चितवन, ३ कार्तिक - वन मन्त्रालयले चितवन निकुञ्जभित्र फेरि होटल सञ्चालन गर्न दिनेबारे छलफल सुरु गरेको छ । वनमन्त्री शंकर भण्डारीले निकुञ्जभित्र होटल सञ्चालन गर्न दिनेबारे बहस सुरु भएको बुधवार पत्रकारहरुसित बताए।
निकुञ्जभित्र होटल खोल्नुपर्छ भन्नेबारे विभिन्न कोणबाट छलफल सुरु भएको छ, मन्त्री भण्डारीले भने, होटल सञ्चालन गर्दा हुने फाइदारलाभबारे गम्भीर ढंगले छलफल अघि बढेको छ। वनमन्त्री भएलगत्तैदेखि भण्डारीले चितवन निकुञ्जमा होटल सञ्चालन गर्ने प्रक्रिया फेरी अघि बढाइने बताएका थिए।

विगतमा निकुञ्जभित्रका होटलमा भएका कमी कमजोरी विश्लेषण गर्दै के कसरी सञ्चालन गर्न दिंदा मुलुकको हीत हुन्छ भन्नेबारे गहन अध्ययन गरेर मात्र होटलबारे निर्णय गरिने भण्डारीले प्रष्ट्याए। हचुवामा दिइहाल्ने पक्षमा हामी छैनौं, उनले भने, विस्तृत अध्ययन गर्दै मापदण्ड बनाएर प्रक्रिया अघि बढाइनेछ।

विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने गरी पारदर्शी हिसाबले प्रतिस्पर्धाका आधारमा होटल सञ्चालन गर्न दिने मन्त्रालयको मनसाय रहेको छ। आन्तरिक रुपमा देखिएका समस्या र बेथितीलाई पनि मिहिन ढंगले केलाउँदै होटल सञ्चालनको विषयलाई अघि बढाइनेछ, भण्डारीले भने, मन्त्रालयमा बल्ल मैंले संरचना बनाएँ, अब काम गर्ने हो।

निकुञ्जभित्र सञ्चालित ६ वटा होटलको म्याद २०६९ असार मसान्तमा सकिएको थियो । चितवन निकुञ्ज वन्यजन्तु सफारीका लागि विश्वमै विख्यात छ । पछिल्ला केही वर्षदेखि चितवन निकुञ्ज मुलुकको तेस्रो गन्तव्यका रुपमा अघि बढेको छ । चितवनमा पर्यटन प्रवद्र्धन गर्न व्यवसायीले निकुञ्जभित्र होटल सञ्चालनका लागि विगतदेखि नै मन्त्रालय र निकुञ्ज विभागमा पहलकदमी गर्दै आएका छन्। शब्द साभार कान्तिपुर दैनिकबाट
 
Top