चितवनको शक्तिखोरमा पोलिटेक्निक विश्वविद्यालय स्थापना गर्ने घोषणा सरकारले गरेको छ । निकै लामो समयदेखि चितवनवासीको माग सम्बोधन गर्दै सरकारले यसैवर्ष पोलिटेक्निक विश्वविद्यालय स्थापना गर्ने भएको हो । व्यवस्थापिका संसद्मा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘शहीद स्मृति पोलिटेक्निक विश्वविद्यालय’ स्थापना गर्ने घोषणा गरे ।
“सातै प्रदेशमा कम्तीमा एक–एकवटा प्रादेशिक विश्वविद्यालय यसैवर्ष स्थापना गरिनेछ”, प्रधानमन्त्रीको सम्बोधनमा भनिएको छ, “चितवनको शक्तिखोरमा यसैवर्ष शहीद स्मृति पोलिटेक्निक विश्वविद्यालय स्थापना गरिनेछ ।” सरकारको घोषणाअनुसार तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन रहेको शक्तिखोरमा सो विश्वविद्यालय स्थापना गरिने छ । प्रत्येक प्रदेशमा एक–एक वटा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने सरकारको घोषणाअनुसार प्रदेश ३ अन्तर्गत शक्तिखोरमा विश्वविद्यालय स्थापना गरिने संसद् बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बताए । सरकारको घोषणा स्वागतयोग्य रहेको भन्दै चितवनका विभिन्न संघसंस्था, व्यक्ति तथा सरोकारवालाहरुले खुसी व्यक्त गरेका छन् ।
रत्ननगर उद्योग वाणिज्य संघले एक विज्ञप्ति जारी गरेर शक्तिखोरमा विश्वविद्यालय स्थापना गर्ने सरकारको घोषणा स्वागतयोग्य रहेकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ । संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालले जारी गरेको विज्ञप्तिमा संघले निकै लामो समयदेखि प्राविधिक शिक्षालय स्थापना गर्नका लागि आवाज उठाउँदै आएकोमा वर्तमान सरकारले त्यो आवाज सम्बोधन गरेकोमा खुसी व्यक्त गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघले हरेक वार्षिक साधारणसभा एवं रत्ननगर महोत्सवमा प्राविधिक शिक्षालय स्थापना गर्ने विषय उठाउँदै आएको थियो ।
“लामो समयदेखिको हाम्रो माग सरकारले बल्ल सुन्यो”, संघका अध्यक्ष बिसुरालले विज्ञप्तिमा भनेका छन्, “यसमा रत्ननगर र सम्पूर्ण चितवनवासी खुसी छौं ।” शक्तिखोरका सामाजिक कार्यकर्ता गोपी श्रेष्ठ पनि सरकारले आफ्नो क्षेत्रमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेकामा खुसी छन् । “शक्तिखोर ऐतिहासिक ठाउँ हो । विश्वले यस ठाउँलाई चिनेका थिए, पुनः चिन्ने मौका प्राविधिक शिक्षालय स्थापनापछि हुनेछ”, श्रेष्ठले भने, “हाम्रो सपना पूरा हुने भयो ।” प्राविधिक विश्वविद्यालय स्थापनाका लागि उनले पनि लबिङ गर्दै आएका थिए । त्यहाँका स्थानीयले प्राविधिक विश्वविद्यालयसँगै औद्योगिक क्षेत्र बनाउनुपर्ने माग पनि गर्दै आएका छन् । प्राविधिक विश्वविद्यालय स्थापनाका लागि आफूले जस्तोसुकै सहयोग गर्ने भन्दै श्रेष्ठले सहयोग गर्न शक्तिखोरलगायत चितवनवासीलाई आग्रह गरे ।
यसैबीच प्रधानमन्त्री दाहालले चितवन जिल्लाको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् । चितवन जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी एवं नागरिक समाजका प्रतिनिधिले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले आर्थिक समृद्धि र विकासको प्रमुख आधार तयार पार्ने जिल्लाको रुपमा चितवन रहेकाले त्यसलाई समृद्ध पार्नु आफ्नो कर्तव्य र दायित्व रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले यसपटक चितवनको विकास निर्माण र जनताका काममा बढी ध्यान दिने सोचेको भन्दै चितवनका लागि पार्टी र सरकारबाट गर्न सकिने काम गरिने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । चितवन स्थायी घर भएका तथा चितवनमै हुर्के बढेका व्यक्ति देशको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्री भएकोमा गर्व लागेको भन्दै चितवनका राजनीतिक दल तथा नागरिक समाजले प्रधानमन्त्रीको कार्यकालको शुभकामना समेत दिएको नेकपा(माओवादी केन्द्र)का नेता अमिक शेरचनले जानकारी दिए । उनले चितवनको आर्थिक विकासका लागि सरकारबाट पूर्ण सहयोगको अपेक्षा गरिएको बताए । आर्थिक गतिविधिको केन्द्रको रुपमा स्थापित हुँदै गएको चितवन जिल्लामा पर्यटकीय गतिविधि समेत फस्टाउँदै गएको छ ।
