शंकर निर्देश । श्रावण १६ गते, चित्रवन ।।
चित्रवन नगरपालिका स्थित चन्द्रनगरमा रहेको रंगशाला प्याराफिट जगको शिलन्यास गरिएको छ । आईतबार चित्रवनमा आयोजित एक औपचारिक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकूद विकास समितिका अध्यक्ष गंगालाल लामाले पुजा गरेर रंगशालाको विधिवत रुपमा शिलन्यास गर्नुभयो । रंगशाला न्यूनतम ५० लाख रुपैया भन्दा बढीको खर्चमा निर्माण गर्न लागिएको चित्रवन युवा तथा खेलकूद विकास समितिका अध्यक्ष विजय घलेले जानकारी दिनुभयो ।
करीब १० विगाहा क्षेत्रफलमा निर्माण गर्न लागिएको रंगशालामा फुटबल खेलका लागी मात्रै १० मिटरको चौडाई र ९५ मिटरको लम्बाई रहनेछ । रंगशाला निर्माणको जिम्मा भने चित्रवन युवा तथा खेलकूद विकास समिति अन्तर्गत गठन भएको चित्रवन खेलकूद मैदान निर्माण उपभोक्ता समितिले लिएको छ । आफुहरुको संस्थालाई रंगशाला निर्माणका लागी राष्ट्रिय खेलकूद परिषद् ( राखेप ) बाट मात्रै १० लाख रुपैया प्रँप्त भईसकेको बताईएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकूद विकास समितिका अध्यक्ष गंगालाल लामाले चितवनमा अहिलेसम्म स्तरिय रंगशाला नभएकोले आफुहरुले चित्रवन नगरपालिकामा स्तरिय रंगशाला निर्माणका लागी पहल शुरु गरेको जानकारी दिनुभयो । जिल्लामा नै एउटा मात्रै पनि स्तरिय रंगशाला बनेमा यसले समग्र खेलकूद क्षेत्रको विकासमा टेवा पुग्ने उहाले बताउनुभयो । कार्यक्रममा बोल्दै स्थानिय चन्दादाता एवम् क्लिनिक नेपालका अध्यक्ष हरि भण्डारीले खेलकूद क्षेत्रको विकास र चित्रवन नगरपालिकाको पहिचानका लागी सो क्षेत्रमा रंगशाला निर्माणको काम शुरु गरिएको बताउनुभयो । कार्यक्रममा चितवन जिल्ला खेलकूद विकास समितिका सदस्य प्रकाश तामाङ, चित्रवन खेलकूद मैदान निर्माण उपभोक्ता समितिका उपाध्यक्ष मेनुका गुरुङ, सचिव मनि कुमार तामाङ, कोषाध्यक्ष बलराम अधिकारी, संरचना समितिकी अध्यक्ष जगमाया तामाङ, समाजसेवी, बुद्धिजिवि, स्थानियबासी, खेलकूद खेलाडी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम चित्रवन खेलकूद मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष टिएम गुरुङको अध्यक्षतामा भएको हो ।

