चितवन, असार १९– खोला तथा नदीको आसपासमा बसोबास गर्ने बोटे समुदाय वर्षायाम शुरु भएसगैं जोखिमपूर्ण जिवनयापन गर्न बाध्य भएका छन् । माछा मारेर दैनिक गुजारा चलाउने बोटे समुदाय वर्षायाम शुरु भएपछि आफ्नो पेशा संकटमा पर्ने बताउँछन् । तर उनीहरु रहरले नभई बाध्यताले आफ्नो पेशा लोप हुने हो कि भन्ने चिन्तामा रहेका छन् ।


माछा मारेर बेचेकै भरमा उनीहरु दैनिक गुजारा चलाउने गरेका छन् भने माछा मार्ने परम्परागत पेसा अझै छोड्न सकिरहेका छैनन् । चितवनमा भएर बग्ने नारायणी र राप्तीजस्ता नदी तथा अन्य खोलाको आसपासमा बसेर परम्परा धान्न र माछा मार्ने पेशामा निर्भर हुन बोटे समुदाय बाध्य छन् । वर्षाको समय शुरु भएसंगै सो आसपासमा बाढि र पहिरोको उच्च जोखिम रहन्छ भने उनीहरुको माछा मार्नु बाहेक अन्य पेशाको बिकल्प नहुँदा मर्कामा पर्ने गरेका छन् । गुजारा चलाउन बोटे समुदाय बिहान ४ बजे जालको साथमा डुङ्गा लिई परिवारसंग नारायणी नदीमा माछा मार्न जानु पर्ने बाध्यात्मक परिस्थिति रहेको बोटे समुदायले बताएका छन् ।





माछा मार्नुको बिकल्प अरु नहुँदा सो समुदायका युवाहरु विदेश पलायन समेत भएको र अन्य पेशामा आवद्ध हुँदै गएको बोटे अगुवाहरुले बताएका छन् । वर्षायाममा नारायणी नदीमा माछा मार्दा निकै जोखिम भोग्नु परेको समुदायका अगुवा मित्रलाल बोटे बताउँछन् । पुर्खाको परम्परालाई आफुहरुले धानेर बस्न अहिलेको परिस्थितिमा आफुहरुलाई निकै गाह्रो भएकाले पेशा परिवर्तन गर्ने सोँचमा रहेको उनीहरु बताउँछन् । चितवन राष्ट्रिय निकुञ्जको स्थापना अघिसम्म बोटे समुदाय माछा मारेर आम्दानी गर्नु, निकुञ्जभित्र साग र सिस्नु टिपेर बेच्दै दैनिक गुजारा चलाउनु बोटे समुदायको दैनिकी थियो ।


तर, निकुञ्ज स्थापना भएपछि आफूहरूले सहज रूपमा माछा मार्न नपाएको उनीहरूको गुनासो छ । परम्परागत पेशा जोगाउनका लागि अन्य नदी तथा खोला धाउनुपर्ने आफुहरुको बाध्यता रहेको बोटे समुदायको भनाई छ । पुर्खाहरुले गर्दै आएको परम्परागत पेशा धरापमा रहेकाले गुजारा चलाउन गाह्रो हुन थालेपछि सो समुदायका नयाँ पुस्ता माछा मार्न छाडेर अन्य विकल्पको खोजीमा लागेको उनीहरूको भनाई छ ।नारायणी अनलाईन बाट साभार






 
Top