" ट्रकको नम्बर प्लेटमात्र भेटिएको छ । सडकबाट झण्डै २ सय मिटर त्रिशूली नदीमा खसेको ट्रकको अन्य कुनै पनि भाग भेटिँदैन । ट्रकका चालक र सहचालक बेपत्ता रहेको चितवन ट्राफिकको भनाइ छ ।
भैरहवाबाट काठमाडौँ जाँदै गरेको ना.३ख ६०१७ नम्बरको मालबाहक ट्रक शुक्रबार दिउँसो कुरिनटारनजिकै त्रिशूली नदीमा खस्दा चालक र सहचालक बेपत्ता छन् । "

भदौ २४ गते बिहान ११ बजेको समयमा दारेचोक गाविस–३ स्थित घोप्टेभीरबाट ट्रक सीधै त्रिशूलीमा खस्दाको घटना विवरण उतारेपछि ट्राफिक प्रहरी चितवनका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले माथि उल्लेखित विवरण जानकारी गराएका थिए ।
जुगेडीदेखि मुग्लिन र मुग्लिनदेखि मौवाखोलासम्मको सडक क्षेत्र पछिल्लो दुई हप्तामा निकै खतरायुक्त क्षेत्रको रुपमा देखिएको छ । चालकको लापरबाही वा बाटोको अवस्था जेसुकै कारण भए पनि मानिसले ज्यान गुमाइरहेका छन् । अनि थुप्रै अङ्गभङ्ग पनि भएका छन् ।
ट्राफिकका अनुसार पन्ध्र दिनको अवधिमा त्रिशूली नदीमा ४ वटा गाडी खसेको छ । जसमा ३ वटा ट्रक र एउटा बस रहेको छ । चारवटा दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । दुर्घटनामा परी बेपत्ता हुनेको सख्या १२ रहेको ट्राफिक प्रहरी चितवनले जनाएको छ ।

त्रिशूली नदीको काखबाट खनिएको बाटोमा पछिल्लो समय दैनिकजसो दुर्घटना हुने गरेको छ । भैरहवाबाट काठमाडौँ जाँदै गरेको ना३ख ६०१७ नम्बरको मालबाहक ट्रक शुक्रबार दिउँसो कुरिनटारनजिकै त्रिशूली नदीमा खस्दा चालक र सहचालक बेपत्ता छन् । भैरहवाबाट चोखोपन र कम्फ्लेक्स बोकेर जाँदै गरेको ट्रक ११ बजेको समयमा त्रिशूलीमा खसेको हो । दुर्घटनामा ट्रकचालक दाङकका कालीप्रसाद चौधरी र सहचालक प्यूठानका लाले मगर सा“झसम्म बेपत्ता भएको चितवन प्रहरी प्रमुख एसपी वसन्त कु“वरले बताए । मुग्लिनदेखि ३ किलोमिटर पूर्व कुरिनटारनजिक त्रिशूलीमा खसेको हो ।

इलाका प्रहरी मुग्लिन र सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रको टोलीले खोजी गरिरहेको छ ।गत भदौ १० गते बिहान गौरबाट पोखरा जाँदै गरेको ग१ख ३७०९ नम्बरको बस चण्डिभञ्ज्याङ गाविस ५ कालीखोलाबाट दुई सय मिटर तल त्रिशूलीमा खस्दा कास्की घर भएका चालक लोकराज पौडेल र चार भारतीयसहित २५ यात्रुको ज्यान गएको थियो । घटनामा १६ जना घाइते भएका थिए । दुर्घटनामा १० यात्रु बेपत्ता भएको भन्दै खोजतलासका लागि आफन्तले प्रहरीमा निवेदन दिएका छन् ।

त्यस्तै भदौ ११ गते भरतपुरबाट बालुवा लिएर तनहुँ जाँदै गरेको ना३ख ४५५६ नम्बरको ट्रक जलबीरेस्थित त्रिशूलीमा खस्दा ७ जना घाइते भएका थिए । घुम्तीमा अत्यधिक गतिका कारण ट्रक खसेको ट्राफिक प्रहरीले जनाएको छ ।भदौ २१ गते भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ना३ख ९९०६ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा दुईको मृत्यु भएको थियो । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका थिए ।
 
Top