति बिग्रियो ।
बुवाआमाको मति बिग्रिएपछि ८ वषीया छोरी संगीता र ७ वर्षका छोरा लोकज्ञानको बिचल्ली भएको छ । लोकज्ञानको राम्ररी बोली पनि फुटेको छैन । संगीता मसिनो स्वरमा बोल्छिन । बुवाआमा कता गए भन्ने कुरा पनि उनीहरुलाई थाहा छैन । बुवा गएको ८ महिना हुँदा पनि छोराछारीलाई भेट्न आएका छैनन् । आमाले दिएको पौष्ट्रिक आहार खानुपर्ने अवस्थाका यी बालबच्चाले पेट भर्ने अन्नसमेत नपाएपछि अवस्था कारुणीक बनेको छ । अहिले उनीहरु हजुरआमा अनिमायाको साथमा छन् । हजुरआमाले कान सुन्छिन्, मुख बोल्दिनन् । बूढेसकाल लागेर होला सुर पनि पाउँदिनन् । हजुरआमालाई नातिनातिनाले के खाए, के लगाए, कता गए केही थाहा हुँदैन । सुर नपाउने भएका कारण उनी बिहान उठेपछि गाउँ डुल्न जान्छिन ।
बिहानै हिँडेकी हजुरआमा बेलुका अबेरसम्म पनि घर नर्फर्केपछि दुई बालबच्चा दिनभरि भोकै बस्न बाध्य हुन्छन् । १० धुर जग्गामा टिनले छाएको घर छ । राम्रो ढोका छैन । भित्र गतिलो बिस्तारा पनि छैन । अन्नको नामामा एक दाना पनि चामल छैन । चालम नभएर यि वालबच्च भोकै सुत्ने गरेका छन । कहिले भोकै सुत्ने र कहिले भोकै स्कुल जाने उनीहरुको बाध्यता हो । ती बालबालिका बिरामी हुँदा मेडिकल लैजाने आफन्तसमेत छैनन् ।
ठूलोबुवा ठूलीआमाले वास्ता गर्दैनन् । १० धुर जग्गा पनि ठूलो बुवाको नाममा छ । स्थानीय विन्ध्येश्वरी निमाविमा संगीता कक्षा ४ र लोकज्ञान २ कक्षामा पढछन् । आर्थिक अभावका कारण उनीहरुसँग कापी, कलम छैन । बिहान खान नपाएकै कारण कति दिन उनीहरु स्कुल गएनन् । भोकभोकै स्कुल जानुपर्ने उनीहरुको बाध्यता छ । घरमा चामल, नुन, तेल केही छैन, छिमेकी टोपमाया गैरेले भनिन्, ‘कसरी यिनीहरुको चुलोमा आगो बल्छ ?’
चामल भए पनि पकाउने मान्छे छैनन् । हजुरआमाले समेत बेवास्ता गरेपछि आफूले खानपिन र रेखदेख गर्दै आएको उनले बताइन् । पढ्नभन्दा पनि बालबालिकालाई बिहान बेलुका खानपिन समस्या भएको गैरेले बताइन् । ‘हाम्रो पनि आर्थिक अवस्था राम्रो छैन, बिहान बेलुका हातमुख जोर्न मेलापात गर्नुपर्छ’ उनले भनिन्, ‘यी केटाकेटीलाई हेरेर बस्न पाइँदैन । यी बालबच्चाको विचल्ली भएको छ, कसैले उद्धार गरिदिए ठूलो धर्म हुने थियो ।’
साभार : चितवन पोष्ट दैनिक
