यातायात व्यवसायीहरुले नारायणगढ बजारमा पिक एण्ड ड्रपको उचित व्यवस्था नगरि ट्राफिक ज्यादती बढेको आरोप लगाएका छन् । असार यता नारायणगढ बजारमा स्थानीय रुटमा चल्ने सवारीहरु पुलचोकसम्म पुगेर यात्रु चढाउने ओराल्ने गर्न पाएका छैनन् । अस्तव्यस्त बजारलाई व्यवस्थीत गर्ने भन्दै सर्वपक्षिय छलफलबाट बजारमा यात्रुबाहक बसका अस्थाई बसपार्कहरु समेत हटाइएको थियो । ट्राफिक प्रहरीको मनलाग्दी जरिवाना असुल्ने शैली र पार्किङ व्यवस्थापनका बारे चियापसलमा छलफल गरेको अवस्थामा प्रहरीले व्यवसायीलाई नियन्त्रण लिएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मातहतका व्यवसायीहरु आन्दोलित बनेका छन् । चितवनमा क्रियाशिल यातायात व्यवसायी समितिहरुले प्रहरी नियन्त्रणमा रहेका व्यवसायी, कर्मचारी, मजदुर, सवारीसाधन विनाशर्त नछाडे २६ गते चितवनको स्थानीय रुटमा भाडाका सवारीसाधन नचलाउने सम्मको धम्की दिदै प्रेस विज्ञप्ति जारि गरेका छन् ।

पूर्वि चितवन टेम्पो माइक्रो तथा मिनिवस व्यवसायी समितिका अध्यक्ष दामोदर शाही, नेपाल यातायात व्यवसायी समिति चितवनका अध्यक्ष मित्रराज केसी, मध्य नेपाल यातायात व्यवसायी संघ चितवनका अध्यक्ष चिनिबहादुर बोहरा, ओम शान्ती माइक्रो बस व्यवसायी संघ चितवनका अध्यक्ष प्रदीप हमाल, चित्रवन ट्याक्सी तथा मझौला यातायात व्यवसायी समिति चितवनका अध्यक्ष खड्गबहादुर गुरुङ, चितवन माइक्रो बस व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष शारदा देवकोटा, चितवन टेम्पो माइक्रो व्यवसायी समितिका उपाध्यक्ष खेम आले, चितवन यातायात व्यवसायी समिति छहारीका उपाध्यक्ष श्याम श्रेष्ठ, चौतारी यातायात व्यवसायी समितिका महासचिव विष्णुहरी रेग्मी, नारायणी यातायात व्यवसायी संघ हेटौडाका विष्णुप्रसाद पगेनीद्वारा संयुक्त रुपमा प्रेस विज्ञप्ति जारि गरिएको छ । प्रहरीले शनिबार विहान नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ नारायणी अञ्चल संयोजक कपिल पाण्डे, महासंघका जिप तर्फका वर्गीय संयोजक भुवन बराल, छहारीका अध्यक्ष बद्रीप्रसाद पौडेल, नारायणी यातायात व्यवसायी संघ चितवनका उपाध्यक्ष अशोक पोखरेललाई नियन्त्रणमा लिएको थियो ।
 
Top