समस्या परे कहाँ र कसलाई सम्पर्क गर्ने ?

साउदीको निर्माण कम्पनी ‘साउदी ओजिर’मा कार्यरत ४१ कामदारले जनवरीदेखि तलब पाउन सकेका छैनन्। केही क्याम्पहरुमा  यही जुलाइको अन्तिम सातादेखि कामदारले खाना खाने ‘मेस’ बन्द भएको छ।

यो सँगै नियमित रुपमा आउने समस्या भने नेपाली कामदारले भोगिरहेका छन्।  नेपाली कामदारले समस्या भोगिरेहको क्षेत्र महावाणिज्य दूतावासकै कार्यक्षेत्रभित्र पर्दछ। जनवरीदेखि समस्यामा परेका नेपालीहरुको अहिले उद्धार सुरु गरिएको सम्वन्धित अधिकारीहरुको भनाई छ।

भारत सरकारले त्यहाँ रहेका आफ्ना नागरिकले पाएको समस्याको पहिचान गरी उद्धार थालेपछि नेपालले पनि पहल गरेको हो।  साउदीमा करिब ५ लाख भन्दा बढी नेपाली रहेका छन्। गत वर्ष मात्रै १ लाख ५ हजार भन्दा बढी नेपाली रोजगारीको लागि साउदी पुगेका थिए।
 
यो समस्या तत्काल निम्तिएको समस्या भने होइन। विगत एक वर्षदेखि सीमा क्षेत्र र विश्वबजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण साउदी सरकार आर्थिक संकटमा छ। आर्थिक संकटमा पर्दै गर्दा त्यहाँ रहेका बहुराष्ट्रिय कम्पनीहरु समेत बन्द भइसकेका छन्। साना साना कम्पनीहरु पनि ठूला ठूला कम्पनी बन्द भएसँगै आर्थिक समस्या भोग्न थालिसेकेका छन्।

हाल साउदी सरकारले निर्यात भन्दा आयात बढी गरिरहेको छ। जसको सुरक्षाको लागि शैन्य खर्च बढ्दा देश ठूलो आर्थिक संकटमा फँसिरहेको छ। विकास बजेट कटौति भएसँगै विनलादेन जस्ता ठूला कम्पनी पनि बन्द भइसकेका छन्।

अहिले साउदीको अन्य कम्पनी भन्दा पनि निर्माण कम्पनीहरु बढी समस्यामा छन्। कतिपय कम्पनी बन्द भइसकेका छन्। विनलादेन जस्तो ठूलो निर्माण कम्पनी बन्द हुँदा नेपाली लगायत अन्य देशका गरी ५० औं हजार कामदारले रोजगारी गुमाउनु परेको थियो।

नेपाली कामदार रहेको अर्को निर्माण कम्पनी ओजीरले अहिले आर्थिक संकट भोगिरहँदा ४१ नेपाली कामदारले जनवरीदेखि तलब पाउन सकेका छैनन्।  यद्यपी श्रम तथा रोजगार मन्त्रालयले भने तत्काल ठूलो समस्या नदेखिएको भन्दै आउन सक्ने जोखिमप्रति सजग रहेको जनाएको छ।

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने जिम्मेवारी पाएको वैदेशिक रोजगार विभागले केही नेपाली कामदार पनि समस्यामा परेको खबर आएको जनाउँदै  समाधानको लागि पहल थालिएको बताएको छ। ‘साउदीमा विदेशी श्रमिक समस्यामा परेका छन्, त्यहाँ नेपाली पनि रहेकाले हामीले म्यानपावर कम्पनीहरुलाई पनि खबर गरेका छौँ’, विभागका महानिर्देशक शत्रुधन पुडासैनीले सेतोपाटीसँग भने।

आफूहरुले ‘ब्यूरोक्रेटिक’ तहमा गर्नेजति पहल गरिरहे पनि सरकार परिवर्तनका कारण राजनीतिक तवरबाट पहल नभएकोले प्रभावकारी कदम चाल्न नसकिएको उनले गुनासो गरे।

कामदारको उद्धार गर्न महावाणिज्य दूतावासले अगष्ट १ देखि समस्यामा परेका ४१ कामदार र अन्य कामदारलाई खानाको प्रबन्ध गरिएको जनाउँदै साउन २४ गते विज्ञप्ति निकालेको छ। महावाणिज्य दूतावासले ओजिर कम्पनीमा कार्यरत ४१ जना  नेपाली मध्ये ६ जनालाई नेपाल फिर्ता गरिसकेको जनाएको छ। साथै यस कम्पनीमा कार्यरत कामदार तत्काल नेपाल फर्कन चाहेमा निशुल्क  सहयोग गर्ने समेत जनाएको छ।

समस्यामा परेका नेपालीहरुको विषय र सहयोगका लागि साउदीको श्रम मन्त्रालय मक्का शाखासँग छलफल भइरहेको समेत  दूतावासले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
साथै दूतावासले अन्य कम्पनीमा जान चाहनेका लागि समेत  महावाणिज्य दूतावासबाट समन्वय भइरहेको छ।

दूतावासले ओजिर कम्पनी आर्थिक संकटमा परेर बन्द भएकाले पनि कम्पनीमा कार्यरत नेपाली तथा विदेशी नागरिकहरुलाई  स्वदेश फर्काउन  साउदी सरकारले आवश्यक सहयोग गर्ने जानकारी भएको जनाएको छ।

समस्यामा परेका ओजिर तथा अन्य कम्पनीमा कार्यरत नेपाली कामदारको उद्दार गर्न परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयबाट समेत आवश्यक निर्देशन र समन्वय भइरहेको छ। श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल  मन्त्रालयले समस्यमा परेका  कामदारको उद्धार गर्न कुनै कसर बाँकी नराख्ने बताए।

साउदी अरबका विभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारले कुनै अप्ठेरो अवस्था भोग्नु परेमा दूतावास रियादका अलवा महावाणिज्यदुतावासका विभिन्न नम्बरमा सम्पर्क गर्न समेत नेपाली दूतावासले आग्रह गरेको छ।

नेपाली दूतावास रियाद 


कार्यवाहक  राजदुत आनन्द प्रसाद शर्मा
०११४६१११०८
०५३५८२१५२८

काउन्सेलर अम्बिका प्रसाद अधिकारी
०११४६१११०८
०५९९३९३४५९


नेपाली महावाणिज्य दुतावास जेद्दा


कार्यबाहक महावाणिज्यदुत रेवती पौडेल
०१२६२२६६६५
०५९४९८९५८७

श्रम सहचारी
०१२६२२६६६५
०५०४५०९१८१
 
Top