फेसबुक फ्रेण्ड रिक्वेस्टबाट ३२ लाख ठगी, सचेत हुनुहोस् ठगीनुहोला
सामाजिक सञ्जाल दिनचर्याको माध्यम बनिसक्यो । फुर्सदमा रमाइलो गर्ने, कुराकानी गर्ने, विचार साट्ने माध्यमका रुपमासमेत सामाजिक सञ्जाल प्रयोग गरिन्छ । अझ कति त फुर्सदको समयमा मात्र नभएर कामका बेला पनि मौका मिलाएर फेसबुक हेर्ने गर्छन् ।
फेसबुकमा आएका फ्रेण्ड रिक्वेस्टालाई धेरैले गहिरिएर विचार गर्दैनन् । यसो हेर्यो । कोही साथीसँग म्युचुअल फ्रेण्ड देखेपछि एसेप्ट गर्यो । प्रायको बानि हो यो । तर अब फेसबुक फ्रेण्ड रिक्वेस्टबाट सचेत हुनुहोस् । फेसबुक फ्रेण्डसँगको कुराकानीकै आधारमा ३२ लाख रुपैयाँ ठगी भएको तथ्य प्रहरीले पत्ता लगाएको छ ।
आफ्नो नाम केन जोनशन राखेर फेसबुक आइडी खोलेका एक व्यक्तिले विभिन्न मानिसलाई रिक्वस्ट पठाई कुराकानी गर्ने र विश्वासमा लिएर ठग्ने गरेको प्रहरीले पत्ता लगाएको छ । ती व्यक्तिले विशेष गरी नेपाली युवतीसँग नजिकको सम्बन्ध विस्तार गरी विवाहसमेत गर्ने आश्वासन दिने गरेको प्रहरीले जनाएको छ ।
यसरी हुन्छ ठगी
पहिले उनले युवतीहरुको आयस्रोत पत्ता लगाउने र मोवाइल, ल्यापटप, तथा केही डलरसमेत गरी ४० लाख रुपैयाँ बराबरको सामान पठाएको बताउँछन् । उनले ती सामान ड्राफ्ट गरिएको ट्याग नम्बरसमेत दिन्छन् । केही दिनपछि तपाइँलाई पठाएको सामान एयरपोर्ट भन्सारमा रोकिएकोले सरकारी कर ३÷४ लाख लाग्ने बताउँछन् ।
सामान आउनुअघिको केही प्रोसेस गर्न केही रकम पठाइदिन भनी भारतको फोनबाट फोन गर्ने गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । सामान पाउने व्यक्तिले केही रकम पठाउँदैमा त्यत्रो सामान आउने लोभले उसले भनेको सम्पर्क नम्बर र नेपालीकै खाता नम्बरमा पैसा पठाउने गरेको प्रहरीले जनाएको छ । केन जोनसन राम्रो व्यापारी वा असल मानिस होला भन्ने सोचेर रकम पाउने खातावाला नेपालीले उसले भनेअनुसार नै भारतमा विभिन्न व्यक्तिको नाममा पैसा पठाइसकेको प्रहरीको अनुसन्धानले देखाएको छ । अहिलेसम्म यसरी नै ३२ लाख रुपैयाँ गइसकेको प्रहरीको भनाई छ ।
पैसा पठाएपछि सामान पाउने आशमा बसेका नेपालीहरु यसरी नै ठगीने गरेका छन् । महानगरीय अपराध महाशाखा हनुमानढोकाले गरेको अनुसन्धानबाट यस्तो ठगी हुने गरेको देखिएको हो । प्रहरीले यसरी विदेशीको फ्रेण्ड रिक्वेस्ट आउँदा सचेत हुन सबैलाई आग्रह गरेको छ ।
