चितवन, १२ भदौ ।
यतिखेर भरतपुरको एउटा गैरसरकारी संस्था आदर्श गृहको बारेमा धेरै बहस छ । घरेलु हिंसाबाट प्रभावित महिला तथा बालबालिकाका लागि पुनस्र्थापनाको काम गर्दै आएको सो गृहले फिलिपिनी नागरिक जोयलेन ग्रेस टेल्लेर्मो मिजारेस अर्थात छोटकरीमा ‘जोया’ लाई उनको इच्छाअनुसार फिलिपिन्स फर्काएको कि जवरजस्ती ? आदर्श गृह डलरमा चल्छ कि रुपैयाँमा ? यसले आफ्नो आवश्यकतामा महिला थुपार्छ कि पीडित महिलाको आवश्यकताको आधारमा ? यस्ता प्रश्न जनमानसमा उठिरहेका छन् । त्योसँगै यसका प्रमुख मीना खरेलप्रति लक्षित गरेर पनि अनेक टिकाटिप्पणी आइरहेका छन् ।
यतिबेला सर्वसाधारणले आदर्श गृह र मीना खरेलको बारेमा जानकारी पाउनुपर्ने देखिएको छ । खासमा आदर्श गृह के हो ? कसरी चल्छ आदर्श गृह ? अनि यसको स्रोत के हो ? अनि मीना खरेल नै को हुन् ? आदि विषय हामीले खोजेका छौं ।

को हुन् मीना खरेल ? 




उमेर ४४ वर्ष । उनले विहे गरेकी छ्रैनन् । गर्ने मनपनि छैन । उत्पीडनमा परेका महिला तथा बालबालिकाको संरक्षण र न्याय प्राप्तिका लागि यसरी भिजेकी छन् कि यसबाट टाढा हुने सोचपनि आउँदैन ।
२०४९ सालतिर चितवन पटिहानीको गंगानगरमा दाइजो नल्याएकै निहुमा परिवारबाटै एक महिलाको हत्या भयो । माइती बारा भएकी महिलाको हत्या चितवनमै भएपनि सामाजिक कुरीति र महिलामाथिको उत्पीडनविरुद्ध आवाज उठाउने संस्था कुनै भएन । बाराबाटै महिलावादी संस्था आएर आवाज उठाउन थाल्यो । त्यतिबेला विद्यार्थी राजनीतिमै रुमल्लिएकी मीनालाई लाग्यो, यसको नेतृत्व किन नलिने ?
नेपाली कांग्रेस निकट विद्यार्थी राजनीतिमा सक्रिय सीता सापकोटा अध्यक्ष र आफू उपाध्यक्ष भएर २०४९ सालमा आदर्श नारी क्लब गठन गरेको सम्झिन्छिन् उनी । “त्यो घटनाले यसरी छोयो कि”, उनी भन्छिन्, “त्यसैले गर्दा यो क्षेत्रमा लाग्ने प्रेरणा मिल्यो ।” क्लब गठन गरेपछि शुरु भो उनको सामाजिक सेवाको अभियान ।
२०२९ साल कात्तिक १२ गते जन्मिएकी उनी ८ कक्षा पढ्दा नै प्रहरीबाट गिरफ्तारीमा परिन् । “शुल्कवृद्धिको विरोधमा नाराबाजी गर्दा प्रहरीले समात्यो”, उनले भनिन्, “त्यसपछि बल्ला थाहा भो राजनीति भनेको के हो ?” यसपछि २०४६ सालको क्रान्तिमा सक्रिय सहभागी उनी नेविसंघको जिल्ला तह हुँदै नेपाली कांग्रेस चितवनको कार्यसमिति सदस्य भइन् । उति नै बेला गंगानगरको घटना भएपछि राजनीतिभन्दा महिला मुक्तिको लागि लड्नु बढी महत्वपूर्ण लाग्यो उनलाई । “त्यसबेलासम्म पनि महिलाका लागि नगरेको होइन”, मीना भन्छिन्, “तर, पार्टी कार्यकर्ताका हिसाबले बोलाएपछि जाने, बन्द हडताल र चक्काजाम गर्ने बढी हुन्थ्यो ।”


क्लबले महिला सशक्तीकरणमा काम गर्न थाल्यो । तर, आफै चल्ने स्रोत थिएन । चन्दा मागेर कार्यालय व्यवस्थापन गरिन्थ्यो । तत्कालीन अध्यक्ष सीता सापकोटा जिल्लाबाहिर भएपछि २०५२ सालमा मीनाले नै गरिन् क्लबको नेतृत्व । राजनीतिमा उनको सक्रियता कम हुँदै गयो । दाइजो नल्याएको निहुमा कुटपिट, घरायसी विवादले घरनिकाला, अन्य मनमुटावका कारण हुने हिंसाप्रभावित महिलासँग उनको सम्पर्क बढ्दै गयो ।
क्लब चल्ने बाटोका लागि महिला लघुउद्यम परियोजना चलाउन थालियो । त्यसले महिलालाई विनाधितो ऋण दिने काम ग¥यो । ७ सय जनाको ठूलो सञ्जाल यसले निर्माण ग¥यो । यही मेसोमा उनी बंगलादेश गएर त्यहाँको लघुउद्यम तथा सहकारीबारे जान्ने मौका पाइन् । आएपछि २०५५ सालमा क्लबलाई परिवर्तन गरेर आदर्श नारी बचत तथा ऋण सहकारी संस्था स्थापना गरिन् । ६० महिला, ४० पुरुषको सहभागिता हुने गरी संरचना निर्माण गरियो । अहिले सहकारीमा ५ सय जना शेयर सदस्य छन् । सुरुआतकै सहमतिअनुसार अहिलेपनि संस्थाको अध्यक्ष महिला नै हुन्छन् । पुरुष बढीमा उपाध्यक्ष हुन्छन् ।
२०५७ सालपछि त उनी राजनीतिमा सक्रिय हुन छाडिन् । त्यसबेलासम्म उनी नेपाली कांग्रेस चितवनको कार्यसमिति सदस्य थिइन् । “राजनीति सबैले गर्न सक्छ । तर, समाजसेवामा धेरैको ध्यान जाँदैन”, उनले भनिन्, “राजनीति ग¥यो भने म सबैको हुनपनि सक्दिन, एउटा पक्ष विशेषको मात्र हुनेछु भन्ने लाग्यो र समाजसेवा ओजिलो कामपनि हो भन्ने हिसाबले यता बढी समय दिन थालें ।”

महिला स्वास्थ्यमा पनि काम गर्न मन लागेपछि सोही समूहमार्फत आदर्श नारी क्लिनिक तथा स्वास्थ्य परामर्श केन्द्रपनि स्थापना गरियो । २०६१ सालमा स्थपाना भएको यो संस्थाले सुरक्षित गर्भपतन र परामर्श सेवा प्रदान गरिरहेको छ ।
समाज अस्तव्यस्तै थियो । सामाजिक अपराध न्यूनीकरणमा कमै ध्यान गएको थियो । उनकै अगुवाइमा ६ वटा महिला संस्था र प्रहरीको सञ्जाल निर्माण गरी जिल्लामा २०५५ सालेदेखि सामाजिक अपराधविरुद्ध समन्वय समिति गठन भइसकेको थियो । त्यसबेला महिला हिंसा तथा सामाजिक अपराधसम्बन्धी पर्याप्त ऐन थिएन । समन्वय समितिले यस्ता समस्या समाधानका लागि पहल गथ्र्यो ।
एकदिनको घटना हो । जिल्ला प्रहरी कार्यालयमा समन्वय समितिको वैठक बसिरहँदा चोरीका एक अभियुक्तले प्रहरी प्रमुखलाई भेट्न चाहेको खबर आयो । कार्यकक्षमा बोलाइएका २४ वर्र्षीय सडक बालकको बाध्यता सुनेपछि मीनामा ठूलो प्रभाव प¥यो । “मैले २४ वर्षको उमेरमै ४ करोडभन्दा बढी चोरी गरिसकें”, ती अभियुक्तलाई उध्दृत गर्दै मीनाले सुनाइन्, “तर, मैले उपयोग गर्न पाइन । मलाई जसले खटाएको थियो त्यसैलाई पठाएँ । उचाही साधु हुने मचाही अपराधी किन ?” यसपछि मीनाले यस्तै सडक बालकको भविष्यबारे पनि सोच्नुपर्छ भन्ने सोच राखिन् । त्यसबेला २ सय बढी बालबालिका चितवनका सडकमा थिए । व्यापक पहलपछि नारायणगढमा हाम्रो घर संस्था स्थापना भयो २०६१ मा । यसले सडकका बालबालिकालाई खानेबस्ने सुविधा दिएर विद्यालय पठाउने काम गर्छ । यस संस्थाबाट अहिले वर्षेनी एसएलसी परीक्षामा सामेल हुन्छन् बालबालिकाहरु ।
यसपछि उनको काम एक ठाउँमात्र भएन । उनको आवश्यकता एक समूहलाई मात्रै परेन । यति गर्दासम्म मीना खरेल सबैको दिमागमा मीना दिदीका रुपमा पसिसकेकी थिइन् । राजनीतिका कारण बीचैमा छुटेको पढाइलाई उनले निरन्तरता दिइन् । भरतपुरकै वीरेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक सकेकी उनी काठमाडौंको त्रिचन्द्र कलेजमा समाजशास्त्र विषयमा स्नातकोत्तर भर्ना भइन् । नेदरल्याण्डबाट वीका विन नाम गरेकी स्वयंसेवी महिला समाजशास्त्रकै अध्ययनका लागि उहीबेला आइन् । ‘नेपाली र भारतीय महिलाको तुलनात्मक अध्ययन’ विषयमा उनको थेसिस तयार गर्नु थियो । मीनाले विनालाई चितवन ल्याइन् । ३ महिना सँगै राखिन् । हरेक दिन कोही न कोही महिला मीनाको अघिपछि रुन्थिन् । घरेलु हिंसामा परेका र अरु समस्याका महिलापनि उनको शरण पर्थे । तर, तिनलाई सुरक्षित राख्ने ठाउँ थिएन । विनलाई पनि अध्ययन गर्न निकै साजिलो भयो । मीनाको सहयोगले उनको अध्ययन सार्थक बनेपछि प्रफुल्ल बनिन् । “तलाई के सहयोग गरुँ भनिन्”, मीनाले सम्झिइन्, “मैले मेरो व्यक्तिगत इच्छाभन्दा पीडित महिलाको उद्दारलाई प्रधान ठानें । हिंसाप्रभावित महिलालाई राख्ने छहारी थिएन सक्छौ भने यसमै गर भनें ।”
उनी स्वदेश फर्किएपछि सँगै अध्ययनरत साथीहरुसँग मिलेर सहयोग जुटाइन् । भाग्यवश विन फेरि चितवन आइन् सहयोग लिएर



। २०६६ साल वैशाख १ गतेदेखि उनीहरुकै सहयोगमा घरेलु हिंसा र मानव बेचबिखनको सिकारमा परेका महिला तथा उनको संरक्षणमा रहेका बाबुनानीको पुनःस्थापनाका लागि आदर्श गृह स्थापना भयो । ११ जनाले १८ महिनाका लागि सहयोग गर्ने सहमति भयो ।
१८ महिना त विदेशी सहयोगले चल्यो । पहिलो चरणमै २४ जना महिलालाई गृहमा राखियो । तर, बाँकी दिनमा के गर्ने ? जहाँ इच्छा त्यहाँ उपाय भनेझै हिंसाप्रभावित महिलाहरुलाई गृह रहुञ्जेल सीप सिकाउन थालियो । सिलाइकटाइ, विभिन्न घरेलु सामग्री निर्माण, मैनबत्ती बनाउनेजस्ता तालिम प्रदान गरियो । “यसोगर्दा आम्दानी हुने र अभ्यास पनि”, मीनाले भनिन्, “राखेर खुवाउनेमात्रै गर्नुभन्दा आम्दानी गर्नुपर्छ भन्ने सोचले यसो ग¥यौं ।” हरेक महोत्सव र मेलामा यहाँका महिलाहरुले बनाएका हस्तकला बिक्री हुन्छ । महोत्सव आयोजकले पनि निःशुल्क स्टल प्रदान गर्छ । त्यसो त ‘जन्मदिनको एकछाक आदर्श गृहको साथ’ अभियान चलाएर अक्षय कोष बनाइएको छ । ३ सय ६५ जना सदस्य बनाउने गरी थालिएको अभियानमा अहिलेसम्म ८० जना छन् ।
आदर्श गृहको मुख्य काम भनेको हिंसामा परेर घरबाहिर आएका महिला र बालबालिकालाई पुनःस्थापना गर्नु हो । यहाँ अहिलेसम्म कम्तीमा ४११ जनालाई उद्धार तथा संरक्षण गरिएका छन् । संस्थाको सम्पर्कमा आएकालाई सबभन्दा पहिले संस्थाकै पहलबाट मिलापत्र गर्ने प्रयास गरिन्छ । नसके सामुदायिक सेवा केन्द्रमार्फत पहल गरिन्छ । जिल्ला प्रहरी कार्यालयको महिला सेल, सम्बन्धित जिल्लाको प्रहरी कार्यालयबाट पनि सफलता हात नलागे अदालतसम्म पुग्ने कामपनि यसैबाट गरिन्छ ।

कैयौं महिला पुनःस्थापनापछि व्यवसायमा छन् । कयौंले पढाइलाई निरन्तरता दिएका छन् । कैयौं घर फर्किएका छन् । आदर्श गृहमार्फत धेरैले नयाँ जिन्दगी पाएका छन् । बसिसाध्ये नभएर घर छोडेकाहरु पनि फेरि त्यही घर फर्किने वातावरण बनेको छ । घर फर्किन नसकेकाहरु स्वरोजगारबाट बालबच्चा पालिरहेका छन् । पहिलो चरणमा आएकी घरेलु हिंसाप्रभावित महिलाले भरखरै न्याय पाएकी छन् । उनी गृहमै आमा बनेर बसेकी छन् । पढाइलाई निरन्तरता दिएकी छन् ।

महिलाको चित्कार, पीडा, असुरक्षाविरुद्ध लड्दालड्दै मीनाले विहे गर्नै भ्याइनन् । विहे गर्ने इच्छा नै भएन त ? “अहँ कहिल्यै भएन”, उनी भन्छिन्, “स्वाभाविकरुपमा म पनि जवान भएँ, यौवनावस्था पार गरें । तर, विहे गर्छु भन्ने लागेन । मेरो कारण कसैले सुरक्षा अनुभूति गर्छ भने कसैको जिन्दगी सहज बन्छ भने त्यसमै लाग्छु भन्ने भयो, विहेबारे सोच्नै भ्याइएन ।”

उनी जहाँ जन्मिइन् त्यही घरमा छिन् अझैपनि । विहे नगरेपनि उनलाई हिनताबोध छैन । परिवारबाट अंश पाएकी छन् । घरमा नराम्रो व्यवहार खेप्नुपरेको छैन । महिला हकअधिकार प्राप्ति र न्यायका लागि लड्दालड्दै दुई दशकभन्दा बढी समय बिताइसकेकी उनी अझै धेरै गर्न बाँकी रहेको ठान्छिन् । उनको सपना छ महिला हिंसारहित समाज । “आफैले गरेको काम सम्झिदा कहाली लाग्छ”, उनले भनिन्, “४ हजार भन्दा बढी महिलाका लागि लडें होला । तर, अझै मैले गरेको काम महिला हिंसा न्यूनीकरणमा एउटा अंश मात्रै हो । धेरै गर्न बाँकी छ ।” पहिले कानून नभएरै हिंसा बढेको र अहिले कानून आएपनि फितलो रहेकाले हिंसा नघटेको उनको बुझाइ छ । हिंसा रोक्नका लागि सबैभन्दा ठूलो हतियार शिक्षालाई मान्छिन् उनी । “शिक्षापनि अहिलेको जस्तो होइन”, उनी भन्छिन्, “महिला आर्थिकरुपले सबल हुने शिक्षा चाहियो जसले महिला बलियो बनून् ।”


के हो आदर्श गृह ? 

घरेलु हिंसा, मानव बेचबिखन, जबरजस्ती करणी, द्वन्द्वलगायतबाट प्रभावित महिला तथा बालबालिकालाई अल्पकालीन तथा दीर्घकालीन पुनस्र्थापन गरी सीप, शिक्षा, सुरक्षा, कानूनी परामर्श र सेवा उपलब्ध गराई सम्मानित र शोषणमुक्त जीवन बाँच्ने अधिकारको सुनिश्चितताका २०६६ वैशाख १ देखि सञ्चालनमा आएको पुनस्र्थापन केन्द्र हो आदर्श गृह । २०४९ साल (सन् १९९३) मा तत्कालीन आदर्श नारी क्लब (हालको आदर्श नारी विकास केन्द्र)को स्थापना भएपछि सोहीअन्तर्गत १७ वर्षपछि आदर्श गृह खुलेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवन, समाज कल्याण परिषद् काठमाडौं, जिल्ला गैरसरकारी संस्था समन्वय समिति चितवन, चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय अभियान र सामाजिक अपराधविरुद्धको अभियान समन्वय समिति चितवनलगायतका सरकारी एवं सामाजिक संस्थाहरुमा आबद्ध यो संस्थालाई नेपाल सरकारले समेत घरेलु हिंसामा परेका महिला तथा बालबालिका पुनस्र्थापनाका लागि साझेदार मान्छ । सोहीअनुसार आ.व. २०६६÷०६७ देखि नेपल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको महिला तथा बालबालिका कार्यालय चितवनको सहकार्यमा मानव बेचबिखन तथा ओसारपसारको जोखिममा रहेकाहरुको पुनस्र्थापना तथा पुनः एकीकरण कार्यक्रम समेत संचालनमा रहिरहेको छ ।

आदर्श गृह सञ्चालनको स्रोतः

धेरैले आदर्श गृहलाई धेरै गैरसरकारी संस्थाजस्तै विदेशी स्रोतबाट चल्ने, अझै भन्दा डलरमा बजेट ल्याउने अनि कार्यक्रम गरेजस्तो गरी बजेट सकाउने संस्थाका रुपमा हेरेको देखिएको छ । तर, केही दिनअघिको पत्रकार सम्मेलनमा यसका प्रमुख मीना खरेलले भनिन्, “आदर्श गृह २०६६ बैशाख १ बाट कार्यरत छ । त्योभन्दा धेरैअघि २०४९ सालदेखि म महिलाकै लागि भनेर लडिरहेकी छु । हाम्रो बैंक एकाउण्ट सार्वजनिक छ । सबैले हेर्दा हुन्छ । हामीलाई अहिलेसम्म आदर्श गृह चलाउन भनेर कहाँबाट डलर आयो । यदि डलर आएको प्रमाणित भए प्रायश्चित गर्न के गर्नुपर्ने हो । म तयार छु ।” यसलाई महिला तथा बालबालिका कार्यालय, चितवनले नियमित कार्यक्रम दिन्छ र बजेट पनि । त्यसको अलावा स्थानीय व्यक्ति तथा संघ संस्थाहरुको स्वेच्छिक सहयोग (जन्मदिन मनाउने, उत्सव तथा कार्यक्रमा सहयोग गर्ने १३५ जना) मिलिरहेको छ । साथै आश्रित महिलाहरुलाई सीप सिकाइन्छ र उनीहरु आत्मनिर्भर बन्छन् । उनीहरुको सीपबाट उत्पादित सामाग्रीहरुको प्रदर्शनी तथा बिक्री आदिबाट पनि आम्दानी भइरहेको हुन्छ । त्यस्ता सामग्री हरेक मेला तथा महोत्सवमा बिक्री गरिन्छ । २०६६÷१२÷३१ देखि नै निरन्तर व्यवसायिक केन्द्र (आदर्श टेलर्स) मार्फत ६ जना महिलाहरुले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् भने केहीले आफै व्यवसाय संचालन गरेका छन् र केही रोजगारीमा रहेका छन् । यसैगरि जिल्ला प्रशाशन कार्यालय चितवन, जिल्ला बाल कल्याण समिति चितवन तथा जिल्ला विकास समिति चितवनको सहयोग तथा समन्वयमा जिल्ला प्रशासन कार्यालय चितवनको हाताभित्र आदर्श चमेना गृहको संचालन गरिएको छ । जसबाट हाल प्रत्यक्ष ३ जनाले रोजगारी प्राप्त गरिरहेका छन् । अझैपनि खरेल दावीका साथ भन्छिन्, “डलर कहिले ल्याइयो, देखाउने कोही भए हरतरिकाले प्रायश्चित गर्न तयार छु ।”


आदर्श गृहले हालसम्म उद्धार तथा संरक्षण गरेको महिला तथा बालबालिकाको संख्या 

–आ.व. ०६६/०६७ मा १३ जना
–आ.व.०६७/०६८ मा ३५ जना
–आ.व.०६८/०६९ मा ४५ जना
–आ.व.०६९/०७० मा ३६ जना
–आ.व.०७०/०७१ मा ४० जना
–आ.व.०७१/०७२ मा ४९ जना तथा ७१ जना गरी कूल १२० जना
–आ.व.०७२/०७३ को ४८ जना तथा ७४ जना गरी कूल १२२


यो पनि पढ्नुस

फिलिपिनी महिला फिर्ती प्रकरणमा मीना खरेलको बयान साभार : खबर चितवन
 
Top