चितवन, असोज ९ – दसैँका बेला नारायणगढ–मुग्लिन सडक हुँदै कतै जाँदै हुनुहुन्छ र त्यहाँको जाम सम्झेर दिक्क मान्दै हुनुहुन्छ भने ढुक्क हुनुहोस् । काठमाडौंलाई बाहिरका जिल्लासँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडकमा दसैँको बेला यात्रा सहज बनाउने तयारीका साथ काम भइरहेको छ । सडक निर्माणको जिम्मा पाएका कम्पनीहरुले सडकमा भएका सबै खाल्डा पुरिसकेका छन् । अब सोमबारसम्म सडक ग्रेडिङ गरेर गाडी सहज रुपमा दुईतर्फी नै आवत जावत गर्न सक्ने जनाएका छन् । उडहिल लामा निर्माण कम्पनीका व्यवस्थापक रविन्द्र श्रेष्ठले सडकमा भएको खाडल पुरीसकेको बताउँदै १० गतेसम्ममा ग्रावेलिङ गरेर ११ गतेपछि दुईतर्फी नै गाडी आवत जावत गराइने बताउनुभयो ।
सडकमा गाडीको चाप बढीसकेको बताउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवालले पछिल्ला दिनमा नारायणगढ मुग्लिन सडकखण्डमा यात्रा सहज भएको बताउनुभयो । नारायणगढ–मुग्लिन सडक मात्र नभई चितवन छोएका सबै राजमार्गलाई व्यवस्थित गरिने अभियान चलाइएको बताउँदै भेटवालले दसैँमा यात्रामा निस्किने यात्रुलाई सडकमा कुनै बाधा नपार्न लागिपरेको बताउनुभयो । २०७२ सालको वैशाखदेखि निर्माणको काम सुरु गरिएपछि नारायणगढ–मुग्लिन सडक जाम हुँदै आएको थियो । एक घण्टामा पार हुने सडक यात्रा पूरा गर्न ११ घण्टासम्म लाग्दै आएको थियो ।  निर्माणको जिम्मा पाएका कम्पनीहरुसँग सहकार्य गरी दसैँमा सडकमा कुनै पनि जाम हुन नदिएर दुईतर्फी नै गाडी सञ्चालनमा सहज बनाइने नारायणगढ–मुग्लिन सडक निर्माण अयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो ।


पहिरोको जोखिम कम 

नारायणगढ–मुग्लिन सडक खण्डको १२ स्थानमा ठूलो पहाड काटिएको छ । साना र ठूला गरी ३२ ठाउँ पहिरोको जोखिममा रहेको छ । नारायाणगढबाट १७ किलोमिटरमा पर्ने गाइघाटबाट २२ किलोमिटरको दूरीमा पर्ने घुमाउनेसम्म र २८ किलोमिटरमा पर्ने जलविरेबाट ३४ किलो ३५ किलो मिटरमा पर्ने खहरे खोला सम्मको स्थानमा पहिरोको उच्च जोखिम छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पछिल्लो समयमा पहिरोको जोखिम नरहेको आयोजनाका इन्जिनियरहरुले बताएका छन् । ११ ठाउँमा ठूला पहिरोको जोखिम रहेकोमा १० ठाउँका पहिरोको व्यवस्थापन भइरहेको आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । एक ठाउँमा मात्र काम बाँकी भएको भन्दै उहाँले वायोइन्जिनियरिङ प्रणालीबाट पहिरो व्यवस्थापनको काम भइरहेको बताउनुभयो ।
जोखिम रहेको क्षेत्रमा जोखिमको जानकारी दिन संकेत बोर्ड राख्ने लगायतका काम भइरहेको छ । सडक निर्माणको समयमा यात्रुले धैर्यता र चालकले नियमवद्ध रुपमा सडक यात्रा गरिदिए सहज हुने खनालले बताउनुभयो ।

दसैँमा पनि प्राविधिक र प्रविधि चालु

दसैँको अवधिमा पनि नारायणगढ मुग्लिन सडक खण्डमा आवश्यक पर्ने प्रविधि र प्राविधिक तयारी अवस्थामा राखिने भएको छ । दसैँको अवधिमा ५ वटा लोडर, ६ वटा टिपर र तीनवटा ट्यांकर र प्राविधकहरुलाई चालु अवस्थामा राखिने भएको छ । धुलो उड्न नदिनका लागि सडकमा नियमित पानी राख्ने व्यवस्था मिलाइएको छ ।
देशको प्रमुख राजमार्गमा सवारी चाप बढेकाले कुनैपनि हालतमा सडक यात्रा सहज बनाउनुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले दसैँको अवसरमा हजारौँ यात्रु आवत जावत गर्ने नारायणगढ–मुग्लिन सडक सञ्चालनमा क्रियाशिल हुन सबै पक्षलाई आग्रह गर्नुभएको छ । ‘सहज यात्राका लागि जे गर्दा हुन्छ त्यो गर्नु प¥यो’ प्रजिअ सिंहले भन्नुभयो ‘असोज ११ गते पछि बाटोको नियमित अनुगमन गर्छौं ।’

१७ महिनामा २५ प्रतिशत काम

नारायणगढ–मुग्लिन सडक खण्ड पुनर्निर्माणको काम २५ प्रतिशत सकिएको छ । २०७२ सालको वैशाखदेखि निर्माण सुरु गरिएको आयोजनाको २०७३ भदौ महिना सम्मको प्रगति हेर्दा २५ प्रतिशत काम भएको अयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो ।
पहिलो संशोधित कार्यक्रम अनुसार यस अवधिमा ३३ दशमलव ६० प्रतिशत काम सकिनु पर्नेमा २५ दशमलव ६२ प्रतिशत काम सकिएको खनालले बताउनुभयो । नारायणगढबाट मुग्लिनसम्म गाडी यात्रा गर्दा साविक ७० मिनेट लाग्दै आएकोमा पुनर्निर्माण पछि ३५ मिनेटमा पूरा गर्न सकिने लक्ष राखिएको छ । अहिले रहेको बढीमा पाँच मिटर फराकिलो पिचलाई सातदेखि ११ मिटरसम्म फराकिलो पार्न लागिएको हो ।
नारायणगढबाट १६ किलोमिटर दूरीसम्म सडक ११ मिटर फराकिलो हुनेछ । त्यसपछि मुग्लिनसम्म सात मिटरको फराकिलो पिच हुने आयोजना कार्यालयले जानकारी दिएको छ । पुल निर्माण सडक पूरा भएपछि थप बजेटसहित सुरु हुनेछ । नारायणगढ–मुग्लिन सडकखण्ड ३६ किलोमिटर लामो छ ।

साभार : उज्यालो अनलाईन 
 
Top