तीन बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरिया गाबिस–१ हर्षाहाका २८ बर्षीय बालकिशोर चौरसिया रहेका छन् ।

रौतहट प्रहरीका अनुसार चौरसियाले एक महिनामा तीन जना बालिकाको बलात्कार पछि हत्या गरेका छन् । चौरसियाले बालिकालाई बलात्कृत गरि हत्या गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । गत भदौ ८ गते घरमा सुतिरहेको अवस्थामा चौरसियाले मर्यादपुर गाबिस–१ बस्ने ६ बर्षीया बालिकालाई उठाइ साइकलमा राखेर देवाही र पतौराको बीचमा पर्ने लाल बकैया नदीको पुलबाट फाल्दा बालिकाको मृत्यु भएको प्रहरी समक्ष बयान दिएका छन् । बालिकालाई बलात्कार गरी पुलबाट फालेको चौरसियाले स्वीकार गरेका छन् । प्रहरीले चौरसियाको कटहरिया स्थित घरबाट साइकल बरामद गरेपछि अनुसन्धानको क्रममा नियन्त्रण लिदा उक्त कुरा खुल्न आएको हो । यस्तै गत साउन २७ गते मर्यादपुर गाबिस–१ कै अर्र्की ६ बर्षीया बालिका र गत साउन १० गते गरुडा नगरपालिका–५ शिबनगर बस्ने ४ बर्षीया बालिका बबिता कुमारी रामको पनि चौरसियाले जबरजस्ती करणी पछि हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका चौरसियाले रातिको समयमा बालिकालाई ओछ्यानबाट निन्द्रामा नै बोकेर एकान्तस्थलमा लगेर बलत्कार गरी हत्या गर्ने कार्यमा संलग्न रहदै आएको प्रहरी उपरीक्षक गणेश रेग्मीले जानकारी दिनुभयो । पक्राउ परेका चौरसियाले अरु अपराध गरेको हुन सक्ने तर्फ समेत अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । ०७१ पौष २३ गते १७ वटा साईकल चोरी गरेको मुद्धामा डेढ बर्ष गौर कारागारमा सजाय भुक्तान गरेपछि उनी बालिका बलात्कार र हत्यामा संलग्न रहदै आएको पाइएको छ ।
 
Top