नारायणगढ । यस वर्षको अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा ५० भन्दा बढी मानिसको मृत्यु हुनुको साथै सयौँ घरपरिवार विस्थापित हुन पुगे ।
बाढीपहिरोको कारण बिचल्लीमा परेका ती मानिसहरुलाई सहयोग चितवनका केही युवा पनि राहत संकलन अभियानमा सक्रिय भएका छन् ।


‘ब्रदर्श नेपाल’ र ‘परिवर्तनका लागि जोडिएका हातहरु’ लगायतका संस्थामा आबद्ध युवाहरुले शुक्रबार नारायणगढको सहिदचोकमा बाढीपीडित सहयोगार्थ सडकमा राहत संकलन अभियानमा जुटेको देखियो । राहत संकलन कार्यक्रममा केही सामाजिक सञ्जाल फेसबुक ग्रुपका सदस्यहरु पनि सहभागी भएका थिए । जसमा डब्लुआरआर, दाह्री ग्याङ, वुमेन्स वारियर्स, टिन्स, नेप्लिज युथ नेटवर्क, बोइज एण्ड गर्लस्लगायतका फेसबुक ग्रुपका सदस्यहरु सहभागी रहेका थिए । अभियानबाट उठेको रकम बाढीबाट अत्यधिक क्षति भएका स्थानका मानिसहरुलाई सहयोग गरिने ब्रदर्स नेपालका सहसचिव नविन अधिकारीले बताए ।
सडक राहत संकलन ५ दिनदेखि काठमाडौँमा सञ्चालन भइरहेको र शुक्रबारदेखि चितवन र इटहरीमा सञ्चालन गरिएको उनले बताए । बिहीबारको राहत संकलनबाट चितवनमा २५ हजार ७४५ र इटहरीमा १८ हजार ५ सय रुपैयाँ संकलन भएको अधिकारीले जानकारी दिए । सो राहत संकलन अभियान आज शनिबार र आगामी सोमबार पनि जारी रहने उनले बताए ।


डब्लुआरआर नामक फेसबुक ग्रुककी सदस्य धर्मचोक निवासी प्रज्ञा खरेलले बाढी पहिरोका कारण घरबारविहीन भएकाहरुको लागि सानो सहयोग गर्ने प्रयासमा लागेको बताइन् । आफूहरुले गरेको सानो सहयोगले पीडामा रहेकाहरुलाई केही राहत पुग्ने आशा लिएको उनले बताइन् । त्यस्तै वुमेन्स वारियरकी सुजाता दवाडीले बाढीपहिरोका कारण भएको जनधनको क्षतिको समाचारले आफूहरु मर्माहत भएको बताइन् । त्यसैकारण यस्ता क्षतिग्रस्त स्थानमा पुगेर सहयोग गर्न जुटेको उनले बताइन् ।
आफूहरुले राहत संकलन गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेको जीआरआरकी सदस्य संगीता पाण्डेले बताइन् । ‘हामी यो सामाजिक कार्य गर्दैछौँ’ उनले भनिन्, ‘अहिलेका युवा भएर हामीले नगरे कसले गर्छ त ? सबै युवा मिलेर लागे हामीले धेरै परिवर्तन गर्न सक्छौँ । र, यसको सुरुवातमा हामी लागेका छाँै ।’ सानो भए पनि सहयोग गरेर दुःखमा रहेका मानिसहरुको लागि मुहारमा हाँसो ल्याउने उद्देश्यका साथ अभियानमा जुटेको उनले बताइन् ।


साभार : चितवन पोष्ट दैनिक 
 
Top