चितवन, १० असोज । कार दुर्घटनामा त्रिशुली नदीमा बेपत्ता भएका पूर्व मन्त्री तथा पूर्व मुख्य सचिव माधव घिमिरेको मोबाइलबाट चितवनका एसपी वसन्त कुँवरको मोबाइलमा फोन आएपछि अचम्मै भयो ।

सोमबार बिहान ९ बजेर २२ मिनेट जाँदा एसपी कुँवरको मोबाइलको घण्टी बजेको थियो । उहाँले फोन उठाउँछु भनेर हेर्दा, माधव घिमिरेको नम्बर देखियो ।
त्रिशूलीमा बेपत्ता घिमिरेको मोबाइलबाट फोन आएपछि अचम्म परेका एसपी कुवँरले चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई जानकारी गराए ।

त्यसपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा एसपी कुँवरको नेतृत्वमा एक टोली त्रिशुली नदी किनारमा खोजीका लागि गयो । खोज्दै जाँदा बेपत्ता घिमिरेको मोबाइल किनारमा च्यापिएको अवस्थामा फेला पर्यो ।

घिमिरेको मोबाइल च्यापिएकाले आफै फोन डायल भएर एसपी कुँवरलाई फोन गएको हुन सक्ने अनुमान प्रमुख जिल्ला अधिकारी सिंहले गरे । उनले भने- ‘फोन च्यापिएको अवस्थामा फेला पर्यो । आफै डायल भएर एसपी सापलाई फोन गएको हुनसक्छ । यसबारे थप अनुसन्धान हुँदैछ ।’

प्रमुख जिल्ला अधिकारी सिंहका अनुसार दुर्घटनामा परेर त्रिशुली नदीमा बेपत्ता भएका घिमिरेसहित तीन जनाको खोजी कार्य जारी छ ।


 
Top