यसरी गरिदैँ छ सौराहामा गैंडाका केटाको उपचार (तस्बिरसहित)
चितवन राष्ट्रिय निकुञ्जमा घाइते अवस्थामा भेटिएका गैंडाको दुईवटा बच्चा (केटा) को उद्धार गरी उपचार गरिएको छ ।
अन्य जनावरको आक्रमणबाट घाइते भएका दुई वटा केटाको उपचारपछि स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चितवन राष्ट्रिय निकुञ्जले अन्य जनावरबाट आक्रमणमा परी अलपत्र अवस्थामा रहेका गैंडाका दुईवटा बच्चालाई उद्धार गरी सौराहामा राखेर उपचार गरिरहेको हो ।
चितवनको मेघौली र नवलपरासीको अमलटारीमा अलपत्र अवस्थामा भेटिएका दुई केटालाई चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको निगरानीमा रहने गरी उपचार गरिरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताउनुभयो । एक जना चिकित्कस, दुई जना प्रविधिक र तीन जना हेरालुका साथ पाँच जनाको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
घाइते अवस्थामा मेघौलीबाट उद्धार गरिएको नौ महिनाको बच्चा र अलपत्र अवस्थामा नै अमलटारीबाट उद्धार गरिएको एक महिनाको बच्चा अन्य जनावरको आक्रमणमा परि घाइते भएको अर्यालले बताउनुभयो ।
मेघौलीमा उद्धार गरिएका गैंडाका बच्चालाई बाघले आक्रमण गरेको अनुमान गरिएको छ । अगाडिको खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा घाउ रहेको निकुञ्जका भेटनरी डाक्टर कमल गैरेले बताउनुभयो । घाइते भए पनि आहरा राम्रोसँग खाने हुँदा कुनै समस्या नपरेको उहाँले बताउनुभयो ।
अमलटारीबाट उद्धार गरिएका बच्चाको पछाडिको खुट्टामा गोहीले टोकेको बताउँदै डा. गैरेले उपचार पछि सुधार हुँदै गएको बताउनुभयो । विगतमा यस्तै अलपत्र वा घाइते अवस्थामा भेटिएका गैंडाका बच्चाको उपचार पछि सफलता मिलेको बताउँदै डा. गैरेले यी दुई बच्चालाई पनि आजको अवस्था सम्मलाई हेर्दा बचाउन सकिने बताउनुभयो । डेढ महिनाको उपचार अवधी हुने र त्यसपछि मानिसकै सेरोफेरोमा रहने गरी जंगल छाड्न सकिने बताउनुभयो । यसरी उपचार गरिएका गैंडा मानिससँग घुलमिल हुने गर्दछन् ।
अलपत्र अवस्थामा भेटेपछि केही दिन कुर्दा पनि आमा नभेटिएपछि दुबै बच्चालाई उद्धार गरिएको निकुञ्जले जानकारी दिएको छ । नदीले बगाएर आमा र बच्चालाई दुईतर्फ बनाएर अलपत्र पारेको हुन सक्ने अनुमान गरिएको छ । अलपत्र अवस्थामा भेटिएका बच्चा साउन २४ गते मेघौली सेराई होटल नजिकै करेन्ट लागेर मरेको गैँडाको बच्चा हुन सक्ने अनुमान गरिएको छ ।
साभार : उज्यालो अनलाईन




