रोग, भोक, अभावसँगै अभिभावक गुमाउनुको पीडा,नाबालिका छोरीहरु बावुको काजक्रियामा
भूकम्पले भत्किएपछि बास बस्नको लागि ठड्याइएको एउटा नाम मात्रको सानो झुप्रो । त्यसबाहिर आँगनमा एकसरो सेतो बस्त्र धारण गरेका एक महिला र दुई नाबालिका नानीहरु । पहिलो पटक यो दृष्य देख्दा त्यहाँ पुग्ने सबैको आँखा रसाउँछन्, जति सुकै कठोर मन भएका पनि भावविह्वल बनाउने यो दृष्य भित्र एउटा परिवारमाथि भएको बज्रपातको कथा लुकेको छ ।
केही दिन अघि पिङमा झुण्डिएको अवस्थामा मृत भेटिएका धादिङको कुम्पुर गाउँ विकास समितिको पिपलटारका लालबहादुर बयलकोटीका नाबालिका छोरीहरुले कोरामा बसेर बावुको क्रिया गरिरहेका छन् । विद्यालय जाँदै गरेका २ जना बालिकाहरु अहिले आमाको साथमा बावुको काजक्रियामा छन् । कुम्पुरकै महाकाली माविमा कक्षा ९ मा पढ्ने जेठी पबित्रा बयलकोटी र कक्षा ७ मा पढ्ने रथी बयलकोटी आमा लालश्री बयलकोटीको साथमा बावुको काजक्रियामा बसेका हुन् ।
नाबालिका छोरीहरु हिन्दू परम्पराअनुसार आफ्नो बुवाको काजक्रियाको लागि कोरामा बसेको देख्दा सबैको आँखा रसाउनुको साथै पीडालाई शव्दमा व्यक्त गर्नै नसकिने स्थानीय सामाजिक कार्यकर्ता पुष्प थपलिया बताउँछन् ।
कात्तिक १ गते साँझ ७ बजे तिर केही व्यक्तिले बोलाएर घरबाट निस्किएका ३५ वर्षीय लालबहादुर त्यसपछि कहिल्यै घर फर्किएनन् । रातभर घर नफर्किएपछि खोजीमा लागेका आफन्त र परिवारका सदस्यहरुले भोलिपल्ट बिहान नीलकण्ठ नगरपालिकाको सुकौराखोलामा पिङमा झुण्डिएको अवस्थामा लालबहादुरलाई मृत भेटेका थिए ।
लालबहादुरको मृत्यु आत्महत्याबाट नभई केही व्यक्तिले सुनियोजितरूपमा कुटपिट गरी हत्या गरेर पिङमा झुण्डाएको हुन सक्ने परिवार र आफन्तको दाबी छ । मृतकको टाउकोमा ४ वटा गहिरो चोट देखिएको र खुट्टाले भुइँमा छोएको अवस्थामा पिङको पासो घाँटीमा लागेको देखिएपछि उनको आत्महत्या रहस्यमय बन्न पुगेको हो ।
लालबहादुरलाई बोलाएर लैजाने व्यक्तिहरु अहिले प्रहरीको अनुसन्धानमा परेका छन् । अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घरमुलीको मृत्युपछि बयालकोटी परिवारमा ठूलो समस्या आएको छ । एकातिर अभिभावक गुमाउनुपरेको पीडा अर्को तिर दलित परिवारमा रोग, भोक, शोक र अभावमा जन्मेर हुर्केर पनि यी साना नाबालिका छारीहरुले बावुको काजक्रियाका लागि गरेको शाहस एउटा अनुकरणीय कामका रुपमा पनि लिन सकिन्छ । शोकमा परेको परिवारलाई समवेदना दिन पुगेका धादिङका पूर्वसभासद एवम् माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जमकट्टेलले आफूले आँशु थाम्न नसके बताए ।
विद्यालय जाँदै गरेर कलिला नानीहरुलाई सेतो बस्त्र लगाएर काजक्रियामा राख्न त आमा लालश्री बयलकोटीलाइ पनि पटक्कै मन थिएन होला तर उनको इच्छालाई काजक्रिया गर्नैपर्ने सामाजिक बन्धनले बाँधिदिएपछि बाध्य भएर उनले २ वटी छोरीलाइ आफूसँगै राखेर काजक्रिया गराइरहेकी छिन् ।
छोराले काजक्रिया गर्नुपर्ने हिन्दू परम्परा भए पनि लाल बहादुरका छोरा छैनन् । ६ वटी ससाना छोरीहरु मात्रै छन् । ६ वर्षकी, ४ वर्षकी, र १ वर्षकी २ वटा जुम्ल्याहा छोरीहरु आमा र दिदीहरुले किन सेतो लुगा लगाएका हुन् भनेर बुझ्न सक्ने अवस्थामा पनि छैनन् ।
नाबालिका छोरीहरु आफ्नो बुवाको काजक्रियाको लागि कष्टका साथ बसेको देख्दा त्यहाँ पुग्ने जोसुकै पनि भक्कानिने गरेका छन् । भूकम्पले तहसनहस पारेको घर र त्यसपछि बनाइएको टहराको छेउमा काजक्रियामा बसेको बालिकाहरुको यो दृष्यले त्यहाँ पुग्ने जोसुकैलाइ पनि भावुक बनाउने गरेको हो ।
लालश्री बयलकोटीलाई ठूलो समस्या आइलागेको छ । ६ वटी छोरीहरुलाई पालनपोषण गर्ने जिम्मा अब उनको काँधमा आइलागे पछि उनी निकै चिन्तित बनेकी छिन् । उनले भावुक हुँदै भनिन्, ‘घरको कमाउने मान्छेलाई कुन पापीको आँखा लाग्यो, अब म एक्ली महिलाले कसरी हुँर्काउ यी कलिला नानीहरुलाई ।
’ छोरीहरु सँगै लालबहादुरकी ६० बर्षीय आमाको पालनपोषण गर्ने अभिभारा पनि लालश्रीकै काँधमा आइलागेको छ ।
बस्ने घर छैन, टहरामा खानेकुरा छैन, कमाएर खाउँ भने खेतबारी पनि छैन, ज्याला मजदुरी गरेर पालन पोषण गर्ने बुवाको हत्या भयो, अव हामीलाई कसले पढाइदिन्छ ? हाम्रो बाबाको हत्याराहरु यही गाउँमै छन् जस्तो लाग्छ, तिनीहरुले अब हामीलाई पनि मार्छन होला ।’ लालबहादुरका जेठी छोरी पवित्राले रुँदै भनिन्, ‘हाम्रो बाबाको हत्यारालाई जसरी पनि कारबाही गराइदिन सबैले पहल गरिदिनुपर्ने उनको आग्रह छ ।
यसरी फेला परे लालबहादुर
गत कात्तिक १ गते साँझ ७ बजे घरबाट बाहिरिएका लालबहादुर बयलकोटी २ गते बिहान नीलकण्ठ नगरपालिकाको सुकौराखोलामा झुण्डिएको अवस्थामा फेला परेका थिए । दसैंमा बनाइएको पिङमा झुण्डिएको भनेर प्रहरीलाई खवर गरिए पनि उनको खुट्टाले भइ छोइएको प्रस्टै देखिएको स्थानीयहरुले बताएका छन् ।
घटनापछि जिल्ला प्रहरी कार्यलय धादिङबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का गरि शव पोष्टमार्टमको लागि धादिङवेसी ल्याएको थियो । झुण्डिएको भनिएको स्थान रहस्यमयी र शंकास्पद देखिएपछि प्रहरीले हत्या आशंकामा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियारले जानकारी दिए ।
