फाईल फोटो 

रत्ननगर,१९ भदौ ।
खैरहनी नगरपालिकाअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्ग व्यवस्थित हुँदा त्यसको असर भित्री सडकमा परेको छ । राजमार्ग क्षेत्राधिकारमा व्यवसाय सञ्चालन गर्दै आएका ठेलाजन्य व्यापारीहरु अहिले भित्री सडकमै व्यापार गर्दै आइरहेका छन् । त्यसको प्रत्यक्ष असर आवतजावतमा परेको छ ।
पर्सा बजारको चौबीसकोठीदेखि पुराना पर्सासम्मको सडकमा विशेषगरी यो समस्या छ । जसका कारण भित्री सडक अस्तव्यस्त बनेका छन् । गाडी आवतजावत गर्ने सडकमा व्यापार गरी बस्दा र जथाभावी होडिङ बोर्ड राख्दासमेत नगरपालिकाले खासै चासो देखाएको देखिदैन । “एक वर्षअघि मुख्य राजमार्गबाट ठेला हटायौ्र, अहिले उनीहरु भित्री सडकमा मनोमानी ढंगले व्यापार गरिरहेका छन्”, चौविसकोठी टोल सुधार समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले भने, “त्यसको असर आवतजावतमा देखियो, तत्काल हटाउन जरुरी छ ।”
चौबीसकोठीदेखि पुराना पर्सासम्मको सडक अव्यवस्थित हुँदा विशेषगरी एम्बुलेन्सलाई समस्या पर्ने गरेको उनी बताउँछन् । बाटोकै कारण २ मिनेटको बाटो पार गर्न एम्बुलेन्सलाई ५ मिनेट लाग्ने गरेको छ अधिकारीले थपे एक मिनेटमा बिरामीको ज्यान जान सक्छ । राजमार्गको छेउमा व्यापार गर्दै आएकाहरु अहिले भित्री सडकमा ठेलामा फलफुल र तरकारी बेच्न व्यस्त हुन्छन् । सडकमै मकै पोलेरै बेच्ने पनि हुन्छन् भने चटपटको ठेला पनि त्यहीं हुन्छ ।
त्यसमाथि पसलमा आउने ग्राहकको सवारीसाधन र बाटोमै ढेपेर राखिने होडिङ बोर्डले बाटो झनै साँघुरो बनाएको स्थानीय समाजसेवी मुरलीप्रसाद गजुरेलले बताए । बाटो साँघुरो हुँदा करिब एक महिना अघि एक बालिकाको मोटरसाइकलको ठक्करबाट मृत्युसमेत भएको थियो ।
सडक अस्तव्यस्त बनेपछि खैरहनी उद्योग वाणिज्य संघले व्यवस्थापनका लागि पहल सुरु गरेको छ । भित्री सडकको अवस्था देखेर संघकै पहलमा सरोकारवालाबीच छलफल भएको र छिट्टै नगरपालिकासँग पनि छलफल गरी व्यवस्थापनको काम सुरु गरिने संघका अध्यक्ष गुणराज श्रेष्ठले बताए । छलफलमा सहभागीहरु सरोकारवालाहरुले सडकमा व्यवसाय गर्नेहरुलाई हटाई ठूला सवारीसाधनलाई वैकल्पिक बाटोको प्रयोग गर्न लगाउनुपर्नेमा जोड दिए । ठूला सवारीसाधन चैनपुर चोकदेखि र भगनीचोकबाट बाइपास गराउन सकिन्छ भने फलफुल तथा ठेलाहरुका लागि नै भनेर जनज्योति हलको परिसरमा सटर राखेर कोठा बनाइएको छ । अपायक पर्ने भन्दै व्यवसायीहरु त्यहाँ जान मानेका छैनन् ।

सोमबार पनि पसल खुल्ला 

खैरहनीको पर्सा बजार सोमबार पनि खुल्न थालेका छन् । चाडपर्वलाई मध्यनजर गरी ग्राहकको सुविधाका लागि सोमबार पसल खोलिएको खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठले जानकारी दिए ।
यो निर्णय भदौको दोस्रो सातादेखि आगामी कात्तिकमा पर्ने ठूलो एकादशीसम्म मात्रै लागू हुनेछ । संघको पदाधिकारी बैठकले सोमबार बजार खुलाउने निर्णण गरेको हो । चितवनको नारायणगढदेखि पर्सासम्म सोमबार बजार, पसल बन्द हुँदै आएको थियो । खैरहनी उद्योग वाणिज्य संघले एक सूचना जारी गर्दै भदौको दोस्रो सातादेखि कात्तिकमा परेको ठूलो एकादशीसम्मको सोमबार पनि आफ्ना व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

साभार : खबर चितवन 
 
Top