भदौ १७ – त्यो बेला अस्मिताको ज्यानमा घरबाट हिँड्दाको उत्साह भन्दा पनि धेरै निराशा थियो । खोटाङको खोटाङबजार गाविस ३ की अस्मिता तीनवटा देशको सीमाना काट्दै कुवेत पुग्नुभएको थियो ।
खोटाङबजार गाविस ३ मा श्रीमान र एक छोराको सानो परिवार थियो । भन्न त सानो परिवार सुखी परिवार भनिन्छ तर अस्मिताको परिवारमा चाहिँ खुशी परेन । त्यसैले विदेश जाने सोच बनाउनुभयो । गाउँकी अस्मितालाई विदेश पुग्न अरु जस्तो गाह्रो भएन किनकी एजेण्ट गाउँकै भाउजु थिइन । ‘त्यसैले त्यतिबेला अरु केही सोच्दै सोचिन’ अस्मिता भन्नुहुन्छ ।
अस्मितासँगै हेटौंडाकी एक महिलालाई पनि लैजान ठिक्क पारेका रहेछन । अस्मिताले ती महिलालाई काठमाडौंमै भेट्नुभयो । काठमाडौं आइसक्दा पनि विदेश कसरी जानुपर्छ भन्ने कुरा थाहा थिएन अस्मितालाई । विदेश जाँदा नेपालकै विमानस्थल प्रयोग गर्नुपर्छ ।
भारतको बाटो भएर गए त्यो अवैधानिक हुन्छ । तर विदेश पठाइदिन्छु भनेर काठमाडौं ल्याएकी गाउँकी भाउजुले अस्मिता र हेटाैडाकी महिलालाई काठमाडौंबाट उडाउनुको साटो नेपालगञ्ज पठाए । गाउँबाट काठमाडौं आएका एजेण्ट नेपालगञ्ज गएनन्, गाडी चढाएर फर्किए । नेपालगञ्ज पुगेपछि उनीहरुको भेट अर्का एजेन्टसँग भयो ।
त्यहाँबाट त्यही दिन नाका पार हुँदै गर्दा सोधिने कुरामा एजेण्टले सचेत गराइसकेका थिए । अस्मिता भन्नुहुन्छ ‘उनले हामीलाई कसैले सोध्यो भने माइत जान लागेको भन्नु भनेका थिए ।’ तर उनीहरुलाई कसैले न सोध्यो न खोज्यो । त्यसैले उनीहरु नेपालगञ्जबाट बस चढे ।
खोटाङबाट नेपालगञ्ज पुगुञ्जेलसम्म केही सोधिखोजी नगरेकी अस्मिताले नेपालगञ्जबाट दिल्ली जाँदै गर्दा भने हामीलाई ‘इण्डियाबाट किन, नेपालबाट पठाउँदा हुँदैन ?’ भनेर सोध्नुभयो । एजेण्टको जवाफ आयो ‘तिम्लाई कसरी विदेश पुर्याउने भन्ने त हामीलाई थाहा छँदै छ नि ।’
त्यतिबेलै एजेन्टले नेपालबाट जाँदा रोक्न पनि सक्ने भन्दै साहुले टिकट मुम्बईबाटै काटिदिएको जानकारी दिए । दिल्लीमा तीन दिन कोठामा राखियो उनीहरुलाई । अनि मुम्बईबाट उडाइयो । तर सिधै कुवेत पुगेनन् । श्रीलङ्का र कतार हुँदै तीन दिनमा कुवेत पुगे ।
कुवेत पुगेपछि अस्मिता र हेटौंडाकी महिला छुट्टिइन । अस्मितालाई कामदार सप्लाई गर्ने कम्पनीमा लगियो तर उनीसँगै गएकी हेटौंडाकी महिलालाई भने कहाँ पुर्याए अस्मितालाई थाहा छैन । अस्मिता सप्लाई कम्पनीमा पुग्दा त्यहाँ धेरै नेपाली नै थिए ।
त्यहीँ मेडिकल जाँच पनि भयो अस्मिताको । अनि पुर्याइयो एउटा कुवेतीको घरमा । ‘मलाई त्यो घरमा पु¥याउने पनि त्यही सप्लाई कम्पनीमा भएको नेपाली नै थियो’ अस्मिताले सम्झिनुभयो ।
ती नेपाली अस्मितालाई पुर्याएर फर्किए । तर अस्मिताले त्यहाँ पुगेपछि बल्ल बास्तविकता थाहा पाउनुभयो । ‘सप्लाई कम्पनीमा लगेजस्तो गरेर मान्छेलाई भेडाबाख्रा जसरी बेचिँदो रहेछ’ अस्मिताले भन्नुभयो ‘ त्यो घरमा पुगेपछि नै मलाई त्यही नेपालीले १७ सय दिनारमा बेचेको रहेछ भन्ने थाहा पाएँ ।’
कुवेत पुगेको भोलिपल्टदेखि शुरु भयो अस्मिताको घरेलु काम । काम त कसिंगर लगाउने, लुगा धुने, टवाईलेट सफा गर्ने, आईरन लगाउने थियो । तर भाषाका कारण साहुनीले अह्राएको केही पनि बुझ्नुभएन अस्मिताले ।
भाषा नबुझेपछि ईशाराकै भरमा काम गर्नुहुन्थ्यो । ‘आँखा रातो पारेर रिसाउँथिन तर गाली गरेको हो कि के गरेको हो भन्ने नबुझेर म जनावर जस्तै टुलुटुलु हेरि मात्रै रहन्थें’ अस्मिता भन्नुहुन्छ ।
भाषा नबुझ्दा भएको कठिनाई त अस्मिताले सहनुभएकै थियो तर आइरन गर्न नजानेको भन्दै त्यही आइरनले हात पोल्दा भने उहाँले खप्नै सक्नुभएन । काम गर्न नजानेको भन्दै गाली गर्दा सहेर बसे शारीरिक यातना दिन थालेपछि भने उहाँले सहन सक्नुभएन ।
नेपालमा हुँदा त काम सजिलो र राम्रो अनि कमाई पनि गतिलै हुने लोभ देखाएका थिए एजेण्टले । तर दिनमा झण्डै १५ घण्टा काम गर्दा भने निकै सकस पर्यो उहाँलाई । काम त भने अनुसार भएन नै कुवेतको कमाई कस्तो हुन्छ उहाँले देख्न पनि पाउनुभएन ।
डेढ वर्ष बस्दा उहाँलाई एक रुपैयाँ तलव पनि दिएन साहुले । एक त तलब नदिने अनि अर्को काम गर्न नजानेको भन्दै दिइने शारीरिक यातना खप्न नसकेपछि उहाँ फोहोर फाल्ने निहुँ पारेर भागेर कुवेतमा रहेको नेपाली दुतावास पुग्नुभयो । दुतावासकै सहयोगमा उहाँ डेढ महिनामा नेपाल फर्किनुभयो ।
उतिबेला विदेश जान पाए कमजोर आर्थिक अवस्था सुध्रिन्थ्यो भन्ने सोचेकी अस्मिताको मनमा अब विदेशको चाहना छैन । उहाँ अब आफ्नै गाउँमा केही गर्ने सोचमा हुनुहुन्छ । आफु केही बुझ्दै नबुझिकन जाँदा दुःख पाएकी अस्मिता विदेश जानेहरुलाई भने जाने देश र गर्ने काम बारे बुझेर र सिप सिकेर घर बाहिर मात्रै जान सुझाव दिनुहुन्छ ।
(खोटाङ बजारका रिर्टनी स्वयमसेवक प्रकाश मगरसँगको कुराकानीको आधारमा तयार पारिएको )
साभार : उज्यालो अनलाईन
