चितवन, भदौं २२–

थारु कल्याणकारिणी सभा (थाकस) चितवनले थारु बस्तीलाई विस्थापित गर्ने रत्ननगर नगरपालिकाको निर्णयको कडा विरोध गरेको छ ।

आज भरतपुरमा पत्रकार सम्मेलन गरि सभाले बस्ती विस्थापित गराउने निर्णय तत्काल सच्याउन माग गर्दै त्यसो नगरिए उत्पन्न परिस्थितिको जिम्मेवारी स्वंम नगरपालिकाले लिनुपर्ने चेतावनी दिएको छ । रत्ननगर नगरपालिकाले गत चैत्र २४ गते साविक बछ्यौली गाविस वडा नंं.४ (हालको रनपा–१७ सिसुवार) मा रहेको थारु समुदायको तीन घर भत्काउने निर्णय गरेको थियो । नगरपालिकाले सार्वजनिक जग्गा भन्दै यही साउन २८ गते निज बेचन महतोका छोरा अनिल महतो, कृष्ण महतो र झलक महतोको नाममा घर टहरा हटाउने ३५ दिने सूचना पठाएको थियो । यसरी बनेको पक्कि घर भत्काउन सूचना जारी गरेपछि थाकसले कडा प्रतिवाद गरेको हो ।




थाकस सभापति विश्राम महतोले आदिमकाल देखी बस्दै आएको थारु बस्तीलाई विस्ताथिप गर्ने रत्ननगर नगरपालिकाको निर्णय तत्काल सच्याउन माग गर्नुभयो । “यो थारु समुदायलाई विस्ताथिप गराउने तयारी हो, हामी चितवनका भुमी पुत्र हौं, कसैले हटाउन पाउदैन”–सभापति महतोले भन्नुभयो । उहाँले गाविस, नगरपालिका नबन्दै सो क्षेत्रमा थारु समुदायको बसोबास रहेको भन्दै सो बस्ती हटाउन नपाउने बताउनुभयो । तत्कालिन गाविसले पनि सो बस्तीमा कित्ता काट समेत गरि सकेको भन्दै सरकारले लालपुर्जा मात्र नदिएको बताउनुभयो । उहाँले लालपुर्जा दिने काममा पनि सरकारले विभेद गरेको बताउनुभयो ।

पीडित अनिल महतोले नगरपालिकाले बलजफ्ती रुपमा आफूहरुलाई हेपेर उठान खोजेको बताउनुभयो । उहाँले यसअघि नै क्षेत्रमा बछ्यौली गाविसले ४÷क को कित्ता नम्बर १ देखि ३० सम्म नेपाल सरकारद्धारा गठित तत्कालिन सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति चितवनले आफ्ना पूर्खाहरुले भोगचलन गर्दै आएको आधारमा निवेदन दिने व्यक्तिहरुको नाममा नाप नक्सा गरि कित्ता काट गरि सकेको जानकारी दिनुभयो । उहाँले सोही अनुसार कित्ता नं.६ को पिता बेचन महतोको नाममा दर्ता कायम भई हाल पक्कि घर समेत निर्माण गरेको अवस्थामा नगरपालिकाले बलजफ्ती गरेको बताउनुभयो ।





सो क्षेत्रमा ३० जना थारु व्यक्तिहरुको जग्गा रहेको छ । २०६० सालको बाढीबाट विस्थापित भएपछि अन्य २७ परिवारले सो जग्गामा खेतीपाती (भोगचलन) मात्रै गर्दै आईरहेका छन् । यस्तै थारु कल्याणकारिणी सभा क्षेत्र नं.८ का सभापति रामेश्वर चौधरीले चितवनका भुमीपुत्रलाई विस्थापित गराउने योजना अनुरुप यो कदम चालिएको आरोप लगाउनुभयो । उहाँले यसको डटेर सामना गर्ने भन्दै जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा थारु अगुवाहरु कृष्णलाल चौधरी, गिरीधारी चौधरीले पनि नगरपालिकाले झुठो सर्वदलिय निर्णयको आधारमा यस्तो कदम चालेको भन्दै तत्काल फिर्ता लिन माग गरे ।
रत्ननगर नगरपालिकामा काशीराज गैरे आएपछि नगरपालिकाले यस्तो कदम चालेको हो ।


साभार : नारायणी अनलाईन 
 
Top