पर्साको ठोरीमा हात्ती आतङ्क तीन ओटा घर भत्कायो
भदौ ९– चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको एक बथानले पर्सा जिल्लाको ठोरी गाउँमा आतङ्क मच्चाउन थालेपछि त्यस भेगका स्थानीयवासी आतङ्कित भएका छन् । रातको समयमा गाउँ पसेका जङ्गली हात्तीको उक्त बथानले स्थानीयवासीको घर भत्काउनुका साथै धानबाली नष्ट गर्न थालेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । बुधबार साँझ गाउँ पसेका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीयवासीका तीनवटा घर भत्काउनुका साथै धानबाली नष्ट गरेको प्रहरी नायब उपरीक्षक टलकबहादुर भण्डारीले बताउनुभयो । ती जङ्गली हात्तीको बथानले ठोरी–३ बस्ने बुद्धिमान गोले, कालुमान तामाङ र पूरक विकको घर भत्काएर क्षति पुर्याएको छ । हात्ती आतङ्क बढेपछि स्थानीयवासी रातमा जाग्राम रहेर हात्ती धपाउने गरेको प्रहरीले जनाएको छ । –रासस
