कालोबजारी गरेको भन्दै भरतपुरबाट ५ जना व्यवसायी नियन्त्रणमा
भरतपुर,१३ असोज।
जिल्ला प्रशासन कार्यालय चितवनले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट ५ जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ । अधिकतम मूल्य १८ कायम भएको पानीलाई २५ रुपैयाँ मूल्य लिई बिक्री गरेको भन्दै भरतपुर केन्द्रीय बसपार्कबाट न्यू एरा प्रोभिजनल स्टोर्स, गुप्ता पान भण्डार, राधिका कोल्ड स्टोर्स, कालिगण्डकी कोल्ड स्टोर्स र आर बि सि फुड एण्ड जुस हाउस सञ्चालकलाई नियन्त्रणमा लिई थुनामा राखेको हो ।
पानीमा १०० प्रतिशतभन्दा पनि बढी मूल्य लिई व्यवसायीले कालोबजारी गरिएको भन्दै उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले गरेको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनीहरुलाई कालोबजारी ऐनअनुसार मुद्धा दर्ता गरी कारबाही गरिने भएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय चितवन र उपभोक्ता अधिकार संरक्षण मञ्चले बजारका खाद्य पसलहरुको अनुगमन गरेको छ । टोलीले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको गोदामसहित आनन्दमार्गका एक दर्जन होलसेल खाद्य पसलहरुको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक नवीन देउजाले बताए ।
अनुगमनका क्रममा साल्ट ट्रेडिङको गोदाम सुन्दर र व्यवस्थित पाइएको उनको भनाइ छ । सो क्रममा पूजा ट्रेडर्सबाट म्याद नाघेका एक दर्जन चिल्ली सस, सुरेश एण्ड ब्रदर्शबाट उत्पादन मिति नभएका १७५ प्याकेट साबुदाना, ६ सय ग्राम धनिया पाउडर, कालिका सप्लायर्सबाट ३० प्याकेट कुरमुरे, किसन सप्लायर्सबाट १० प्याकेट मम मसला नष्ट गरिएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका सचिव प्रकाश सिग्देलले बताए ।
चाडपर्वका समयमा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्ने अखाद्य वस्तु मिसावट गरी कालोबजारी गरेको हुँदा त्यसलाई नियन्त्रण गर्न अनुगमन कार्य प्रभावकारी बनाएको मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । दैनिक बजार क्षेत्र अनुगमनको कामलाई निरन्तरता दिनुपर्ने मञ्चका वरिष्ठ उपाध्यक्ष बिष्णुप्रसाद भुषालले बताए ।
