सरिता पौडेल,

चितवन साउन २२-

मेडिकल हबको रुपमा परिचित चितवन पशुपालनमा क्षेत्रमा मात्रै ८ अर्बको लगानी भएको छ । पशुपालनमा युवापुस्ताले आधुनिक फार्म स्थापना गरेर करोडौंको लगानी गर्न थालेका छन् ।



जिल्ला पशु सेवा कार्यालयका अनुसार चितवनमा ४० वटा ठूला गार्इ फार्म छन् । ती गार्इ फार्ममा करोडौको लगानी भएको छ । चितवनमा सहकारी संस्थाले समेत गार्इ फार्ममा लगानी गरेको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीका अनुसार चितवनमा गार्इ भैसीमा ७ अर्ब र बाख्रामा एक अर्ब लगानी भएको छ । उनले पाँच वर्षको अवधिमा पशुपालनमा लगानी गर्नेको भीड लाग्न थालेको बताउँदै पाँच वर्षअघि पशुपालनमा एक अर्ब मात्रै लगानी भएको बताए ।

चितवनमा पछिल्लो समयमा निर्वाहमुखी पशुपालन छाडेर व्यवसायिकता अपनाउन थालेपछि लगानी बढेको हो । चितवनमा अहिले ७२ हजार गार्इ, ६८ हजार भैसी र दुर्इ लाख बाख्रा रहेको कार्यालयले जनाएको छ । कार्यालयमा गार्इभैसीका ९ सय ५, बाख्राका १ सय ९५ र बंगुरका १ सय ४५ फार्म दर्ता छन् । कार्यालयका अनुसार व्यवसायिक रुपम २ सय ५० गार्इभैसी, ६० बाख्रा र ३५ बंगुर फार्म छन् । चितवनमा नेपालकै सबैभन्दा ठूलो लालीगुराँस गार्इ फार्म छ । बाबुराम सोडारीले संचालन गरेको यो फार्ममा ३० करोड लगानी छ ।



यो फार्ममा चार सय गार्इ छन् । अर्का गार्इ फार्म संचालक मुक्तिराम ढकाल परम्परागत खेतीबाट नोक्सानी ब्योहोरेपछि गार्इ फार्म स्थापना गरेको बताए । उनले ढकाल गार्इ फार्म स्थापना गरेर व्यवसायिक रुपमा गार्इ पालेका छन् । उनले यो गार्इ फार्ममा एक करोड लगानी गरेका छन् । उनले गार्इ पालेर मासिक ४ लाख कमाउन थालेको बताए ।

ढकालले पशुपालनमा राज्यले दिने अनुदान प्रभावकारी बनाएमा यो व्यवसायमा थप आकर्षण बढ्ने बताए । उनले अनुदान टाठाबाठाको हातमा जाने गरेको बताउँदै बास्तविक किसान पहिचान गरेर अनुदान दिन सरकारलार्इ आग्रह गरे । कार्यालयका अनुसार गत आर्थिक वर्षमा २० वटा गार्इ फार्मलार्इ अनुदान दिइएको थियो । कार्यालयले ठूलो गार्इ फार्मलार्इ चार लाख, मझौंला १० वटालार्इ दुर्इ लाख र साना ९ वटालार्इ एक लाखका दरले अनुदान दिएको जनाएको छ ।

दूध उत्पादन बढ्यो

पशुपालनमा लगानीसँगै दूध उत्पादन समेत बढेको छ । कार्यालयका अनुसार गत वर्ष ८७ हजार ७ सय ९७ टन दूध उत्पादन भएको छ । अघिल्लो वर्ष ८७ हजार ७७ टन दूध उत्पादन भएको थियो । चितवनमा पशुपालन व्यवसायको विकास र विस्तारको लागि यो वर्ष पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजन गरिएको पाँच करोडमध्ये दुर्इ करोड प्रशासनिक काममा खर्च हुनेछ भने तीन करोड किसानकै लागि खर्च गरिने कार्कीले बताए ।

अनुदानको लोभ

चितवनमा अनुदानका लागि गार्इ फार्म संचालन गर्ने पनि छन् । अनुदानका लागि फार्म स्थापना गर्ने कतिपय बन्द समेत भइसकेका छन् । ढकाल गार्इ फार्मका संचालक मुक्तिरामका अनुसार अनुदानको लोभमा फार्म स्थापना गर्ने धेरै बन्द भएका छन् । पशु विकास कार्यालयका प्रमुख कार्की समेत कतिपय गार्इ फार्म बन्द भएको स्विकार्छन् ।

उनले राम्रोसँग काम नगर्ने र अरुको भरमा छोड्नेले नाफा गर्न नसकेर बन्द भएको धेरै उदाहरण रहेको स्विकार गरे । उत्पादन लागत धान्न नसकेरपनि कतिपय गार्इ फार्म संचालन गर्न नसकेको पाइएको छ । गार्इ फार्म संचालन गरिरहेकी मुनादेवी थापाका अनुसार डेरीमा दूध बिक्री गर्दा मूल्य नपाउने भएकोले धेरै किसान मर्कामा परेको बतार्इन् ।

डेरीमा दूध बेच्दा लिटरको ४० देखि ४४ रुपैयाँ मात्रै पार्इन्छ । दूधको उत्पादन लागतनै ४० रुपैयाँजति पर्छ, उनले भनिन्, बजारमा त्यही दूध ७० रुपैयाँसम्म बिक्री हुन्छ । बजारसम्म पुर्याउन नसक्दा धेरै किसान मारमा छन् ।

विजमाण्डौवाट साभार
 
Top