मेरो घर सुनसरीकाे श्रीपुर ७ मा छ । घरमा श्रीमती र मसँगै ६ जनाको परिवार थियो । परिवार चलाउने कुनै गतिलो माध्यम हामीसँग थिएन । त्यसैले माइलो छोरा नजमुलले विदेश जान्छु भन्यो ।
छोराछोरीलाई आफू भन्दा टाढा पठाउन त कसले पो चाहन्छ र । तर घरको अवस्थाले मैले नाईं भन्नै सकिन । त्यसैले सहारा इन्टरनेशनल म्यानपावरबाट २०७० असोज १६ गते साउदी अरब गयो । यहाँबाट मस्जिदमा क्लिनरको काममा भनेर लगेको थियो । तर उता पुगेपछि खजुर प्याक गर्ने काममा परेछ ।
नजमुलले चार महिना त त्यही काम गरेछ । तर त्यसपछि नेपालमा भनेको काम नदिने भए म फर्किन्छु भनेछ । त्यसपछि भने उसलाई मस्जिदमै क्लिनरको काम दिएछन । भनेकै काम पाउँदा नजमुल खुशी नै थियो । मस्जिदमा काम गर्न थालेको पनि डेढ वर्ष भइसकेको थियो । २०७२ वैशाख १८ गते कामबाट फर्किने क्रममा दुर्घटनामा परेर उसको निधन भयो ।
परिवारका लागि भन्दै विदेशिएको छोरोको अनुहार देख्न नपाउँदाको दुःख त कसरी भनौं र तर हामी मुस्लिमले साउदी अरबलाई स्वर्ग नै मान्ने भएकाले हामीले उसको शव नेपाल ल्याउनुभन्दा त्यहीँ अन्त्येष्टी गरिदिनु भन्यौं ।
उसको कम्पनीमा नेपालकै अब्दुल भन्ने मान्छे थियो । त्यसैले अब्दुलले नै उसको अन्त्येष्टी गरेको कागज पठाइदिए । तर उसको पासपोर्ट चाहिँ आएन । दुर्घटना भएकाले कम्पनिले सबै कुरा नटुङग्याएसम्म पासपोर्ट दिँदो रहेनछ । अहिलेसम्म मुद्दा त टुङगियो होला । तर पासपोर्ट हामीसम्म ल्याइदिने मान्छे भएन ।
हामीले म्यानपावरलाई पनि सहयोग गरिदिन आग्रह गर्यौं तर केहि सहयोग पाएनौं । अहिले त साउदीमा भएको अब्दुलले पनि फोन उठाउँदैन । पासपोर्ट नहुँदा हामीले सरकारबाट पाउने क्षतिपूर्ति पनि पाएका छैनौं । त्यसैले सहयोगको पर्खाइमा छौं ।
 
Top