चितवन, असोज ११–

भरतपुर उपमहानगरपालिकामार्फत संयुक्त वडा कार्यालय गीतानगरमा सेवा केन्द्र विस्तार गरिएको छ । भरतपुर उपमहानगरपालिकाको वडा नम्बर २०, २१ र २२ को संयुक्त वडा कार्यालयमा आज सेवा केन्द्र विस्तार गरिएको हो ।

सेवा केन्द्रको उद्घाटन गर्दै भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले सेवा केन्द्र कर तिर्ने स्थान भएपनि यसको बहुउपयोगी गर्न सकिने बताउनुभयो । योजना तर्जुमा गर्न, नक्सापास गर्नको लागि उपमहानगरपालिकाको मुख्य कार्यालयमा जानु पर्ने भएकाले त्यसको लागि सेवा केन्द्रले सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो । स्थानीय उपभोक्ताहरुको गुनासो रहित सेवामा सेवाकेन्द्रले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।


स्थानीय स्तरमा एउटै योजनामा धेरै लगानी गर्नुभन्दा पनि धेरै योजनामा थोरै थोरै लगानी गर्दा समग्रमा विकास हुने भएकाले स्थानीय उपभोक्ताले त्यसतर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो । नेपाली काँग्रेसका नगर प्रतिनिधि उमेश पौडेलले नयाँ वडाहरुले समान सेवा पाउन नसकेको गुनासो गर्नुभयो । उपभोक्ताले तिर्नुपर्ने करमात्रै बढेको तर सेवा नबढेको उहाँको भनाइ थियो ।

एमालेका नगर प्रतिनिधि अरुणपीडित भण्डारीले सेवा केन्द्रबाट स्थलगत रुपमा सुविधा पाउने कुरा राम्रो भएको बताउनुभयो । विकासमा राजनिति गर्न नहुने भन्दै उहाँले जनतालाई सेवा दिने कार्य नै विकास निर्माण भएकाले सेवा केन्द्रले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

वडा सचिव प्रभास रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बराल प्रमुख अतिथि हुनुहुन्थ्यो ।
 
Top