चितवन माडिका एक कर्मठ युवाको सफलताको कथा , विदेशको कमाई छाडेर माछा पालनमा
चितवन माडीका दयाराम महतोले मलेसियादेखि साउदी अरेबियाका विभिन्न सुविधासम्पन्न कम्पनीमा ९ वर्ष काम गरे। तर परिवारको सम्झना भने विदेशको आरामदायी कम्पनीले मेटाउन सकेन।
विदेशमा रहँदा खेती किसानी गरी घरपरिवारसँगै बस्ने उनको मनमा पटक पटक सोच आउँथ्यो। महतो परिवारको लागि कमाउने एक्लो मानिस पनि हुन्। ६ छोराछोरीका बाबु उनीसँग झन्डै २ बिघा खेत पनि छ। तर खेतमा उब्जा हुँदैन। खेतमा लागत प्रत्येक वर्ष बढ्दै गएको छ भने उत्पादन वर्षेनि घट्दै गएको छ।
चितवन राष्ट्रिय निकुञ्जले वरिपरिबाट घेरिएको माडी नगरपालिकाको सिखारीपुरमा उनको खेत छ। खेत नजिकै जंगल पनि छ। रोगबाट बचाएर धान फलाउनै कठिन छ। फलिहाले पनि आफूले स्याहार्न त झनै गाह्रो।
फलेको धानबाली र गहुँबाली बदेल, हात्ति र गैडाले खाइदिने भएका कारण नै उनी ९ वर्षअघि खेत अर्कैलाई लगाउन छाडेर विदेश गएका थिए। विदेशको बसााई पनि उनलाई सहज भने भएन, किनकि घरपरिवार नेपालमै थियो।
उनले भने ‘कमाएर मात्रै नहुने बच्चाबच्ची सबै यतै, बिरामी भएको खबर सुनेमा झनै चिन्ता बढ्ने, अनि मनमा नेपालमै केही गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर सहज थिएन।’ यो समस्या दयाराम महतोको मात्रै होइन, उनीजस्तै विदेशमा पसेका कैयन नेपाली युवाको हो।
यता घरमा आएर खेतीपाती गर्न पनि समस्या थियो उनलाई। किनकि माडीबासीले आफ्नो बाली खान आएका जंगली जनावर समेत धपाउन पाउँदैनन्। महतोले भने ‘गैँडा र हात्ती आएर धान खान लागे भने धपाउन त कुरै छाड्नुहोस्, जोडले कराउन समेत हुँदैन भन्ने जस्तो गर्छ निकुञ्ज प्रशासन।’
जलबायु परिवतर्नको कारण सिखारीपुरको खेतमा उत्पादन कमी हुँदै आएको छ। जसका कारण त्यहाका बासिन्दाले कृषि प्रणालीमा परिवर्तन ल्याउन खोजेका छन्। परम्परागत रुपमा गर्दै आएको धानबालीले अब गुजारा चल्दैन भन्ने धेरैले जानिसकेका छन्। जसकारण नै अहिले सिखारीपुरमा धान खेतमा पोखरी खनेर माछा पाल्नेहरु बढेका हुन्।
धान उत्पादन कम हुने र फलिहाले पनि जंगली जनावरले खाइदिने हुँदा यतीखेर भने सिखारीपुरका बासिन्दामा माछापालन गर्ने लहर नै चलेको छ। अहिले गाउँमा माछापालनको लहर बढेपछि ९ वर्षको विदेश बसाई छाडेर महतो पनि गाउँ फर्केका छन्।
उनले अहिले १५ कठ्ठाको जमिनमा पोखरी खनेर माछा पालन गर्न थालेका छन्। साथै उनीसँगै विदेश गएका सिखारीपुरका कैयन युवा पनि फर्केर माछापालन गर्न सुरु गरेका छन्। उनले भने ‘माछा त हात्ती र गैडाले खाइदेला भनेर डराउन परेन, जंगली हास रोक्ने त उपाय पत्ता लगाई सक्यौँ अझै थप्ने हो म त पोखरी’ महतोले भने।
१ वर्ष नबित्दै माछापालनका लागि उनले गाउँमा १३ वटा पोखरी खनिइसकेका छन् भने ९ जनाले यसलाई व्यवसायको रुपमा अपनाइसकेका छन्। माछापालन गर्ने युवाको जमातले सिखारीपुर मत्स्यपालन समूह पनि गठन गरेको छ। यो समूहले प्रत्येक किसानको लागत र आम्दानीको लेखाजोखा राख्छ। नाफा गरेको २० प्रतिशत रकम समुहलाई बुझाउनु पर्ने नियम बनाएका छन्।
समुहका अध्यक्ष धनिराम महतो भन्छन् ‘अरु पोखरी खन्नेलाई सहयोग गर्ने भनेर हामीले यो २० प्रतिशत रकम समूहमा जम्मा गर्ने निर्णय गरेका छौँ।’ गाउँभरि नै माछापालनको लहर चलाउने उनीहरुको योजना छ।
अहिले पोखरी खन्नको लागि युएनडिपीले कृषकलाई कुल लागतको ७५ प्रतिशत रकम उपलब्ध गराएको छ। २५ प्रतिशत कृषक आफैले लगानी गरेका छन्। केही कृषकले माछा बेच्न सुरु गरिसकेका छन्।
जसबाट कृषकले धानभन्दा माछाबाट राम्रो आम्दानी हुने गरेको अनुभव गरेका छन्। धानबाली छाडेर माछापालन गर्ने बढेको अध्यक्ष महतोको दावी छ। साथै धान खेतीमा जस्तो माछा पालनमा दुःख समेत गर्न नपर्ने भएका कारण यो व्यवसायमा कृषकको आकर्षण बढेको महतो बताउँछन्।



