![]() |
| फोटो क्याप्सन : नारायणगढको तरकारीमण्डीमा फोहोरको डङ्गुरमा कुहिएर फालिएका लप्सी बेच्नका लागि केलाउँदै व्यापारी । |
नारायणगढ । दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि अकासिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार नारायणगढको तरकारी बजारमा अनुगमन गरेको छ ।
चाडको मुखमा विशेष गरी तरकारीमा मूल्यवृद्धि भएको गुनासो आउन थालेपछि प्रशासन कार्यालयले अनुगमनमा ध्यान केन्द्रित गरेको हो । ‘अनुगमनका क्रममा केही व्यापारीहरुले २० प्रतिशत बढी नाफा राखेर तरकारी बेचेको पाइयो’ जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक नवीन देउजाले भने, ‘ती व्यापारीलाई जिल्ला प्रशासन कार्यालयले भरतपुरले उप–महानगरपालिकासँग समन्वय गरी तत्काल बोलाएर आवश्यक छानविन गर्नेछौँ ।’
अनुगमन टोलीले तरकारी व्यवसायीलाई २० प्रतिशत बढी मूल्यमा तरकारी बेचेको पाइएमा कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने निर्देशन पनि दिएको छ ।
अनुगमन कम : व्यवसायी
नारायणगढकै मुख्य तरकारी बजारमा पनि अनुगमन कम हुने गरेको स्वयम् व्यापारीहरुले नै बताएका छन् । दैनिकरुपमा तरकारीको मूल्य फेरबदल भइरहने व्यवसायमा अनुगमन नै नहुनु दुःखद भएको तरकारीमण्डीका व्यवसायी बाबुराम घिमिरले बताए । ‘सधैंजसो अनुगमन भइरहनु पर्ने ठाउँमा पहिलो पटक अनुगमन टोली आएको थाहा पाएँ ।’ उनले भने, ‘बजारका थोक बिक्रेताहरुकै बीचमा अस्वस्थ प्रतिस्पर्धा हुँदा उपभोक्ता मारमा परेको हो । ’
बारीबाट सस्तो मूल्यमा आएको तरकारी उपभोक्तासम्म पुग्दा दोव्बर तेव्बर मूल्य हुँदा पनि कारबाही गर्ने निकाय नहुँदा उपभोक्ताहरु दैनिक रुपमा महँगीको मारमा परिरहेका छन् । उत्पादनस्थलबाट बजारसम्म आइपुग्दा व्यापारीहरुले बीचैमा किनबेच गरेका कारण तरकारीजन्य वस्तुको मूल्य अकासिएको हुन सक्ने उपभोक्ताहरुको बुझाइ छ ।
मूल्य नबढेको दाबी
फलफूल तथा ताजा तरकारी व्यवसायी संघ चितवनका अध्यक्ष थिरप्रसाद धितालले चाडपर्व नजिकिएकै कारण तरकारीको मूल्य वृद्धि नभएको दाबी गरेका छन् । अहिलेको मौसममा चितवनको तराई क्षेत्रमा तरकारीको उत्पादन कम हुने भएकोले जिल्लाको पहाडी गाविसका साथै मकवानपुर र धादिङलगायतका बाहिरी जिल्लाबाट तरकारी आयात गर्नुपरेकोले बजारमा तरकारीको मूल्य केही प्रतिशत बढेको उनले बताए । ‘उत्पादन कम र माग बढी हुँदा मूल्य बढ्नु स्वभाविक हो’ उनले भने ।
फोहोर उठेन
नारायणगढको तरकारीमण्डीमा तीन दिनदेखि भरतपुर उप–महानगरपालिकाले फोहोर नउठाउँदा तरकारी बजार नै दुर्गन्धित बनेको छ ।
दैनिक रुपमा उठाउनुपर्ने फोहोर तीन दिनदेखि नउठ्दा तरकारी बजारभित्र जानै नसकिने दुर्गन्ध फैलिएको छ । यस विषयमा भरतपुर उप–महानगरपालिकाले चासो नदेखाउँदा बजारभित्र दुर्गन्ध सहेर बस्नुपरेको व्यापारीहरुले बताएका छन् । तरकारी तथा फलफूल कुहिएर बनेको फोहोरको गन्धले दिनभर मुख थुनेर बस्नु परेको व्यवसायी बाबुराम घिमिरेले बताए ।
उप–महानगरपालिका अन्तर्गत तरकारी बजारभित्रको फोहोर उठाउने ठेकेदारको लापारबाहीले गर्दा फोहोरको डङ्गुर थुप्रिएको व्यवसायीहरुले बताएका छन् । दैनिकरुपमा मानिसहरु ओहोरदोहोर गर्ने तरकारी बजारमा समयमै फोहोर नउठ्दा मानव स्वस्थ्यमा गम्भीर असर परेको छ ।
साभार : चितवन पोष्ट दैनिक
