काठमाडौं, असोज १३ – दुबइको खपिनसक्नु गर्मी अनि सकिनसकी गर्नुपर्ने कामको भारले थिच्दा सिरहाका उदय नारायण साफीले दुई वर्ष अघिदेखि नै नेपाल फर्केको सपना देख्न थाल्नुभएको थियो । तर आफ्नो खुशीले जन्मथलो फर्कन्छु भनेर कहाँ पो पाइन्थ्यो र । उहाँका लागि दुई वर्ष पनि २० वर्ष जत्तिकै भयो । लामो प्रतिक्षापछि नेपाल फर्किने साइत जुर्‍यो उदय नारायण साफीको । दसैँ, तिहार र छठ मनाउने धोकोसहित त्रिभुवन विमानस्थलमा विमानबाट ओर्लिएका साफीलाई आफ्नै घरको आँगन टेकेजस्तै भयो । खुबै रमाउनुभएको छ त ? कुरा सक्न नपाउँदै साफीले भन्नुभयो, ‘विदेशको चर्को घाम, कामको लोड अनि कोही पनि आफन्त नहुँदा त कति नमजा लागेको थियो, तर अब त आफ्नै जन्मथलोमा आइयो, खुसीको सीमा नै छैन ।’ फुरुङ्ग हुँदै उहाँले भन्नुभयो, ‘अब त दसैँ, तिहार छठ मज्जाले मनाइन्छ ।’

उदयनाराण साफी जस्तै विदेशबाट आएका आफन्त लिन त्रिभुवन विमानस्थल पुग्नेको घुँइचो लागेको छ । बामे सर्नेदेखि केटाकेटीदेखि दाँत झरेका बुढाबुढी समेत आफन्त कुरेर बसिरहेका देखिन्छन् । वर्षौंसम्म भेट नभएका परिवार अँगालो मारेर खुसी साटिरहेको दृष्य पनि कम्ती रमाइलो छैन । दसैँ, तिहार र छठको लागि आफ्नै गाउँठाउँ फर्केका नेपालीका कारण विमानस्थलको चहलपहल नै बेग्लै छ । 
वर्षौंदेखि गाउँघरमा आफन्तको साथमा दसैँ मनाउन नपाएका परदेशीहरु धोको फेर्ने गरी रमाइलो गर्न घर फर्कन थालेका छन् । ‘बाध्यताले गर्दा नै विदेश जानुपरेको थियो, तर अब त नेपाल आइयो, ३ वर्षदेखि मनाउन नपाएको दसैँलाई खुब रमाइलो गरि मनाउने योजना छ’ साउदी अरबबाट फर्केका प्यूठान नारिकोटका बलराम पुरीले भन्नुभयो, ‘घरबाट आमाबुबा, श्रीमती अनि छोराछोरीको फोनले मन कति रुन्थ्यो तर अब त ढुक्क भयो, बाआमा पनि खुसीले फुरुङ्ग हुनुभएको छ ।’

देशभित्रैका ठूला शहरबाट विभिन्न जिल्ला जान अग्रिम टिकक बुकिङ खुलेपछिका बसपार्कमा जस्तै भिड देखिन्छ त्रिभुवन विमानस्थलमा पनि । खेतमा झुल्दै गरेका धान अनि बारीको डिलमा फुलेका सयपत्री र मखमली देख्न नपाएर नियास्रो मानेका परदेशी नेपालीलाई दसैँ तिहार नै घर फर्कने उत्तम समय हो । दसैँ तिहारमा विदेशमा शुन्य नै हुन्छ त ? प्यूठानका बलराम पुरीले भन्नुभयो, ‘विदेशमा पनि साथीभाइसँग अलिअलि रमाइलो त गरिन्छ तर गाउँघरका साथीभाइ, घरपरिबार अनि सराँय नाच्दै दशैं मनाएको बानी लागेका म जस्तालाई त निकै खल्लो नै हुन्छ ।’

परदेशीको भिडभाडले खाडी देशबाट नेपाल आउने धेरैजसो विमानका टिकट पाउन पनि समस्या छ भने, विमानस्थलभित्रैका ट्याक्सीलाई पनि भ्याइ नभ्याइ छ । बसपार्कका होटलमा पनि खाडी देशबाट फर्किएका नेपालीलाई राख्नको लागि कोठाहरु भरिएका छन् । ‘पहिला २ घण्टा  कुर्दा पनि यात्रु पाउन मुश्किल हुन्थ्यो तर अहिले त दसैँ लागेर होला आउन पाएको छैन ट्रिप पाइहालिन्छ’ ट्याक्सी चालक रेशम पंगेनीले भन्नुभयो, ‘परदेशीलाई आफ्नो देश आउँदा जति रमाइलो लागेको छ, हामीलाई पनि धेरै कमाइ हुँदा उत्तिकै खुसी लागेको छ, कोही कोहीले त देश फर्केको खुसीमा दोब्बर भाडा पनि दिनुहुन्छ ।’

विमानस्थलको भद्रगोल अवस्थाबाट भने दिक्क

देशमा गरीखाने मेलोमेसो नभेटेपछि अहिलेसम्म ४० लाख नेपाली कामको लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । अहिले पनि दिनहुँ १८ सय नेपाली परदेश गैरहेका छन् । मलिन अनुहार लगाएर चाडपर्वको मुखमा परदेश हिँडने भन्दा दोब्बर संख्यामा फर्केका नेपालीले बिमानस्थलमा दसैँ आएजस्तै भएको छ ।
तर ठुलै उत्साह बोकेर जन्मथलो फर्किएका केही नेपालीलाई भने विमानस्थलको भद्रगोल अवस्थाले दिक्क पनि बनाएको छ । विमानस्थलका कर्मचारी र प्रहरीको रुखो व्यवहार अनि विदेशबाट ल्याएका सामान छुटाउन पर्ने झण्झटले धेरैलाई दुखी बनाएको छ ।
‘विदेशमा त आफ्नो सामान हराउला भन्ने चिन्तै गर्नुपर्दैन तर यहाँ त आँखा झिमिक्क पा¥यो कि सामान हराउला भन्ने डर’ अष्टे«लियाबाट फर्केका झापाका होम दवाडीले भन्नुभयो, ‘न शौचालयको हालत गतिलो छ, एअरपोर्ट भित्रबाहिर सफा नै हामीलाई त ठिकै छ पहिलोपटक नेपाल आउने के भन्दा हुन भन्ने डर ।’

Ujyaaloonline
 
Top