खाना पकाउने एलपी ग्यास प्रयोगमा उपभोक्ता ठगिएको पाइएको छ । नेपाल आयल निगमले तोकेको भन्दा बढी मूल्यमा सिलिण्डर ग्यास बिक्री गरेको पाइएपछि उपभोक्ता ठगिएको प्रष्ट भएको हो ।
पूर्वी चितवनको खैरहनी र राप्ती नगरपालिकाका सवडिलरहरुले उपभोक्तामाथी ठगी गरिहेका हुन् । जिल्ला प्रशासन कार्यालय चितवन र ग्यास बिक्रेता संघ चितवनले शुक्रवार गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । अनुगमनका क्रममा सबडिलरहरुले नेपाल आयल निगमले तोकेकोभन्दा २० रुपैयाँ बढी मूल्यमा ग्यास बिक्री गरेको पाइयो । नेपाल आयल निगमले प्रति सिलिण्डर ग्यास १ हजार ३ सय ५५ रुपैयाँमा बिक्री गर्न भनेको छ । तर, पूर्वी चितवनमा १ हजार ३ सय ७५ रुपैयाँमा सबडिलरहरुले ग्यास बिक्री रहेका छन् ।
आयल निगमले उपत्यकामा मात्रै १ हजार ३ सय ७५ रुपैयाँ मूल्य तोकेको छ । १ हजार ३ सय ५५ भने उपत्यका बाहिर चितवनदेखि पूर्वका तराईका जिल्लामा लागू हुन्छ । शुक्रबार खैरहनी र राप्ती नगरपालिकाका विभिन्न स्थानमा करिब १ दर्जन सबडिलरहरुमा अनुगमन गरिएको थियो । अनुगमन गरिएका सबै डिलरले बढी मूल्यमै ग्यास बिक्री गरेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्माले जानकारी दिए ।
“ग्यास विक्रेताबाट उपभोक्ता प्रत्यक्षरुपमा ठगिएको भन्ने गुनासा थियो”, बजार संरक्षण अधिकृत शर्माले भने, “नेपाल आयल निगमले तोकेकोभन्दा २० रुपैयाँ बढी प्रति सिलिण्डर बेचेको पाइयो । सबडिलर सञ्चालकहरुले भने ग्यास कम्पनीहरुले नै १ हजार ३ सय ७५ रुपैयाँमा बिक्री गर्न भनेकाले सोही मूल्यमा बिक्री गरेको खैरहनी मगनीचोकस्थित बुढाथोकी सप्लायर्सका सञ्चालक सूर्यबहादुर बुढाथोकीले बताए । “बिक्री मापदण्डबारे हामीलाई जानकारी छैन”, वुढाथोकीले भने, “कम्पनीले त्यही मुल्यमा बिक्री गर्न भनेको छ ।”
अनुगमनका क्रममा प्रशासनले ग्यास बिक्रीसम्बन्धी बनाएको मापदण्ड पूरा नगरेको समेत पाइएको छ । ग्यास बिक्रीका लागि ग्यासको ब्राण्डको साईन बोर्ड राख्नुपर्ने, मूल्यसूची राख्नुपर्ने, फायर फाईटिङ मेसिन राख्नुपर्ने, ग्यास प्रयोगसम्बन्धी तालिम लिनुपर्ने र ग्यास बिक्री स्थलमा १ सय वटा ग्यास सिलिण्डर बिक्रीका लागि राख्नुपर्ने रहेका छन् । तर, ती मापदण्ड कसैले पूरा गरेका छैनन् । मापदण्ड पूरा गरेर मात्रै ग्यास बिक्री गर्न अनुगमनका क्रममा निर्देशन दिइएको बजार संरक्षण अधिकृत शर्माले बताए । अनुगमनका क्रममा ग्यास कम्पनीहरुले खुद्रासमेत बिक्री गरेको पाइयो । अनुगमन टोलीले खैरहनी नगरपालिकाको जोशी टे«डर्स, बुढाथोकी सप्लायर्स, न्यू पवन हार्डवेयर, न्यू जानकारी स्टोर्सलगायत एक दर्जन सबडिलरको अनुगमन गरेको थियो । बजार संरक्षण अधिकृत शर्माको नेतृत्वमा ग्यास बिक्रेता संघ चितवनका अध्यक्ष जीवन श्रेष्ठ, सचिव शालिकराम पौडेल, संघका संस्थापक अध्यक्ष विष्णु पौडेल, प्रहरी र पत्रकारको उपस्थितिमा अनुगमन गरिएको थियो ।
म्याद नाघेका सिलिण्डर बरामद
चितवनमा रहेका ग्यास कम्पनीहरुले मिति नाघेका सिलिण्डरमा ग्यास भरिरहेको अवस्थामा बरामद गरिएको छ । शुक्रबार सबडिलरसहित ग्यास कम्पनीहरुमा गरेको अनुगमनका क्रममा मिति सकिएको सिलिण्डर प्रयोग गरेको पाइयो ।
खैरहनीस्थित नारायणी ग्यास कम्पनी र साईबाबा ग्यासले मिति नाघेको केही सिलिण्डरमा ग्यास भरेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्माले जानकारी दिए । एउटा सिलिण्डरको आयु कम्तीमा १० वर्ष हुने भएपनि पुन परीक्षण नगराई सिलिण्डर प्रयोग गरेको अवस्थामा बरामद गरिएको बजार संरक्षण अधिकृत शर्माले जानकारी दिए ।
बरामद गरिएको मिति नाघेको सिलिण्डरको ग्यास तत्काल खाली गर्न बजार संरक्षण अधिकृत शर्माले निर्देशन दिएका छन् । वजारमा मिति नाघेको ग्यासको सिलिण्डर फेला पारेमा कारवाही गर्ने शर्माले चेतावनी दिए । सिलिण्डरमा ए, बी, सी र डी गरी चार किसिमले मिति उल्लेख गरिएको हुन्छ । मिति नाघेको सिलिण्डर प्रयोग गरेमा जस्तोसुकै बेला पनि पड्किएर दुर्घटना हुनसक्छ ।
