रत्ननगर । रत्ननगर नगरपालिकाका मुख्य तथा भित्री सडक कुरुप बनेका छन् । भत्केर जीर्ण बनेका सडक समयमै मर्मत नगरिएका कारण केही मुख्य सडक र अधिकांश भित्री सडकको अवस्था कन्तविजोग बनेको छ ।
मुख्य सडकहरु भत्केको दुई तीन वर्ष बितिसक्दा पनि मर्मत गरिएको छैन । भित्री सडकहरुमा कालोपत्रे गर्ने कुरा टाढाको विषय बनेको छ । भित्री सडकमा ग्राभेलसमेत गरिएको छैन । दुई वर्षअघि रत्ननगर नगरपालिकामा समायोजन भएका बछौली र पिठुवा गाविसका अधिकांश भित्री सडकसमेत कुरुप बनेका छन् ।


कतिपय सडकहरुमा पानी जमेर सवारी साधन आवतजावत गर्न मुस्किल भएको छ । सडकमै हिलो र पानीले हिँड्नै नसक्ने अवस्था आएको छ । साविक बछौली गाविसका अधिकांश भित्री सडकका ग्राभेलसमेत गरिएको छैन । रत्ननगरको चित्रसारीबाट बछौली हुँदै सौराहा जाने बाटोको अवस्था कुरुप छ ।
बछौलीचोकदेखि चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारसम्म सडक भत्किएर ठूला–ठूला खाल्टा परेका छन् । तर मर्मतमा ध्यान जान सकेको छैन । साविक बछौली गाविस तथा अहिलेको बछौली सेवा केन्द्रको कार्यालयअगाडिको सडकमा पानी जमेर हिँड्नै नसकिने अवस्था छ । तर नगरपालिकाले सो सडक मर्मतमा ध्यान दिएको छैन ।


‘सरकारी अड्डाअगाडिको सडक विजोग हुँदा पनि मर्मत गरिएको छैन’ स्थानीय धनपति चापागाईंले भने सरकारी निकाय नै निकम्मा छ । नगरपालिकाले सडक डिभिजन कार्यालयले मर्मत गर्ने हो भनेर चुप लागेर बसेको छ । सडक डिभिजन कार्यालयले समयमै मर्मत नै गर्दैन । बछौलीका अधिकांश भित्री सडकमा ग्राभेलसमेत गरिएको छैन । भत्केको सडकमा पानी जमेर विजोग छ ।


बछौली उच्च माविबाट सौराहा जाने भित्री सडकमा हिँड्नै मुस्किल छ । सो सडकमा ग्राभेल हाल्न आर्थिक वर्ष २०७२÷७३ मा नगरपालिकाले रु. एक लाख विनियोजन गरेको थियो । सडक मर्मतको लागि बनाइएको उपभोक्ता समितिले समयमै काम नगरेकाले सो सडकमा ग्राभेल हाल्न सकिएको छैन । डेढ महिनाअघि जिल्ला विकास समितिले ग्राभेल निकासीको काम रोकेपछि सडकमा ग्राभेल हाल्न नसकिएको उपभोक्ता समितिले जनाएको छ ।


बछौलीचोकबाट पर्यटकीय बसपार्क हुँदै सौराहा जाने बाटो कालोपत्रे गर्न सुरू गरिएको छ । सडक भत्काएको दुई महिना बितिसक्दा पनि कालोपत्रे गर्ने काम सुरू हुन सकेको छैन । पिठुवाका मुख्य सडकहरु कालोपत्रे गरिएको भए पनि भित्री सडक भत्केका छन् । सौराहाचोकबाट चित्रसारीसम्मको सडक कालोपत्रे गरेको दुई महिना नबित्दै भत्किन थालेको छ ।


बकुलहर–जयमंगला सडकखण्डको अवस्था उस्तै विजोग छ । केही मर्मत नगरिएको भए पनि ८० प्रतिशत सडक भत्किएर सवारी साधन आवतजावत गर्न समस्या भएको स्थानीयबासीले बताएका छन् । रत्ननगरको निपनीदेखि लौरीघोलसम्मको मुख्य सडक दुई किलोमिटर सडक फोरलेन बनाइँदै छ । फोरलेनको ढल निर्माणको काम भइरहँदा तीन वर्षदेखि मर्मत नहुँदा राजमार्गको हरिविजोग छ ।
रत्ननगर नगरपालिकाले सडक मर्मत र निर्माणको लागि बर्सेनि करोडौँ रुपैयाँ लगानी गर्दै आइरहेको बताए पनि सडकको अवस्थामा भने केही सुधार आउन सकेको छैन । नगरपालिकाले बनाउँदै जाने र सडक भत्किँदै जाने समस्या बिकराल बन्दै गएको छ ।


रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरेले नगरपालिकाभित्रका सडकहरु कालोपत्रे र मर्मतको काम भइरहेको बताए । जिल्ला विकास समितिले ग्राभेल निकासीको काम रोकेका कारण केही सडकहरुमा ग्राभेल गर्ने काम थाँती रहेको उनको भनाइ छ ।

साभार : चितवन पोष्ट दैनिक
 
Top