नागेन्द्र यादव/खोटाङ ।
साउन १६– खोटाङको रतन्छा १ की मिश्रा राईले कल्पनै गर्नु भएको थिएन कि कमाउन गएको छोराको यस्तो खबर आउला । बुढेसकालको सहाराले यति छिट्टै छाडेर जाला । तर उहाँले नसोचेकै खबर आयो, ‘नर्वे हिँडेका दिपकको फिनल्याण्डमा ज्यान गयो ।’ दिपकसँगै गएका चितवनका इन्द्र भुसालले सुतेकै ठाउँमा दिपकको ज्यान गएको खबर फोनबाट सुनाए ।
२०७२ साल पुसमा फिनल्याण्ड हुँदै नर्वेका लागि घरबाट बाटो लागेका थिए । तर चार महिनापछि वैसाखमा आएको मृत्युको खबर पत्याउनै गाह्रो भैरहेको छ मिश्रालाई । नर्वेका लागि भिसा नलागेपछि चारमहिना देखि फिनल्याण्डमै पर्खिरहेका थिए । नर्वे जाने आशमा बसेका दिपक गन्तव्यमा त पुग्न पाएनन् नै उनको शव समेत नेपाल आउन सकेन ।
नर्वेको रोजगारीको आश देखाएर सात लाख रुपैयाँ लिएको सांग्रिला कन्सल्टेन्सिले दिपकलाई नर्वे पुर्‍याउन त सकेन अहिलेसम्म उनको शव नेपाल ल्याउन समेत सहयोग गरेन । न त अरु कसैले सहयोग गरेका छन् । एनआरएन फिनल्याण्डलाई शव नेपाल पठाउन सहयोग मागिएको छ । तर भरपर्दो जवाफ आएको छैन ।

७५ वर्षे मिश्राले छोराको शव ल्याउन सामीको सूचना केन्द्रमा निवेदन दिनुभयो । सामीले एनआरएनसँग आग्रह गरिरहेको छ । अवैधानिक रुपमा विदेशिएका कारण पनि दिपकको शव ल्याउन गाह्रो भएको हो ।
एनआरएन फिनल्याण्डका अध्यक्ष वालकृष्ण श्रेष्ठले ‘साढे आठ हजार युरो लाग्छ, परिवारले पैसा पठाउन सक्छन् भने शव नेपाल पठाइदिन्छौं, होइन भने यहिँ अन्त्यष्टि गरिदिन्छौं’ भन्नुभयो ।

तर ‘आमा चिन्ता नगरिबस्नु परदेशमा भएपनि म हेर्छु, खर्च पठाउँछु ’ भन्दै बाटो लागेको छोराको शव भएनी हेर्न मन छ मिश्रालाई । छोराको दुःखद खबर आएदेखि आँसु रोकिएका छैनन् । मन उतै छ । ज्यान झन् झन धराप हुँदै छ । ‘आफू मर्दा अन्त्य गर्ने छोराले पहिल्यै छोडेर गयो, रपनि हेर्नै नपाउने यो कस्तो दूरदसा ?’ मिश्रा रुदै भन्नुहुन्छ, ‘मलाई विश्वास नै लागेको छैन ।’
श्रीमानको आन्द्राको क्यानसरका कारण पाँच वर्ष पहिल्यै ज्यान गएको थियो । पाँच छोरी र चार छोरा भएपनि माइलो छोरा दिपक साथमा बस्दै आएका थिए । अरु घर बाहिरै बस्छन् ।  विदेश हिँड्ने बेलामा त माइली बुहारी पनि साथमै थिइन् । तर दिपकको ज्यान गएपछि अहिले उनले पनि छाडेर गइन् । रतन्छामा मिश्रा छोराको शव पर्खिरहनु भएको छ ।

साभार : उज्यालो अनलाईन 
 
Top