रत्ननगर,६ कात्तिक ।
रत्ननगर नगरपालिकाको लौरीघोलदेखि निपनीसम्म बन्दै गरेको फोरलेन सडकको काम सुस्त गतिमा भएको भन्दै रत्ननगर उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काम सुस्त हुँदा यहाँका स्थानीयलाई स्वास्थ्यमा असर पर्नुका साथै व्यापार व्यवसाय ठप्प जस्तै भएकाले छिटो काम सम्पन्न गर्नसमेत संघले शुक्रबार विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ । फोरलेन सडक बनाउने भन्दै बिग्रिएको सडक मर्मत नगर्दा पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्याले मानव स्वास्थ्यमा प्रतिकूल असर परेको छ भने व्यवसाय हुनै छाडेको छ ।
निर्माण कम्पन्नी श्रेष्ठ कन्सट्रक्सन कम्पनी प्रा. लि.ले राजमार्ग स्तरोन्नति एवं सडक सुधार आयोजना निर्माण कार्य सुस्त गतिमा गर्दा सडकमा खाल्डाखुल्डी हुन गई राजमार्गमा सडक दुर्घटना बढेको र नवनिर्मित नाला एवं धुलोको कारणले व्यापार व्यवसाय एवं मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव बढ्दै गएको संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सडकका कारण रत्ननगरवासी पीडित भइरहेको हु“दा सरोकारवाला निकाय, निजी क्षेत्र, स्थानीयले आ–आफ्नो तर्फबाट भूमिका बहन गर्दै यसको निराकरणमा सहकार्य गर्नुपर्ने संघले जनाएको छ । श्रेष्ठ कन्सट्रक्सनले गत २०७३ असोज २९ गते सम्ममा सडक निर्माण कार्य सम्पन्न गरी सक्ने भन्ने सम्झौता गरेको थियो । तर, सम्झौताको भएको ३÷४ महिनापछि मात्रै काम सुरु भएकाले तोकिएको समयमा काम हुन नसकेको कम्पनीले जनाएको छ । छिटो भन्दा छिटो कार्य सम्पन्न गर्न संघले ध्यानाकर्षण गराएको छ । साथै तत्काल कार्य सम्पन्न नगरे जस्तोसुकै कदम चाल्न सक्ने समेत संघले चेतावनी दिएको विज्ञप्तिमा उल्लेख छ ।
रत्ननगरको लौरीघोलदेखी निपनीसम्म करिब साढे २ किलोमिटर सडक निर्माणका लागि श्रेष्ठ कम्पन्नीले १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । रत्ननगर उद्योग वाणिज्य संघले बढ्दो शहरीकरण र जन घनत्वलाई मध्यनजर गर्दै एसियन हाईवेको मापदण्डअनुसार धेरै समयदेखि नै सडक स्तरोन्नति एंव फोरलेन राजमार्गको विषयलाई एजेण्डामा समावेश गर्दै आइरहेको थियो ।
 
Top