काठमाडौं, साउन २७- तेलको मुल्यमा आएको गिरावटका कारण अहिले साउदीका कम्पनी धरमरमा परेका छन् । बन्द हुने अवस्थामा पुगेपछि ती कम्पनीले कामदारको तलव समेत दिन सकेका छैनन् ।
धेरै आप्रवासी कामदारको साउदीमा विचल्ली भएको छ । केहि देश आफैं गएर उद्धार गरेका छन् । त्यहाँबाट फर्किने कामदारको संख्या बढ्न थालेको छ । साउदीमा झण्डै ९ लाख नेपाली रोजगारीको लागि गएपनि फर्किनेको तथ्याँक नहुँदा त्यहाँ कति नेपाली छन् भन्ने यकिन छैन ।


साउदी सरकारले भने आप्रवासी कामदारलाई घटाउँदै जाने नीति लिएको छ । साउदी सरकारले सन् २०३० सम्ममा ४० लाख आफ्नै नागरिकलाई रोजगारी दिने तयारी थालेको छ । ‘साउदी भिजन २०३०’ अन्तरगत साउदीका निजि कम्पनीलाई यो अवधिमा ४० लाख नागरिकलाई रोजगारी दिलाइसक्न कडा निर्देशन दिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । आफ्नै ८० लाख नागरिकलाई सार्वजानिक र निजि क्षेत्रमा रोजगारी दिलाउन साउदीकै लागि चुनौती भएको एक अध्ययनले देखाएको छ । साउदीमा वार्षिक तीन लाखले अध्ययन पुरा गरेपनि झण्डै एक लाख ५ हजार जनाले मात्रै रोजगारी गर्ने देखिएको छ । करिव ६४ लाख साउदी नागरिक निजि र सार्वजानिक क्षेत्रमा कार्यरत छन् । साउदीका निजि कम्पनीमा १६ प्रतिशत मात्रै कार्यरत छन् ।

सैनिक उद्योगमा ९५ हजार पुर्‍याउने 
रिपोर्ट अनुसार साउदी नागरिकलाई उद्योग क्षेत्रमा आवद्ध गराउन सुझाव दिएको छ । साउदीका सैनिक उद्योगमा एक लाख ९० हजार कामदार मध्य त्यहाँका नागरिक ४ हजार मात्रै कार्यरत छन् । यस क्षेत्रमा आफ्नै नागरिकलाई आवद्ध गराउन जोड दिइएको छ । यसका लागि तत्काल काम थाल्न भनिको छ । यस क्षेत्रमा साउदीले आफ्नै ९५ हजार नागरिकलाई काम लगाउने योजना बनाएको छ ।


स्वास्थ्य क्षेत्रमा आप्रवासी विस्थापित गर्ने
स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्ममा यस क्षेत्रमा आप्रवासी कामदार विस्थापन गरिसक्ने जनाएको छ । यसका लागि साउदीका नागरिकलाई तालिम दिने र अन्य देशका नागरिक विस्थापित गर्दै जाने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ । एक लाख साउदी नागरिकलाई स्वास्थ्य क्षेत्रमा आवद्ध गराउने योजना अनुसार काम सुरु भएको छ । स्वास्थ्य क्षेत्रलाई साउदीकै नागरिकको लागि विषेश बनाउने रोजगार दिने योजना छ । अहिले ८१ हजार ५ सय ३२ जना डक्टर साउदीमा कार्यरत छन् । साउदीका १९ हजार २९ जना डक्टर मात्रै साउदीका छन् । डेन्टिस्ट १२ हजार ७ सय ५० छन् । एक लाख ६५ हजार ३ सय २४ नर्स मध्य ६१ हजार ५ सय साउदीका नागरिक छन् । २२ हजार २ सय ४१ जना फार्मसिस्ट मध्य ४हजार ५ सय ८१ जना साउदीका छन् ।
साउदीका मेडिकल क्षेत्रमा ९४ हजार ९ सय ६० जना कामदार कार्यरत छन् । यस मध्य ६८ हजार ९ सय ४० जना साउदीका छन् । साउदीको योजना अनुसार अब अन्य देशका कामदारले यस क्षेत्रमा रोजगारी गुमाउँदै जाने र साउदीका नागरिक थपिंदै जानेछन् ।


सञ्चार क्षेत्रमा आप्रवासीलाई बन्देज 
श्रम मन्त्रालयले दुरसञ्चार क्षेत्रमा आप्रवासी कामदार नलिन निर्देशन दिएको छ । आगामि सेप्टेम्बर ३ सम्ममा सबै कामदार साउदीकै हुनुपर्ने र आप्रवासी कामदार विस्थापित गरिसक्न निर्देशन दिएको छ । यी क्षेत्रका सबै तहमा साउदीकै नागरिकलाई रोजगारी दिन श्रम मन्त्रालयले निर्देशन दिएको छ ।
दूरसञ्चार क्षेत्रमा आउन चाहने नागरिकलाई सहजै रोजगारी दिने साउदीले जनाएको छ । तर आप्रवासीलाई विस्तारै हटाउँदै लगिने छ । यसका लागि निःशुल्क तालिमको समेत व्यवस्था गरेको छ । तालिम सकेपछि उनीहरुले रोजगारी पाउने छन् । रोजगारी नगर्नेले आफैं व्यवसाय सञ्चालन गर्न पाउने छन् । प्राविधिक शिक्षालयले देशभर तालिम सञ्चालन गरेका हुन् ।तर यो निर्णयसँगै नकरात्मक प्रभाव पनि देखिन थालेको छ । सरकारको निर्णयका कारण केहि कम्पनी कामदार नपाएर बन्द हुने अवस्थामा पुगेका छन् । आप्रवासी कामदारको भरमा चलेका कम्पनी आफ्ना देशका नागरिकले काम गर्न नरुचाएका कारण बन्द गर्नु परेको बताएका छन् । 
 
Top