कालिका नगरपालिका–७ खोलेसिमलका भीमप्रसाद भट्टराईले ३१ वर्षअघि गोरखाको अश्राङमा स्कुलमा पढाए । अश्राङ गाविसमा उनी राम्रो शिक्षकका रुपमा परिचित थिए । शिक्षण पेसा अपनाएर विद्यालयमा पढाउँदा पढाउँदै उनलाई अनौठो प्रकारको रोग देखा प¥यो । श्रीमती र दाजुभाइसँग झगडा गर्ने, खाना नखाने, एकोहोरो टोलाइरहने रोगले उनलाई छोप्यो । उनमा देखिएको अनौठो प्रकारको मनोरोगका कारण घरमा अशान्ति बढ्दै गयो ।
भीमप्रसादलाई यस्तो रोग देखा परेपछि २६ वर्षअघि उनको परिवार साविक जुटपानी गाविसमा आए । झन् उनलाई रोगले चाप्दै लग्यो । श्रीमती मायादेवीले उनलाई उपचार गर्न जिल्लादेखि राजधानी काठमाडौंका अस्पतालमा पु¥याइन् । तर, रोग निको भएन । बाबु भीमप्रसादलाई लागेको रोग उनका दुई छोरालाई पनि स¥यो । ठूलो छोरो दीपकलाई २१ वर्ष हँुदा र कान्छो छोरा १५ वर्षको हुँदा रोग लागेको मायादेवीले बताइन् ।
श्रीमान् बिरामी भएपछि अत्तालिएकी मायादेवीलाई दुई छोराहरु पनि बिरामी भएपछि चिन्तामाथि चिन्ता थपियो । शरीर थरथरी काप्ने, कम बोल्ने, होस नपाउने रोगले श्रीमान् र दुई छोरा पीडित बनेपछि मायादेवीलाई जीवन नै सकिए झैं लाग्यो । श्रीमान् र दुई छोराको उपचार गर्दा उनले दुई कठ्ठा जग्गा बेचिन् । तर, रोग निको भएन । केही नलागेपछि औषधि खुवाएर घरमै राखिन् । मायादेवीले घरको काम गर्दा र घरबाट बाहिर जाँदा श्रीमान् र दुई छोरा सुर नपाएर हिँड्न थाले । थाम्नै नसकेपछि उनले तीनै जनालाई खुट्टामा साङ्लोले बाँधेर राख्न थालिन् ।
श्रीमान्लाई २० वर्ष अघिदेखि साङ्लोले बाँधेर राखिन् । छोराहरु पनि हराउन थालेपछि उनले छोराहरुलाई साङ्लोले बाँध्न बाध्य भइन् । यसरी बाध्य भएर बाँधेर राखिएका बाबु र दुई छोरालाई मंगलबार उद्धार गरिएको छ ।
चितवन मानव सेवा आश्रमले उनीहरुलाई उद्धार गरेको हो । आश्रमले उद्दार गरेसँगै उनीहरु साङ्लो मुक्त भएका छन् । २० वर्षदेखि साङ्लोले बाधिएका भीमप्रसाद र उनका दुई छोरालाई प्रमुख जिल्ला अधिकारीले विनोदप्रकाश सिंहले साङ्लो मुक्त गराए ।
चितवनका प्रमुख जिल्ला अधिकारी सिंह, स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, प्रहरी प्रमुख बसन्तबहादुर कुँवर, मानव सेवा आश्रमका संयोजक रामजी अधिकारीलगायतको टोलीले उनीहरुलाई उद्धार गरी आश्रममा लगेको हो ।
विगत पाँच वर्षअघिदेखि उनीहरुको राम्रो उपचार हुन सकेको थिएन । आर्थिक अभावका कारण अस्पताल लगेर उपचार गर्न नसकेको मायादेवीले बताइन् । प्रमुख जिल्ला अधिकारी सिंहले राज्यले गर्नुपर्ने काम मानव सेवा आश्रमले गरिरहेको भन्दै भट्टराई परिवारका तीनैजना केही दिनमै ठिक हुने विश्वास व्यक्त गरे ।
स्थानीय विकास अधिकारी पोखरेलले राज्य र गैरसरकारी संस्थाको सहकार्यबाट मात्रै सामाजिक अभियान सफल हुने बताए । उनले मानव सेवा आश्रमले गरेको काम विश्वमै उदाहरणीय रहेको बताए । मानव सेवा आश्रमका संयोजक रामजी अधिकारीले उद्धार गरिएका तीन जनाको मंगलबारबाट उपचार सुरू गर्ने बताए ।
मनोरोगीलाई उपचार मात्र पर्याप्त नहुन्ने भन्दै अधिकारीले उपयुक्त वातावरणमा परामर्श दिएर पनि तीन जनालाई छिट्टै निको बनाउने तर्फ आफ्नो प्रयत्न हुने बताए । उद्धार गरेसँगै भट्टराई परिवारका तीन जना मानव सेवा आश्रमको जिम्मामा आएका छन् ।
‘समान्य जीवनशैलीमा आए घर फिर्ती गर्छाै’ं उनले भने, ‘नत्र आश्रममै राखेर पाल्ने छौं ।’ मानव सेवा आश्रमले अहिलेसम्म ५०० असहाय, मनोरोगी, सडकमा अलपत्र परेकालाई उद्धार गरिसकेको छ । आश्रमले त्यस्ता १२५ जनालाई सामान्य अवस्थामा फर्काएर परिवारमा पुनर्मिलन गराएको छ । आश्रमको मुख्य कार्यालय हेटौडामा र चितवन र काठमाडौंमा शाखा रहेको छ । हेटौडामा ७३, चितवनमा ४० र काठमाडौंमा २५ जना आश्रित रहेका छन् ।
साभार : चितवन पोष्ट दैनिक 
 
Top