नारायणगढ । शुक्रबारको काग तिहारसँगै दाजुभाइ तथा दिदीबहिनीहरुको विशेष पर्व तिहार सुरू भइसकेको छ । गाउँदेखि शहरसम्म तिहारको रौनकता निकै छाएको छ । गाउँघरमा सयपत्री, मखमलीलगायतका फूलहरु ढकमक्क फुलेका छन् । दिदीबहिनीहरु दाजुभाइका लागि टीका, माला, प्रसादलगायतका सामग्री जुटाउनमा व्यस्त छन् । शहर बजारमा पनि तिहारको चहलपहल बढेको छ ।
शहरबजारका मानिसहरु आ–आफ्नो घर झिलिमिली बनाउनमै व्यस्त छन् । नारायणगढ बजारमा तिहारका सामग्री किन्नेहरुको भीड पनि उत्तिकै देखिन्छ । यतिबेला नारायणगढ बजार दिउँसै झिलिमिली देख्न पाइन्छ । बजारमा व्यापारीहरुले कृतिम फूलका मालाहरु पसलैभरी झुण्ड्याइएकोले पनि बजारको रौनक अरु समय भन्दा फरक देखिएको छ । नारायणगढको मिलनरोड प्रवेश गरेपछि विशेष गरी पुतली बजार पूरै तिहारमय बनेको छ ।

त्यसो त पछिल्लो समय मानिसहरुमा प्राकितिक वस्तुभन्दा पनि कृतिम वस्तुप्रतिको आकर्षण बढ्दै गएकोले पनि व्यापारीहरुले सोहीअनुसारको सामग्री भित्रयाएको बताउँछन् । प्लास्टिक तथा कागजका फूल तथा बिजुलीबाट बल्ने झिलिमिली बत्तीको प्रयोग गर्नेहरु वर्षैपिच्छे बढ्दै गइरहेका छन् ।
पहिला जस्तो आफ्नै बारीमा फूल उत्पादन गर्न छाडेकाले सयपत्री, मखमली, गोदावरीलगायतका फूलको ठाउँमा विभिन्न आकृतिका प्लास्टिकका फूलहरु प्रयोग गर्न थालेको व्यवसायीहरुले प्रतिकृया छ । नारायणगकी दीपा सापकोटा भन्छिन्, ‘पहिला जस्तो उत्पादन हुन छाडेपछि विकल्पको रुपमा प्लास्टिकका फूलहरुको प्रयोग गर्नेहरु बर्सेनि बढ्दै गइरहेका छन् ।’ प्लास्टिकका फूलहरु लामो समयसम्म रहिरहने हुँदा पनि आकर्षण बढेको उनले बताइन् । नारायणगढको पुतली बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी उनी भन्छिन्, ‘कस्मेटिक समान मात्रै बेच्दै आए पनि बढी नै माग आउन थालेकाले प्लास्टिकका मालाहरु पनि बेच्न राखेको छु ।’


अर्का व्यापारी शारदा शर्मा भन्छिन्, ‘प्राकृतिक फूलको अभावमा कृतिम फूलको प्रयोग बढ्दै गएको छ ।’ ‘पहिला–पहिला तिहारका लागि भनेर हामी आफैं बारीमा फूल रोप्थ्यौं,’ उनले भनिन्, ‘अहिले म आफैं पनि व्यापारमा व्यस्त छु, अनि फूल कस्ले रोप्ने ?’ आफ्नै बारीमा उत्पादन नभएपछि बजारमा आएका विदेशी प्लास्टिकका फूलहरुको भर पर्नु परेको उनले बताइन् । तर, तिहारको दुई÷चार दिनमा बिक्री नभए अर्को वर्षसम्म राखिराख्नु पर्ने समस्या भएको व्यापारीहरु बताउँछन् ।


भरतपुरकी सिर्जना भट्टराई पनि शुक्रबार तिहारमा घर सजाउनका लागि झिलिमिली बत्ती र माला किन्न भनी नारायणगढ आइन् । उनी 3भन्छिन्, ‘माटोको पाला प्रयोग गर्दा अर्को वर्ष हुँदैन, विद्युतीय बत्ती त जतन गरेर राखे अर्को वर्ष पनि काम लाग्छ, त्यसैले घर सजाउनका लागि त बजारी सामान नै राम्रो ।’ यस्तै झ्याल ढोकाहरुमा सजाउनका लागि पनि प्राकृतिक फूल भन्दा कृतिम फूलहरु बढी टिकाउ हुने उनले बताइन् । प्राकृतिक फूलका मालाहरु एक/दुई दिनमै ओइलिने हुँदा प्लास्टिकका फूलको प्रयोग बढी भएको उनको बुझाई छ ।
तर, तिहारमा दाजुभाईका लागि भने प्राकृतिक फूलले जति शोभा अरु फूलले नदिने उनले बताइन् । दाजुभाईलाई लगाइदिने माला उन्नको लागि भने जसरी भए पनि सयपत्री र सुपारी (मखमली) फूल नै खोज्ने उनले बताइन् ।


यस्तै, भरतपुरकी समीक्षा गुरूङ पनि दाजुभाइको लागि प्राकृतिक फूलको माला नै उन्ने बताउँछिन् । उनी भन्छिन्, ‘वर्ष दिनमा एक पटक आउने पर्वमा प्लास्टिकको माला प्रयोग गर्नु राम्रो हुँदैन ।’ दैनिक पूजाआजाका लागि भए पनि फूल चाहिरहने हुँदा तिहारको लागि पनि आफ्नै बारीमा फूल फुलाएको उनले बताइन् । धर्मकर्म तथा विभिन्न समयमा गरिने पूजाआजा तथा शुभकार्यको लागि पनि फूलको आवश्यकता उत्तिकै पर्ने हुँदा बाह्रैमास आफ्नै बारीमा फूल फुलाउन आवश्यक रहेको उनीले बताइन् ।
 
Top