नारायणगढ । घाम डुबेर साँझ पर्दै गरेको अवस्थामा बाटोमा मस्तसँग बाघ हिँडको देखेपछि नारायणगढका बजारवासी झसंग भए । बाघ आयो, बाघ आयो भने । सबैले बाघतिर नजर लगाए ।
बाघको पछिपछि धनुष बोकेर तिर तान्दै गरेको सिकारी र कुकुरको हुल पनि थियो । तर बजारवासी धेरै बेर अलमलमा परेनन् । त्यो बाघ त वास्तविक बाघ नभई परम्परागत जात्रामा निस्केको झाँकीमा मान्छे नै बाघ बनेको रहेछ । बाघ नभई बाघजस्तै बनेको बजारवासीले एकछिनमै बुझे ।
जनैपूर्णीमामा क्वाँटी खाएपछि नेवार समुदायमा जात्राको लहर सुरु हुन्छ । मंगलबार बाघजात्राको पालो परेको थियो । नारायणगढमा राइनो क्लबले बाघ जात्रा निकालेको हो । लीलाचोक नजिकबाट निस्केको बाघजात्रामा बाघ झै देखिने मान्छे धेरै थिए । समाउने कोशिसमा लागेकाहरु अभिनय गर्दै थिए । त्यसो त बन्दुक नै बोकेको सिकारी पनि त्यही थियो ।
राजारानीको भेषमा सजिएका युवायुवतीलाई देखेर बजारवासी भन्दै थिए ‘ल हेर देशमा हराएका राजारानी चितवनमा झुल्किए ।’ जात्राको झलन केही वर्षयता कम हुँदै गएकोमा सबै मिलेर फेरि जोगाउने कोशिस गरेको चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उत्तम चुकेले बताए । पाका उमेरदेखि युवा र बालकहरुसमेत जात्रामा सहभागी भए ।
जनैपूर्णीमाको भोलिपल्ट नेवार समुदायले गाईजात्रा निकाल्छन् । त्यसपछि श्रीकृष्ण जन्माअष्टमीमा रोपाइँजात्रा निस्कन्छ । योबीचमा बाघजात्रा निस्कने गर्छ । रोपाइँजात्राको भोलिपल्ट भीमसेनजात्रा निस्केपछि समुदाय समावेश भएर निस्कने जात्राहरु लगभग सकिने गर्छ । लाखे नाचहरु भने ठाउँठाउँमा हुने गर्छ ।
‘कृषिमा आधारित अर्थतन्त्र भएको हाम्रो देशमा रोपाइँ सकिएपछि सबै जम्मा भएर मनोरञ्जन गर्ने उद्देश्यले यस्ता जात्राहरुको सुरुवात् भएको हो’ नारायणी कला मन्दीरका पूर्वअध्यक्ष प्रभातकुमार जोशी बताउँछन् । यसका साथै जात्रासँग केही धार्मिक मान्यता, आस्था र विश्वासहरु पनि जोडिएको उनी बताउँछन् ।
जात्राको बाघलाई पहिलापहिला मार्ने नै चलन थियो । सिकारी र कुकुरहरुको फन्दामा पारेर बाघ मारेपछि ठूलै उत्साह मच्चिन्थ्यो । तर अहिले बाघप्रति संरक्षणको भाव जगाउन मार्न भन्दा गाउँभन्दा पर उसको बासस्थलमा छाड्ने प्रबन्ध मिलाउन खोजिएको जात्राका आयोजकहरुले बताए । जात्राको बाघलाई अन्तिममा निकुञ्जको जिम्मा लगाइएको थियो ।
साभार : चितवन पोष्ट दैनिक
