सिसुवारका घर भत्काउने निर्णयको विरोध
""
रत्ननगर,३० साउन ।
रत्ननगर–१७, सिसुवारमा सार्वजनिक जग्गामा बनाइएका दुई वटा घर खाली गर्न नगरपालिकाले ३५ दिने सूचना जारी गरेको छ । सिसुवारका अनिल चौधरी र देवनारायण चौधरीको घर खाली गर्न नगरपालिकाले ३५ दिने सूचना जारी गरेको हो ।
सूचनामा घर नछाडे बल प्रयोग गर्ने र घर भत्काउदा लाग्ने खर्च पनि पीडितले ब्यहोर्नुपर्ने उल्लेख छ । विनाविकल्प घर भत्काउन सूचना जारी गरेपछि नगरपालिकाको निर्णयप्रति स्थानीयले विरोध गरेका छन् । वर्षौंदेखि यहाँ बस्दै आएका आदिवासी थारु समुदायका घर हटाउन नहुने भन्दै स्थानीय र केही राजनीतिक दलहरुले विरोध गरेका हुन् । पुस्तौंदेखि उपभोग गर्दै आएको जग्गामा बनाइएको घर एकाएक भत्काउने सूचना जारी भएपछि चौधरी परिवार चकित परेको छ ।
स्थानीय सजना महतोले घर भत्काउने नगरपालिकाको निर्णयले आफूहरु चकित परेको बताए । नगरपालिकाले आफ्नो निर्णय नसच्याए आन्दोलन गर्ने बताएको छ । नगरपालिकाले सिसुवारमा रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न लागेको छ । पार्क निर्माणकै लागि सो घर खाली गर्न लागेको नगरपालिकाले जनाएको छ । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले सार्वजनिक जग्गामा कसैले पनि भौतिक संरचना बनाउन नपाउने भन्दै बनाइएको पाइएमा खाली गर्ने जिम्मेवारी नगरपालिकाको रहेको बताए ।

साभार : खबर चितवन 
 
Top