रत्ननगर प्रहरीको विशेष सुरक्षा योजना
रत्ननगर, १७ असोज ।
ईलाका प्रहरी कार्यालय टाँडी रत्ननगरले चाडबाड लक्षित विशेष सुरक्षा योजना बनाएको छ । चाडपर्वमा हुन सक्ने विभिन्न घटनाहरुलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारिएको कार्यालयका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले बताए ।
सोमबार कार्यालय परिसरमा आयोजित दसैँ तथा तिहारको शुभकामना आदानप्रदान एवम् विशेष सुरक्षा योजनाबारे सरोकारवालाहरुको छलफलमा उनले चाडपर्वमा हुन सक्ने जुवातास नियन्त्रण, मादक पदार्थ सेवन, बिक्रीवितरणलाई व्यवस्थित गर्न प्रहरी सधैँ लागि परेको र स्थानीयको सहयोगको समेत अपेक्षा रहेको बताए ।
२४सै घण्टा सुरक्षा दिनको लागि क्यूआरटी गस्ती टोली, त्यसैगरी यातायातलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी र विभिन्न चौकी तथा बिटमा २४ सै घण्टा प्रहरी तैनाथ गरिएको समेत उनले बताए । बढी भीडभाड हुने क्षेत्रमा महिलाहरुले गरगहना लगाउँदा सचेत हुनुपर्ने, वित्तीय संस्थाहरुमा बढी सचेत भई सर्वसाधारणले कारोवार गर्नुपर्ने र दुर्गा पूजा लगायतका विभिन्न कार्यक्रममा समेत सचेत हुन स्थानीयलाई उनले आग्रह गरे ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधु नेपालले कुनै पनि सम्भावित घटना हुनु भन्दाअगाडि र भैसकेपछि तत्काल प्रहरीलाई खबर गरेमा प्रहरीले तत्काल सुरक्षा दिई कारबाही अगाडि बढाउन तयार रहेको बताए । पटका पड्काउने, होहल्ला गर्ने गतिविधितर्फ पनि प्रहरी सचेत रहेको भन्दै उनले स्थानीयको सहयोग बिना प्रहरीले सुरक्षा दिन कठिनाइ हुने समेत बताए ।
कार्यक्रममा नारी जागरण केन्द्रकी अध्यक्ष बिमला दुवाडीले सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि प्रहरीले सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन अनुरोध गरेकी थिइन् ।
सोही कार्यक्रममा नेकपा मालेका नगर सचिव रामहरि लम्सालले विशेषगरी साँझको समयमा बढी लुटपाट, चोरीजस्ता घटना हुनसक्ने भएकोले प्रहरीले त्यस समयमा बढी निगरानी गर्नुपर्ने बताए ।
सो कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजाराम रेग्मी, खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद भण्डारी, रेबान सौराहाका अध्यक्ष राजन भट्ट, स्थानीय राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, समाजसेवीहरुले चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त पार्न आफ्नो साथ सहयोग रहने भन्दै प्रहरीको उपस्थिति पनि अपरिहार्य रहेको बताएका थिए ।
