भरतपुर । नारायणगढस्थित बसपार्कमा रहेको कलश होटलमा एक युवतीको हत्यापछि समातिएका अभियुक्त धादिङ गुम्दी गाविस–९ का २६ वर्षीय हेमबहादुर थापालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाएको थियो । चितवन जिल्ला अदालतको आइतबारको आदेशले उनलाई पुर्पक्षको लागि थुनामा पठाएको हो । न्यायाधीश सुवासबाबु पुरीको इजलासले थुनामा राखी थप अनुसन्धान गर्ने आदेश गरेको हो ।
घटना असार २६ गते भए पनि प्रहरीले असार २८ गते राति अभियुक्तलाई गिरफ्तार गरी २९ गते सार्वजनिक गरेको थियो ।
धादिङ निलकण्ठ नगरपालिका वडा नं.३ धादिङबेसी बजारमा रहेको अधिकारी गेष्ट हाउस एण्ड लजमा लुकीछुपी बसेको अवस्थामा अभियुक्तलाई प्रहरीले पक्राउ गरी चितवन ल्याएको थियो ।
असार २६ गते लमजुङ बाहुनडाँडा गाविस वडा नं.५ घर भई हाल भरतपुर उपमहानगरपालिका–१६ मंगलपुर बस्ने २७ वर्षीया रिता भुजेलको हत्याका अभियुक्त थापालाई होटलको सीसीटिभी फुटेजको सहायतामा पक्राउ गर्न सफल भएको चितवन प्रहरीले जनाएको छ ।

साभार : चितवन पोष्ट दैनिक 
 
Top