चितवन, साउन १७–
चितवनको नारायणगढमा हुन लागेको ‘चौथो नेपाल कप’ फुटबल प्रतियोगितामा ५ वटा ‘ए’ डिभिजन क्लब सहभागी हुने भएका छन् । आगामी साउन २४ गतेबाट नारायणगढको क्याम्पाचौरमा आयोजना गर्न लागिएको प्रतियोगितामा तीन विभागीय टिमसहित ५ ए डिभिजन क्लब र विभिन्न जिल्लाका क्लबहरु ५ गरी कूल १० टिम सहभागी हुने छन् ।
प्रतियोगिताको पुरस्कार राशी पनि बढाइएको छ । यसअघि प्रथम पुरस्कार १ लाख प्रदान गर्ने भनिएकोमा आयोजक स्पोर्टस् फर अल क्लब नेपाल र नेपाल खेलकुद संघले यसलाई बढाएर ३ लाख पुर्याइएको छ । त्यस्तै दोस्रो पुरस्कार २ लाख दिइने आयोजक नेपाल खेलकुद संघका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिए ।
प्रतियोगितामा ‘ए’ डिभिजन क्लबहरु नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, एनआरटी क्लब र ब्वाइज युनियन क्लबको साथमा चितवनको नारायणगढ फुटबल क्लब (एनएफसी) र एभरेष्ट क्लब चितवन, रौतहट जिल्ला फुटबल संघ, रुपन्देही–११ र वीरगञ्ज युथ क्लब सहभागी हुने अध्यक्ष शाहीले जानकारी दिए । प्रतियोगिता साउन २४ देखि ३१ गतेसम्म सञ्चालन गरिनेछ । प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएका छन् ।
समूह ‘ए’ मा नेपाल आर्मी, एनएफसी, एनआरटी, रुपन्देही–११ र ब्वाइज युनियन छन् भने समूह ‘बी’ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वीरगञ्ज युथ, एभरेष्ट क्लब चितवन र रौतहट रहेका छन् । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा पहिलो चरणमा एनआरटी र नेपाल पुलिसले बाई पाएका छन् ।
प्रतियोगिताको पहिलो संस्करण २०७० फागुनमा जनकपुरधाममा गरिएको थियो । त्यस्तै दोस्रो र तेस्रो संस्करण २०७१ बैशाख र २०७२ बैशाखमा इलामको फिक्कलमा गरिएको थियो ।
मोफसलका खेलाडीहरु छायामा परेकाले केन्द्रीय टिमहरुसँग प्रतिस्पर्धा गराई उचित मौकाको सिर्जना गर्नका लागि यो प्रतियोगिता चितवनमा आयोजना गरिएको शाहीले जानकारी दिए ।
 
Top